कविता : लाहुरेको स्तुति
-दिल थापा
सन्देश लिएर आउँछ
हरेक बिहान कलिलो घामले
लाहुरे छोराको स्वाभिमान लिलामी भएको देशमा
मातृभूमि विस्तारवादको घेराबन्दीमा परेको छ भनेर
जब निलो आकाशको सीमारेखाहरुलाई
कालो बादलले घेराबन्दीमा पार्छ नि
अनि घामले किरणको बुलेटहरु प्रहार गर्छ
कालो बादलमाथि
आमा
यो तिम्रो लाहुरे छोरो
कोखमा आएको दिनदेखि
लिलामीमा परेको छोरो
निलो आकाशलाई सधैँ सुरक्षा दिइरहने घाम पनि होइन
कुनै साम्राज्यवादले बनाएको बुलेट होइन
म त मेरो पुर्खाहरुले
अग्रिम बन्दकीमा राखिएको घामको किरण हो
मातृभूमितर्फ सोझिएको
विस्तारवादी बन्दुकको नाल हो
मेरो देशलाई दुखेको बेलामा
म मातृभूमिको पक्षमा हुनुपर्ने बेलामा
तर म लाहुरे छोरा विपक्षमा
भारत माताकी जय शब्दावलीलाई
नशाहरुको ओदानमा तताएर गिदीमा ट्याटु खोपिरहेछु
कालापानीको बलौटे माटोमा लम्पसार परेर
विस्तारवादी वनमारा खेती गर्न हर प्रयास गर्छ
हामीलाई नै खेतला बनाएर हाम्रै कालापानीमा
बुटको ट्याक्टरहरु प्रयोग गरेर
दादागिरीको गोठहरु ठाउँ ठाउँमा खडा गरेर
म आजभोलि मनको मरुभूमिमा
देशभक्ति बिरुवा खोजिरहन्छु
सायद ममा देशभक्तिको बिरुवा भएको भए
सानैमा लाहुरेवादको बाइबलतिर आकृष्ट हुँदैन गिथएँ ।