आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसले दसैँमा छुट्टी पाएनन् !

सोमबार, २० असोज २०७६, १४ : ०५
सोमबार, २० असोज २०७६

नेपालीले आफ्नो महान पर्व दसैँ मनाइरहेका छन् आफन्तजन सबै एक ठाउँमा जम्मा भएर, मीठो मीठो परिकारको स्वाद लिएर तथा मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद लिएर मनाइने दसैँ पर्वको छुट्टै महत्त्व छ । 

व्यक्तिअनुसार रमाइलो गर्ने तरिका फरक फरक हुन्छ । तर, कतिपय छुट्टी नमाउँदा कार्यक्षेत्रमै दसैँ मनाउन विवश हुन्छन् भने छुट्टी पाउने भने उत्साहित हुँदै आफ्नो थातथलोतिर लाग्छन् । यस्तै प्रतिनिधिमूलक पात्रको रुपमा रातोपाटीले घर जान पाएका र कार्यक्षेत्रमै  दसैँ मनाउन विवश नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा कार्यरतहरुसँग प्रतिक्रिया लिएको छः  

काठमाडौँमै दसैँ
गोरखा घर भएका प्रहरी सहायक निरीक्षक (असई)  रामेश्वर उप्रेती दसैँमा घर नगएको २ वर्ष भयो । हाल उप्रेती महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत छन् । 

दसैँमा प्रायः मान्छेहरू देशबाहिर जाने, घुम्ने, रमाइलो गर्ने गर्छन् । तर उनी ३ वर्षदेखि दसैँ मनाउन गोरखा जान पाएको छैनन् । यो दसैँमा पनि काठमाडौँमा नै हुनेछन् उनी । 

उनी भन्छन्- मेरा आफन्तहरु पनि काठमाडौँमा नै हुनुहुन्छ । त्यसर्थ एकछिन समय निकालेर आफन्तकोमा गएर मान्यजनसँग टीका ग्रहण गरेर काममा नै फर्किन्छु । अरुबेला फुर्सद हुँदैन । दसैँका बेला आफन्त सबैसँग भेटेर कुराकानी गर्थें । तर गएको वर्ष र यो वर्ष गाउँ जान पाइन् । त्यही पनि दुःख लागेको छैन । 

मेरो दसैँ ललितपुरमा
मनिष उप्रेती प्रहरी जवान हुन् । महानगरीय अपराध महाशाखा ललितपुरमा कार्यरत छन् । उप्रेती दसैँमा घर नगएको ६ वर्ष भयो । यसपालि पनि उप्रेतीलाई घर जान सम्भव छैन । 

यस वर्षको दसैँ  ललितपुरमा नै मनाउने उनले बताए ।  उनले भने-हामी दसैँ मनाउनका लागि दसैँ बिदा सुरु भएपछि यसअघि आफ्नो जन्मथलो रौतहट जाने गथ्र्यौं । तर विगत ६ वर्षदेखि रौतहट गएर दसैँ मनाउन पाएको छैन ।  बीचमा केके समस्या आएर जान पाएको छैन । अफिसकै कारणले ६ वर्षदेखि घर जान नपाएको होइन् । मैले जहाँ दसैँ मनाए पनि आफ्नो धर्म, संस्कृति र रीतिरिवाज अनुसार नै दसैँ मनाउनेछु । सबै परिवार एकै ठाउँमा भेला भएर खुसीयाली साटासाट गर्ने हाम्रो योजना छ ।

नेपाली परम्परा अनुसार दसैँ मनाउँछु
प्रहरी सहायक निरीक्षक (असई) बाल्मीकि ओली पर्यटकी प्रहरी हुन् । बाँके घर भएकी ओली दसैँमा घर नगएको ४ वर्ष भयो । 

‘यस वर्षको दसैँ पनि काठमाडौँमा नै मनाउँछु,’ ओलीले भनिन्, ‘मेरो दसैँ अन्य नेपालीहरुको जस्तै सामान्य हुन्छ । खासमा हामी नेपाली सबैको दसैँ उस्तै हुन्छ जस्तो मलाई लाग्छ ।’ 

म नेपाली परम्पराअनुसार सामान्य तरिकाले नै दसैँ मनाउँछु । मैले दसैँ विशेष कुनै त्यस्तो प्लान बनाएको छैन । 

यसपालिको दसैँ काठमाडौँमै
नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यलदमा कार्यरत छन् कपिल अधिकारी । धादिङ गजुरी घर भएका अधिकारीले यो पटक दसैँमा बिदा पाएका छैनन् । 

अधिकारी भन्छन्, ‘विगतका वर्षहरुमा म दसैँ गाउँ गएर मनाउँथेँ । पहिला–पहिला धादिङ नै गएर दसैँ मनाउने भए पनि २०७६ सालको दसैँ भने मेरो काठमाडौँमा हुन्छ ।’ 

उनी थप्छन्- यो दसैँमा पनि आउन नसक्ने कुरा परिवारलाई जानकारी गराइसकेको छु । काठमाडौँमै रहनुभएका आफन्त र अफिसका सिनियर अफिसरको हातबाट टीका ग्रहण गरेर दसैँ मनाउने विचारमा छु । यस वर्षको दसैँमा खासै विशेष त्यस्तो केही छैन । म आफ्नै परम्परा अनुसार दसैँ मनाउँछु । 

गोरखामा दसैँ 
किरण भट्टराई सशस्त्र प्रहरीका जवान हुन् । गोरखा घर भएका भट्टराई २०७४ सालको दसैँमा मात्र घर जान नपाएका हुन् । 

उनी भन्छन्- यो वर्षको दसैँ पनि गोरखामै मनाउँछु । विगतमा पनि मेरो आमा गोरखामा हुनुभएकाले उतै गएर दसैँ मनाउने गरेको थिएँ। २०७४ सालको दसैँ चाहिँ भने गोरखा गएर मनाउन पाइनँ। हामी २ दाजुभाइ छौँ । सकेसम्म सबैजना गोरखामै भेला भएर आफ्नो परम्परा अनुसार रमाइलो गरेर दसैँ मनाउनेछौँ । मलाई प्रायः दसैँ मनाउन गाउँमै मनपर्छ ।

यस्तै ठाकुर पन्त नेपाल आर्मीका सिपाही हुन् । यस वर्षको दसैँ जन्मथलो गोरखा जिल्लामा गएर मनाउने योजनामा छन् उनी । 

 भन्छन्, ‘म परम्परा अनुसार दसैँ मनाउँछु । गाउँका सबै घरमूलीहरु विजयादशमीको दिन सबैभन्दा पहिले ठूलाको घरमा जाने हाम्रो प्रचलन छ । ठूलाको घरबाट सबै घरमूलीले जमरा लिएर आ–आफ्नो घरको जमरामा मिसाउँछन् । त्यसलाई हामी हाम्रो संस्कृतिअनुसार देवता भन्छौँ । हाम्रो गाउँमा कुनै पनि जातजातीबीच भेदभाव हुँदैन । हामी सबै मिलेर दसैँ मनाउँछौँ ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप