प्रेमले गाए ‘पोइ पर्यो काले’ को गीत
काठमाडौं –भाइरल बालगायक प्रेम परियारले फिल्म ‘पोइ पर्यो काले’को गीतमा पनि स्वर दिएका छन् । उनले फिल्मको ‘मायाले मलाइ’ बोलको गीत आज आफ्नो स्वरमा रेकर्ड गराएका हुन् ।
सामाजिक संजालमा भाइरल भएपछि उनलाई निर्देशक विकाशराज आचार्यले फिल्म ‘नाई नभन्नु ल २’को गीतमा स्वर दिन लगाएका थिए । उक्त फिल्मको ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत गाएपछि परियार चर्चामा आएका थिए ।
केही समय फिल्मको गीत गायनबाट हराएका उनी अहिले फेरि फर्किएका हुन् ।
पढाइका कारण र स्वर बदलिएका कारण आफूले केही समय फिल्मको गीतमा आवाज नदिएको परियारले बताए । उनले भने ‘गीत गाउन थालेपछि आफ्नो जीवनशैली बदलिएको छ । अब फेरि दर्शकका लागि कर्णप्रिय गीत गाउछु ।’
रघु परियारको शब्द रहेको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । यो गीतमा फिल्मका दुई मख्य कलाकार नायक सौगात मल्ल र नायिका पूजा शर्मालाई फिचरिङ गरिएको छ ।
शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । फिल्मका निर्माता दिपक मनाङ्गे (राजिव गुरुङ) सरोज नेपाली, अमलादेवी राई र देव तामाङ रहेका छन् ।
आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर लगायतका कलाकारको पनि फिल्ममा मुख्य भूमिका रहेको छ । कात्तिक ८ गतेबाट रिलिज हुने फिल्म कमेडी जनरामा निर्माण भएको हो ।