आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपत्यकामा प्रहरीको सक्रियता कस्तो छ ?

शनिबार, १८ असोज २०७६, १२ : ३७
शनिबार, १८ असोज २०७६

आफ्नो सुरक्षाका लागि नागरिकको पहिलो भरोसा प्रहरी प्रशासन नै हो । तर प्रहरीको भूमिकामाथि नै शङ्काको अवस्था सिर्जना हुँदा नागरिकको आशा र अपेक्षा मर्नु अस्वाभाविक होइन । पछिल्लो समय केही प्रकरणमा प्रहरीले अनुसन्धान गर्न चुकेको र विधिको शासनभन्दा अलग ढङ्गले कामकारबाहीमा उत्रिएका कारण जनविश्वास गुमाएको अनुभव गरिएको छ ।

दसैँको मिति नजिकिँदै जाँदा काठमाडौँलगायत देशभर सुरक्षा चुनौती थपिँदै गएको छ । विदेशमा रहेका सम्पूर्ण नेपालीहरू पनि दसैँका लागि नेपाल आउने क्रम जारी छ ।

सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई दसैँको सुरक्षा व्यवस्थापनका लागि खटाएको छ । सुरक्षा अधिकारीहरू भने दसैँमा एकाध घटनाले शान्तिसुरक्षा व्यवस्थापनमा कुनै असर नपुग्ने दाबी गर्छन् ।

यसै सन्दर्भमा काठमाडौँ उपत्यकाको सुरक्षा अवस्था दसैँको मिति नजिकिँदै गर्दा मात्र नभएर पहिलाको तुलनामा धेरै राम्रो भएको प्रहरीको दाबी छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षत्रीले अत्यन्तै संवेदनशील ठाउँ काठमाडौँ उपत्यकाको सुरक्षा अवस्था मजबुत रहेको बताए ।

यता महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी उत्तमराज सुवेदीले हिंसात्मक घटना हुनै नदिन मात्र होइन, दोषीलाई पक्राउ गरी सुरक्षास्थिति चुस्त राख्न काठमाडौँ प्रहरी सक्रिय रहेको बताए ।

काठमाडौँवासीलाई दसैँतिहारको समयमा पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति दिलाउने एसएसपी सुवेदीको भनाइ छ ।

काठमाडौँ प्रहरीको सक्रियता पछिल्लो समय बढ्दै गइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवाली बताउँछन् । एसएसपी ज्ञवालीले भने, ‘विगतको भन्दा काठमाडौँ प्रहरीको सक्रियता बढ्दो छ ।’

केही प्रकरणमा अनुसन्धान गर्न चुकेको आरोप खेप्न बाध्य नेपाल प्रहरीको साख काठमाडौँ प्रहरी र अपराध महाशाखाले जोगाएको एसएसपी ज्ञवालीको भनाइ छ ।

पछिल्लो समयमा काठमाडौँ प्रहरी र अपराध महाशाखाको अपरेसनबाटै थाहा हुने एसएसपी ज्ञवाली बताउँछन् । काठमाडौँ प्रहरी र अपराध महाशाखाले ठूला ठूला काममा सफलता हात पारेको उनको बुझाइ छ ।

एसएसपी ज्ञवाली भन्छन्, ‘पछिल्लो समय काठमाडौँ प्रहरीले गरेको अपरेसन ‘एटीएम ह्याकिङ प्रकरण’बाट प्रष्ट हुन्छ कि– ‘नेपाल प्रहरीको काम गर्ने शैली र क्विक अपरेसन ।’

यस्तै लामो समयदेखि सुल्झिन नसकेको पूर्वराजदूत केशव झा हत्या प्रकरणमा पनि प्रहरीले सफलता हात पारेको ज्ञवाली बताउँछन् । यस्तै काठमाडौँ उपत्यकामा गुण्डागर्दीको राज पनि हटेको ज्ञवालीले बताए ।

घटना नम्बर १

काठमाडौँ प्रहरीले भदौ १५ गते नेपालमा एटीएम ह्याकिङ गरेर पैसा चोर्न आएका चिनियाँ गिरोह एटीएम बुथबाट पैसा निकालेर होटल पुग्न नपाउँदै समातिए ।

परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीको कमाण्डमा खटिएको प्रहरी टोलीको एक्सनले बैङ्कहरूको करोडौँ रकम जोगियो । डीएसपी बोगटीको प्रयासमै ‘हाइटेक’ चिनियाँ गिरोह अपराध गरेर भाग्न नपाउँदै प्रहरीको कब्जामा पर्यो ।

तर प्रहरीको यो एटीएम ह्याकर अप्रेसनपछि धेरैले नेपाल प्रहरीको प्रशंसा गरेको प्रहरीको बुझाइ छ । इन्टरपोलले समेत यससम्बन्धी चासो देखाएको प्रहरीको भनाइ छ ।

घटना नम्बर २

एटीएम ह्याकिङ प्रकरण सेलाउन नपाउँदै काठमाडौँ प्रहरीले अत्याधुनिक चाइनिज पेस्तोलसहित ७ जनालाई नियन्त्रणमा लिन सफल भयो । जबकि उनीहरूले काटमाडौँमा ठूलो चोरी तथा हत्याको योजना बनाएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

भदौ २१ गते काठमाडौँ प्रहरीले माछापोखरीस्थित हाई रेस्टुरेन्ट एन्ड बारबाट उनीहरूलाई चाइनिज पेस्तोलसहित पक्राउ गरेको हो । उनीहरूको साथबाट बरामद २ वटा चाइनिज पेस्तोल नेपाल प्रहरीले बोक्ने ६.२० एमएमको रहेको खुल्न आएको छ ।

त्यो दिन प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन नसकेको भए उपत्यकामा ठूलै घटना हुनसक्ने प्रहरीको अनुमान थियो ।

घटना नम्बर ३

यस्तै लामो समयदेखि सुल्झन नसकेको एउटा घटनालाई पनि काठमाडौँ प्रहरीले अनुसन्धान गरेर सुल्झाएको छ । पूर्वराजदूत केशव झा हत्या प्रकरणलाई काठमाडौँ प्रहरीले सुल्झाएको हो ।

पूर्वराजदूत झा हत्या प्रकरणमा आफ्नै सुरक्षागार्ड कान्छाराम तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् । तामाङलाई जिल्ला अदालत काठमाडौँले भदौ २५ गते जेल चलान गरेको हो ।

पूर्वराजदूत झा गत वर्ष भदौ ४ गते आफ्नै निवासमा मृत अवस्थामा फेला परेका थिए । लगत्तै, अनुसन्धानका लागि सुरक्षागार्ड कान्छाराम तामाङसहित माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई पक्राउ गरिएको थियो ।

तर उनीहरूविरुद्ध प्रमाण फेला नपरेपछि तीनै जना छुटेका थिए । सुरक्षागार्डको पोलिग्राफ परीक्षणमा भने शङ्का गर्नुपर्ने आधारहरू भेटिएको प्रहरीले दाबी गरेको थियो ।

झाको हत्या भएको लामो समयसम्म पनि अनुसन्धान गर्न नसकेको भन्दै प्रहरीको चर्को आलोचना भएको थियो ।

घटना नम्बर ४

महानगरीय अपराध मशाहाखाले कृषि विकास बैङ्कको कोर बैङ्किङ सिस्टम प्रयोग गरेर रकम चोरी प्रकरणमा संलग्न १६ जनालाई पक्राउ गर्यो । बैङ्कको ४ करोड ७३ लाख रकम व्यक्तिको खातामा ट्रान्सफर भएको थियो ।

प्रहरीको सक्रियताले गर्दा बैङ्कको उक्त रकम जोगिएको अपराध महाशाखा एसएसपी सहकुल थापाले रातोपाटीसँगको कुराकानीमा भने । उनले भने, ‘समयमै हामीले थाहा पायौँ र बैङ्कको ४ करोड ७३ लाख रूपैयाँ जागियो ।’

बैङ्कको रकम व्यक्तिको खातामा ट्रान्सफर गर्ने अफ्रिकी मूलकाकाले भनिने पिटर हुन् । पिटर लामो समयदेखि भारतम बस्दै आइरहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप