आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश नंं ५ को राजधानीको फैसला जनताले गर्नेछन् : अध्यक्ष प्रचण्ड

मङ्गलबार, १९ कात्तिक २०७६, २२ : ०३
मङ्गलबार, १९ कात्तिक २०७६

कोहलपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौगोलिक बनावट सुहाउने गरी प्रदेश नं ५ को राजधानी सबैलाई पायक पर्ने ठाउँमा राखिने बताएका छन् । 

नेकपा कोहलपुरले आयोजना गरेको विजयादशमी दिपावली तथा छठ पर्वका अवसरमा आयोजित कार्यक्रममा उनले जनताको फैसला नै अन्तिम हुने भएकाले त्यसतर्फ जनप्रतिनिधिको ध्यान जानुपर्नेमा जोड दिए । 

“प्रदेश नं ५ को राजधानी प्रदेशको केन्द्रमै पर्नेगरी हुनेछ”, प्रचण्डले भने, “प्रदेशको केन्द्र पर्ने गरी नयाँ ठाउँ विकास गरे झन राम्रो हुनेछ अन्तिम फैसला जनताको नै हुनेछ ।” उनले आफ्नो पार्टीबाट वडा नं ६ मा उम्मेदवार बन्नुभएका रामशरण थारुको जीत सुनिश्चित रहेको बताए ।

कोहलपुर–६ कमिटीका अध्यक्ष लक्ष्मण पाण्डेको प्रस्तावमा थारु सर्वसम्मत उम्मेदवारमा सिफारिस भएका थिए । थारु गत स्थानीय चुनावमा पनि वडा अध्यक्षका उम्मेदवार थिए । रामसोहन थारुको गत मङ्सिर ९ गते हृदयाघातका कारण निधन भएपछि वडा अध्यक्ष पद रिक्त भएको हो । 

अघिल्लो निर्वाचनमा एक हजार ९६४ जना मतदाता रहेको उक्त वडामा हाल मतदाताको सङ्ख्या दुई हजार २६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार राम सोहन थारु ४२४ मत प्राप्त गरी विजयी भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप