बुद्ध एयर काउन्टर तोडफोड प्रकरण : सांसद साह साधारण तारेखमा रिहा
जनकपुर विमानस्थलमा भएको तोडफोड घटनामा पक्राउ परेका सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् ।
जिल्ला अदालत धनुषामा भएको थुनछेक बहसपछि साहलाई साधारण तारेखमा रिहा गरिएको हो ।
अभियोग माग दावी अनुसार नभएको कारणले सांसद साहलाई साधारण तारेख छाडिएको ईजलाश नम्बर–३ का न्यायाधीश तेजनारायण पौडेलले जानकारी दिए ।
साह रिहा भएपछि भोलिको धनुषा जिल्ला बन्दको कार्यक्रमसमेत राजपा नेपाल धनुषाले फिर्ता लिएको छ ।
जनकपुर नागरिक उड्डयन कार्यालय धनुषाको प्रमुख सन्तोष ढकालको दिएको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी सर्लाही निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्य प्रमोद साह रहेको मुद्दाको शुक्रबार थुनछेक बहस भएको थियो ।
जनकपुरबाट काठमाडौँ जाने विमान दुई घण्टा ढिलो भएको विषयमा विवाद हुँदा सांसद साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा सैनिक हवाई उडान ऐन २०१५को दफा ९ कको आधारमा अपराध गरेको कारणले उनिमाथि पाँच वर्षदेखि दस वर्षसम्मको कैद सजायको माग दावीसहित अदालतमा सरकारी वकिल कार्यालय मुद्दा दर्ता गरेको थियो ।
हिजो जिल्ला अदालत धनुषामा मुद्दा दर्ता भएपछि आजदेखि थुनछेक बहस भएको थियो ।