आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य हुन अझै तीन महिना लाग्ने

बुधबार, ०६ कात्तिक २०७६, ०९ : ०६
बुधबार, ०६ कात्तिक २०७६

निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गर्नका लागि आवश्यक पर्ने महत्वपूर्ण उपकरण नेपाल आउन समय लाग्ने भएपछि विमानस्थल उडान योग्य हुन समय लाग्ने भएको छ । भौतिक पूर्वाधारका कार्य  अन्तिम चरणमा पुगेपनि महत्वपूर्ण अपकरण आयातमा समय लाग्ने भएकाले विमानस्थल सञ्चालनमा समय लाग्ने देखिएको हो ।

भौतिक पूर्वाधार निर्माण कार्य ८३ प्रतिशत सम्पन्न भइसकेको विमानस्थलका लागि विद्युतीय एवं सूचनासँग सम्बन्धित उपकरणहरु ल्याइँदैछ । त्यसका लागि केही समय लाग्ने देखिएको छ । विमानस्थल निर्माण सम्पन्न गर्ने मिति अगामी पुस १६ गतेलाई तोकिएको छ ।

अमेरिका, युरोप, चीनलगातका देशबाट झिकाउन लागिएका उपकरणहरु केही खरिद प्रक्रियामा छन् भने केही बाटोमै छन् । खरिद भएका उपकरणहरु भारतको कोलकता बन्दरगाह हुँदै सडक मार्गमार्फ नेपाल आउँदैछन् । केही सामग्री हवाई मार्गमार्फत पनि ल्याइँदै गरेको विमानस्थल आयोजना कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार विमानस्थलका लागि चाहिने ८० प्रतिशत सामग्री नेपाल आउँदै गरेका छन् । ती सामग्री नेपाल ल्याएर जडान नगरेसम्म धावनमार्ग, भवन, टावरजस्ता भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको मनिँदैन । सामग्री आएर जडान भएपछिमात्र उडानका लागि विमानस्थल तयारी हुन्छ । 

खरिद भएका सामग्री नेपाल ल्याउन ३० देखि ४५ दिनसम्म लाग्छ । नेपालका लागि तयारी भएका सामग्रीहरुमा टावरका सामग्री, ब्यागेज कलेक्सनका सामग्री, यूपीएस, प्लाइट इन्फरमेसन बोर्ड, कम्युनिकेशसन नेभिगेसनका सामग्रीलगायत रहेका छन् । 

ती समान जडान हुनका लागि डेढ महिनाको समय आवश्यक पर्ने देखिएको छ । त्यसले गर्दा सम्पूर्ण काम सकेर विमानस्थललाई उडान योग्य बनाउनका लागि अझै तीन महिना लाग्ने अनुमान गरिएको छ । केही समय कार्यस्थलका लागि रकम प्रवाह गर्न ढिलाई हुँदा त्यसको असर परेको थियो । अहिले तीब्र गतिमा काम अगाडि बढीरहेको आयोजना कार्यालयले जनाएको छ ।  

विमानस्थल आयोजनाको तेस्रोपटक म्याद थप गरिएको थियो । पहिलो चरणको ठेक्काअन्तर्गत भौतिक संरचना निर्माणका लागि ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँमा चीनको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सन ग्रुपले ठेक्का लिएको थियो । मधेस आन्दोलन, नाकाबन्दी, भूकम्प, मुख्य ठेकेदार र सहठेकेदारबीचको कलहका कारण तीन वर्षसम्म आयोजनाको काम सही तवरले बढ्न सकेको थिएन । २०७४ मा चिनियाँ मुख्य ठेकेदार कम्पनीले व्यवस्थापनको जिम्मेवारीमा परिवर्तन गरी अर्कोलाई खटाएपछि आयोजनाले गति लिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप