आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बलात्कार र हत्याका दोषीलाई अमेरिकाबाट पक्राउ गरी नेपाल ल्याइयो

बुधबार, ०६ कात्तिक २०७६, १२ : १८
बुधबार, ०६ कात्तिक २०७६

काठमाडौं । १९ वर्षअघि एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहरिएका झापा चन्द्रगढी–३ स्थायी घर भएका लिलाराज गौतम पक्राउ गरेका छन् । 

उनलाई नेपाल प्रहरीले इन्टरपोल वासिङ्टन शाखाको सहयोगमा नेपाल फिर्ता ल्याउन सफल भएको हो । उनीविरुद्ध रेडकर्नर शाखाले २०७४ मंसिर १२ गते रेड नोटिस जारी गरेको प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।  

इन्टरपोल वासिङ्टनसँग भएको समन्वयका क्रममा उनी सन् २०१८ जनवरी २ मा अमेरिकामा रहेको जानकारी आएपछि बेफ्रुअरी १३ मा पक्राउ गरेर अमेरिकाकै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको हिरासतमा राखिएको थियो । 

अमेरिकाको अध्यागमन कानुनसमेत उलंघन गरेका उनलाई त्यहाँको आवश्यक कानुनी कारबाहीपछि बुधबार अमेरिकाको मियामीबाट टर्किस् एयरलाइन्सको विमानबाट नेपाल ल्याइएको हो ।

उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय अनुसन्धान ब्यूरोमा बुझाइएको इन्टरपोल शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस्तो थियो १९ वर्ष पुरानो घटना

२०५७ असोज २९ गते राती लिलाराजसहित मनोज खड्का र सिताराम बस्नेतले झापा चन्द्रगढी–३ की सन्ध्या राजवंशीलाई बलात्कार पछि हत्या गरेका थिए । बलात्कारपछि हत्या गरिएकी सन्ध्याको शव चारआली जंगलको रुखमा फेला परेको थियो । 

घटनाको भोलिपल्ट मृतकका बुबा राजकुमार राजवंशीले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएकोमा प्रतिवादी लिलाराजलाई जिल्ला अदालत झापाले २०५८ कात्तिक २१ गते सफाइ दिएको थियो । 

तर फैसला उपर सरकारले पुनरावेदन अदालत इलाममा पुनरावेदन दियो । पुनरावेदनले पनि २०५८ चैत २८ गते झापा अदालतकै फैसला सदर गरिदियो ।

त्यसपछि मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन दिइएकोमा लिलाराजलाई सर्वोच्चले १९ वर्ष २ महिना जेल सजायको फैसला गरेको थियो ।

 लिलाराज २०५७ कात्तिक १ देखि ०५८ साउन ३२ गतेसम्म हिरासतमा बसेको अवधि कट्टागरी सर्वोच्चले बाँकी कैद असुल गर्न आदेश दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप