देश लुटिँदा हाम्रो मुटु
-डा. अच्युतशाली घिमिरे
हाम्रो देश नेपाल
सुन्दर शान्त र विशाल,
अनि हिमालको उच्चतासँगै
गाँसिएको हाम्रो गौरव
र हाम्रो सार्वभौमिकता,
तर
हाम्रो सच्चा आर्यभावना
हार्दिकतापूर्वक व्यवहार
र सहिष्णु सम्बन्धमा
सधैँ धावा बोल्दै आइरहेको छ भारत
कहिले ठुल्दाइ त
कहिले नभई नहुने छिमेकी बनेर त
कहिले रोटीबेटीको सम्बन्ध व्युँताएर त
कहिले पहाडमा नटिक्ने जवानी
र पानीको कथा सुनाएर,
तर के गर्ने
भूपि शेरचनले भने झैँ
‘हामी वीर छौँ
तर बुद्धू छौँ’
र त मोदीको विजयमा
जुलुस निकाल्न
वीरता हासिल गर्छौं तर
देशको समस्यामा बुद्धू भइराख्छौँ ।
आज नेपालको
लिम्पियाधुरा, लिपुलेक र कालापानी
दुखेको छ,
आफ्नै अङ्गलाई छुट्याउन खोज्दा
नेपाल आमालाई
चसक्क भएको छ ।
विस्तारै विस्तारै
हाम्रा भूभागहहरूमा
कब्जा र हस्तक्षेप
बढ्दै गइरहेका छन्,
साच्चै जङ्गे पिल्लरहरु
हराएका छन्,
नक्साहरु खुम्चिएका छन्,
हाम्लाई अत्तोपत्तो छैन
तर पनि
देशको माटो लुछिँदा
धेरैको मुटु रोएको छ ।
सदिऔँदेखि
नेपालको सीमावर्ती क्षेत्रमा
भारतको यस्तै हेपाहा प्रवृत्तिले
बर्सेनि हजारौँ जनसङ्ख्याले
सास्ती भोग्दै आइराखेका छन् !
भारत
अन्तर्राष्ट्रिय सन्धि सम्झौताको धज्जी उडाउँदै
नेपालको सीमा क्षेत्रमा एकतर्फी
बाँध, नहर, तटबन्ध र सडक बनाउँछ
तर हाम्रा नेता मन्त्रीहरु
जनताको मतमा सिंहदरबार पुग्छन्
रङ्ग भेद बदल्छन्
नेपालीको पसिना पचाउँछन्
दिल्लीको रेड कार्पेटमा शरण पर्छन्
नेपालीको समस्यालाई चुट्किला बनाउँछन्
अनि रात्रिभोजमा खुस्बु उडाउँछन् !
नेपालको जमिन माथि
भारतको दादागिरी र थिचोमिचो
आखिर कहिलेसम्म ?
कहाँ छन् खै ती
अन्तर्राष्ट्रिय कानुनको पालना ?
सीमा क्षेत्रमा
दुवै पक्षको सहमतिबिना
जमिन मिच्ने
अर्को राष्ट्रका जनतालाई सास्ती
दिने कार्य निन्दनीय छैन र ?
कति चाहिँ हामी
भारतको
जिउँदो प्रशंसक बनेर
भलादमी बनिराख्ने ?
दुःख भोगिराख्ने ?
आखिर
कूटनीतिक माध्यमबाट
तमाम यी समस्याको
स्थायी समाधान खोज्ने कसले ?
प्रदेश सरकार अनि
सङ्घीय दुईतिहाइ सरकार कता छन् ?
त्यही भूमिमा राजनीति गर्ने
दल कता छन् ?
मोदीको घातक उपहारलाई
एकजुट भई
राष्ट्रवादले सामना गर्ने कि ?