आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पायक पर्ने ठाउँमा छैनन् खाद्य डिपो

शनिबार, १६ कात्तिक २०७६, १० : ५८
शनिबार, १६ कात्तिक २०७६

जाजरकोट । पायक पर्ने ठाउँमा खाद्य संस्थानका डिपो नहुँदा डोल्पाका स्थानीयले सहुलियताको चामल पाउन कठिनाई भएको छ ।

  सबैको पहुँचमा खाद्य डिपो नभएकैले त्यस्तो कठिनाई उत्पन्न भएको हो । सडक सञ्जालमा डोल्पा जोडिएर गाउँ, गाउँमा खाद्यान्न पुगेसँगै खाद्यान्नको चामल बिक्री हुन नसकेको हो । भूगोलको हिसाबले सबैभन्दा ठूलो डोल्पामा पायक पर्ने ठाउँमा खाद्यान्न डिपो नहुँदा चामल बिक्रीमा कमी भएको खाद्य संस्थानले जनाएको छ ।
 
    नेपाल खाद्य संस्थान डोल्पाका प्रमुख कमलराज पाण्डेका अनुसार तल्लो डोल्पामा चार वटा खाद्यान्न डिपो छन् । जिल्ला सदरमुकाम ठूलीभेरी नगरपालिकाको दुनै, जुफाल, मुड्केचुला गाउँपालिकाको सर्मी, जगदुला गाउँपालिकाको काइगाउँमा खाद्य संस्थानका डिपो छन् । 

    तल्लो डोल्पाको लिकु, उपल्लो डोल्पाको सहरतारा, तेन्जेमा बिक्री केन्द्र छ । स्थानीय तहको मागअनुसार उपल्लो डोल्पाको छार्का, रिर्मीमा नयाँ बिक्री केन्द्रका लागि केन्द्रमा माग गरेर पठाइएको छ । केन्द्रमा पठाए पनि स्वीकृति भएर आइनसकेको प्रमुख पाण्डेले बताए । 

    भूगोलका हिसाबले ठूलो र छरिएर रहेका बस्ती धेरै भएका कारण खाद्यान्नको चामल सबैको पहुँचमा नहुँदा प्रयोग गर्ने स्थानीयवासी कम भएका हुन् । सडक विस्तार सँगै गाउँ, गाउँमा खाद्यान्न पुगेको र खाद्यान्न डिपो भएका ठाउँ एक दिन हिँड्नुपर्ने ठाउँमा भएका कारण खाद्यान्नको चामल खरीद गर्ने स्थानीयवासी कम भएको स्थानीय तहका प्रमुखको भनाइ छ ।

     बजारमा पाइने चामलको मूल्यभन्दा खाद्य संस्थानमा पाइने चामलको मूल्य कम भए पनि टाढाबाट ढुवानी गर्दा धेरै रुपैयाँ पर्ने भएको भन्दै स्थानीयवासी बजारको चामलमा निर्भर भएका हुन् । संस्थानको जिरा चामल प्रतिकेजी ६३ रुपैयाँ ५० पैसा पर्दछ भने बजारमा रु ८४ केजी पाइने गरेको प्रमुख पाण्डेले बताए ।

    दुनैमा अहिले संस्थानको २५ केजी चामलको मूल्य रु १६ सय छ भने बजारमा पाइने जिरा चामलको मूल्य रु दुई हजार २०० रहेको उनले बताए । उपल्लो डोल्पामा रहेका बिक्री केन्द्रमा अहिले चामलको गेँडासम्म नभएको बताइएको छ । चिसो मौसम बढेसँगै यहाँका स्थानीयवासी बिक्री केन्द्रमा आए पनि चामल नपाएर फर्किएको फोक्सुण्डो गाउँपालिका–३ का इम गुरुङले बताउनुभयो । तल्लो डोल्पामा भएका डिपो पायक पर्ने ठाउँमा नभएका कारण बिक्री केन्द्र थप्नुपर्ने स्थानीयवासीको माग छ ।

     खाद्य डिपो आउँन र जान मात्र एक दिन लाग्ने भएकाले बोकेर टाढा लान समस्या हुने गरेको मुड्केचुला गाउँपालिका–३ काशिलका रामबहादुर रोकायले बताए । अहिले दुनैमा दुई हजार ८०० क्विन्टल, जुफालमा एक हजार ८०० क्विन्टल, काइगाउँ डिपोमा एक हजार ५०० क्विन्टल चामल मौज्दात छ । 

    यातायात पुगेको ठाउँबाट स्थानीय व्यापारीले सजिलै गाउँमा घोडा, खच्चडमा खाद्यान्न ढुवानी गरेर ल्याई बिक्री गर्न थालेपछि टाढा रहेको डिपोमा गएर चामल ल्याउन नपरेको जगदुला गाउँपालिका–६ का श्रम रोकायले बताए । जाजरकोट–डोल्पा सडकखण्डको ट्र्याक खुलेर गाउँ, गाउँमा सडक लिएसँगै खाद्यान्नलगायतका अन्य सामग्री ढुवानीमा सहज हुँदै आएको छ । उपल्लो डोल्पामा चिसो बढिसकेकाले त्यहाँ बस्ने स्थानीयवासी खाद्यान्नको जोहो गर्न दुनै झरेका छन् । उपल्लो डोल्पामा चामल लानका लागि चाइनाको बाटो प्रयोग गर्नुपर्ने भएकाले ढुवानी प्रक्रिया झन्झटिलो भएको हो । खाद्यान्न ढुवानीको जिम्मा लिएका ठेकेदारले उपल्लो डोल्पामा चामल ढुवानी गर्न आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने संस्थानले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप