पढेलेखेका अर्थमन्त्रीका कारण अर्थ व्यवस्था कुनै दिन ढल्नसक्छ : लेखा समितिका सभापति
बुटवल । प्रतिनिधिसभा अन्तरगत लेखा समितिका सभापति भरतकुमार शाहले सरकारले आर्थिक पारदर्शिता अपनाउन नसकेको भन्दै अर्थमन्त्री डा युवराज खतिवडाको आलोचना गरेका छन् ।
प्रदेश ५ बुटवलमा भएको साक्षात्कार कार्यक्रममा उनले भने—‘अर्थमन्त्री पढेलेखेका छन्, तर सिस्टमले मात्रै हुदैन । नेपालको सिचुएसन अनुकुल काम गर्नूस्, अर्थ व्यवस्था कुनै दिन ढल्नसक्छ ।’
पूर्वअर्थराज्यमन्त्री समेत रहेका शाहले प्रश्न गरे, ‘भन्सारमा गाडी आउन कम भो, राजश्व असुली २२ प्रतिशत मात्रै छ । सरकारले जनतालाई कर मात्रै थोपरेको छ । उद्योगीहरु मर्कामा छन् । प्यानकार्ड र समाजिक सुरक्षा कोषले झन् समस्या थपेको छ । यसरी कतिदिन चल्छ र ?’
उनले देश आर्थिकमन्दीको अवस्था रहेको जिकिर गर्दै यही अवस्था रहिरहे नेपालको आर्थिक अवस्था एक दिन गर्ल्याम—गुर्लुम ढल्नसक्ने बताए । ‘,राज्यको ढुकुटी सरकारले जथाभावी पैसा बाढेर रित्तायो, मनपरि खर्च बढेको छ, सरकारले कर बढाउने काम बाहेक अरु केहि गरेन,’ उनले भने ।
सभापति शाहले अन्त शुल्कको स्टीकर छपाइको टेण्डर नेपाली कम्पनीले पाउनुपर्ने बताए । अर्थ मन्त्रालयले मनोमानी गरेर ४ अर्ब बराबरको टेण्डर बिदेशी कम्पनीलाइ दिएको भन्दै नेपाली कम्पनीलाइ नै टेण्डर दिन निर्देशन समेत दिएको समेत बताए ।
‘मन्त्रालयले मनोमानी गरेपछि हामीले निर्देशन दिएका छौँ, आर्थिक चलखेलका लागि विदेशी कम्पनीलाइ किन टेण्डर दिने ? नेपालीले किन नपाउने ?’ उनले भने ।
काँग्रेस नेतासमेत रहेका शाहले सरकारले सीमा विवादमा एक विज्ञप्तिबाहेक अन्य ठोस पहल केहि नगरेकोमा आपत्ती जनाए ।