मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गोविन्द केसी समर्थकको  राजेन्द्र पाण्डेलाई यस्तो पत्र

मङ्गलबार, ३१ साउन २०७४, १२ : २७
मङ्गलबार, ३१ साउन २०७४

कृष्णप्रसाद शर्मा

आधा देश बाढीपहिरोको डुबानमा छ । सयौँ सङ्ख्यामा मानिस मरेका छन्, कति बेपत्ता छन् । लाखौँ मानिस बेघर भएका छन् । भोकभोकै धमिलो पानी पिएर राहत र उद्धारका लागि पर्खिरहेका छन् । कति बेला एक मुठी चिउरा र दालमोठ आउला भनेर मुख बाएर बसिरहेका छन् । यस्तो बेलामा बिरामीको उपचार गर्ने अस्पतालका सेवा बन्द गरेर आन्दोलनमा उठेका छन् । प्रकोपको बेला आफै औषधि बोकेर देशका कुनाकाप्चामा पुग्ने डाक्टर गोविन्द केसी अनसनमा ढलिरहेका छन् । राज्यले मनमोहन मेडिकलको कलेजको छलफलमा दिन कटाइरहेको छ । शासक वर्ग र आफूलाई जनताको महान् सेवक र राष्ट्रवादी भन्नेहरू आफ्नो दलीय स्वार्थका लागि गम्भीर चिन्ता गरेर बसिरहेका छन् । यस्तो बेथिति विश्वको कुन देशमा होला ? म कल्पना पनि गर्न सक्दिनँ ।
 
खास गरी राजेन्द्र पाण्डे जो हेल्थ केयर कोअपरेटिभ प्राइभेट लिमिटेडका अध्यक्ष र मनमोहन मेडिकल कलेजका सञ्चालक हुनुहन्छ । म उहाँसँग केही जिज्ञासा राख्दैछु ः 
पाण्डेज्यू यो बेला तपाईंको देश र जनताप्रतिको दायित्व के हो ? गर्नुपर्ने के हो ? तपाईंले देश र जनताका लागि के गर्छु भनेर गोविन्द केसी जस्तो राष्ट्रसेवकलाई ढलाइरहनुभएको छ ? किन तपाईं उहाँको मृत्यु पर्खेर बस्नुभएको छ ? यदि गोविन्द केसीको माग तपाईंलाई नजायज लाग्छ भने खुलेर भन्दिनुस् के कति कारणले गोविन्द केसी गलत छन् ? देशमा एउटा गरिबको छोरो जति क्षमतावान् भए पनि डाक्टरी पढ्न सक्दैन भन्ने कुरालाई तपाईँले किन स्वीकार गर्नुहुन्न ? पैसाको बलमा डाक्टर भएर अस्पतालमा लापरवाही गर्ने र अकालमा बिरामी मार्ने अस्पतालको विरोधमा किन विज्ञप्ती निकाल्नुहुन्न ? तर गोविन्द केसी जस्तो मान्छेलाई मार्न यति उद्यत भएर लाग्नु भएको छ ?
प्रधानमन्त्रीले मनमोहन मेडिकल कलेज सरकारले किन्छ भन्दा तपाईंको आपत्ति किन ? कुनै पनि जनता तपाईंको अस्पतालको विरोधी होइन । विरोधी त तपाईंले ल्याउन खोजेको व्यवस्थाको हो, जहाँ एउटा गरिब परिवारको मान्छे कहिल्यै डाक्टर बन्न सक्दैन ।  अस्पतालमा गएर नै गरिब जनताले कहिले आत्महत्या गर्नुपर्छ, कहिले डाक्टरको लापरवाहीले नै मर्नुपर्छ । डाक्टरहरू कुनै पनि विकट ठाउँमा गएर बस्न रूचाउँदैनन् । विकट ठाउँमा गएर जनताको सेवा गर्न डाक्टर चित्रप्रसाद वाग्ले जस्तै आफ्नै उपचार नपाएर मर्नुपर्छ । यो सबै यस्तै माफियाहरूको कारणले हुन्छ । 
अर्काे कुरा पार्टीगत रूपमा खालिएको तपाईँको मेडिकल कलेजले कहिल्यै पनि सम्पूर्ण देश र जनताको हितमा काम गर्दैन । भोलि त्यो मेडिकलमा पढ्न वा सस्तो उपचार पाउनका लागि  जिल्ला पार्टी कार्यालयबाट सदस्यता प्रमाणित गरिएको सिफारिस पत्र चाहिएला । त्यहाँ काम गर्ने डाक्टर पनि एमालेकै हुनुपर्ला, त्यहाँ पनि भनसुन र सोर्सफोर्समै सेवा सुविधा पाइएला । यसमा कुनै पनि शङ्का छैन किन कि अहिलेसम्म देश यसैगरी चलिरहेको छ । तपाईँको संस्था कसरी अपवाद हुन सक्छ ?
जनताका लागि हो भन्नहुन्छ भने किन तपाईं मनमोहन मेडिकल कलेजलाई सम्बोधन दिनैपर्छ भनेर लाग्नभएको ?  मनमोहन मेडिकल कलेजलाई सम्बन्धन दिँदा त अरू त्यस्ता पैसा भएका दल र व्यक्तिहरू पनि स्वास्थ्य क्षेत्रलाई कमाइको धन्दा ठानेर आउँछन् नै । पैसा तपाईँको पार्टी र नेताहरूसँग मात्र छैन । मेडिकल कलेज खोलेर जनताका लागि सेवामूलक काम गर्न खोज्नुभएको हो भने किन सुदूरपश्चिम क्षेत्रतिर जानुहुन्न ? किन हुम्ला, जुम्ला कर्णाली प्रदेशतिर जानुहुन्न ?  त्यहाँ पनि मान्छे बिरामी हुन्छन् । सस्तोमा पढाइदिए डाक्टर पढ्ने मान्छे त्यहाँ पनि हुन्छन् । राम्रो शिक्षा दिनुहुन्छ भने हामी हाम्रा भाइबहिनी र छोराछोरीलाई पनि पठाइदिन्छौँ । हामी ठाउँठाउँमा मनमोहन मेडिकल कलेज चाहियो भनेर आन्दोलन पनि गेर्छौँ ।
देशको एउटा बौद्धिक मान्छे हुनुहन्ुन्छ माफिया बनेर नबस्नुस् । गोविन्द केसीलाई उठ्ने हिम्मत दिनुस् । गोविन्द केसी आफ्नो स्वार्थको लागि भोक भोकै लडेका होइनन् । सबै नेपाली गरिब जनताका लागि लडिरहेका छन् । तपाईँ पनि एक नेपाली नागरिक हो । कानुनलाई सबैले मान्नु पर्छ । राज्य र कानुनभन्दा माथि कोही पनि हुन सक्दैन । सम्झनु होला पाण्डेज्यू  तपाईँका कारणले गोविन्द केसी मरे भने लाखो जनताको हत्या हुनुहुनेछ । यसको पाप तपाईंले जति लोक कल्याणकारी काम गरे पनि काटिने छैन । यसबाट तपाईँ र तपाईँको पार्टी ठूलो मूल्य चुकाउनु पर्नेछ ।
                                                                             
तुलसीपुर दाङ, 
हाल काठमाडाै
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप