रियल म्याड्रिड शीर्ष स्थानमा
रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियल म्याड्रिडले ओसासुनालाई २–० गोलले हराउँदै शीर्ष स्थान कब्जा गरेको हो ।
रियलको जितमा ब्राजीलका युवा खेलाडीद्वय भिनिसियस जुनियर र रोड्रीगो गोएसले गोल गरेका थिए । पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको रियलका लागि ३६औं मिनेटमा भिनिसियसले खाता खोले । उनले टोनी क्रुजको पासमा गोल गरेका थिए । दोस्रो हाफमा मैदान छिरेका रोड्रिगोले ७२औं मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । उनले भिनिसियसको स्थानमा मैदान प्रवेश गर्नासाथ गोल गरेका थिए ।
जारी सिजन लयमा देखिएको रियलले टोलीको खेलाडीमा समेत आमूल परिवर्तन गरेको छ । जितसँगै रियलले ६ खेलबाट १४ अंक बनाएको छ । सात अंक बनाएको ओसासुना १२औं स्थानमा छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको १३ अंक छ । बुधबार रातिनै भएको खेलमा एट्लेटिकोले मालोेर्कालाई २–० गोलले हरायो ।
अर्को खेलमा तेस्रो स्थानमा रहेको एथ्लेटिक बिल्बाओले लेगानेससँग १–१ गोलको बरबरी खेल्दै अंक बाँडेको छ । भ्यालेन्सिया र गेटाफेले पनि ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरी सँगै तेस्रो स्थानमा रहेको बिल्बाओको १२ अंक छ । चौथो स्थानमा रहेको ग्रानडाको ११ तथा पाँचौं, छैटौं र सातौं स्थानमा रहेको बार्सिलोना, सोसियडाड र सेभिल्लाको समान १० अंक छ ।