केपी ओलीको राष्ट्रवाद कालापानीमा लम्पसार पर्यो : सभापति देउवा
पोखरा । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसार परेको बताएका छन् । नेपाल डेमोक्र्याटिकस् लयर्स एशोसिएसनको साधारणसभालाई आज पोखरामा सम्बोधन गदै देउवाले यस्तो बताएका हुन् ।
‘ओलीलाई राष्ट्रवादी भनेको हैन ? कहाँ गयो उनको राष्ट्रवाद,’ देउवाले भने, ‘ओलीको राष्ट्रवाद कालापानीमा गइसक्यो । ओली लम्पसारवादमा गइसके, कहाँ ओली राष्ट्रवादी हुन् ।’ सभापति देउवाको प्रधानमन्त्री ओलीले राष्ट्रवादको खोल मात्रै ओढेको आरोप छ ।
सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्लाई सरकारको अंगजस्तो बनाउन खोजेको भन्दै देउवाले संविधानको मर्मविपरित काम गर्न खोजे सरकारको कडा प्रतिवाद गर्ने बताए । सरकारले बद्मासी गदै गएको बताउँदै देउवाले संसद र सडकबाट समेत सरकार विरोधी आन्दोलन चर्काउने चेतावनी दिए ।
संवैधानिक परिषद्लाई कठपुतली बनाएर सम्पूर्ण नियुक्तिहरु आफ्नो बनाउने आयोगलाई शाही आयोगजस्तो बताउन सरकार उदृत भएको उनले बताए । त्यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको इच्छाअनुसार दलिय स्वार्थमा काम गर्ने गरि संवैधानिक परिषद अध्यादेश ल्याउन लागिएको आरोप लागाए । ‘संवैधानिक परिषद्लाई प्रधानमन्त्रीले एकजनालाई साथमा लिएर निर्णय लिन सक्ने व्यवस्था छ भन्ने सुनेको छु,’ पौडेलले भने, ‘यो अध्यादेशले प्रधानमन्त्रीलाई निरंकुश र तानाशाह बनाउँछ । प्रधानमन्त्रीलाई कसैले छुन सक्दैन उनैले सबैलाई ठेगान लागाउन सक्छन् ।’
यदि राष्ट्रपतिसँग राजनितिक प्रजातान्त्रिक संस्कार छ भने अध्यादेशमा लालमोहोर लागाउन नहुने पौडेलले बताए । ‘केपी ओलीले त गर्नुभयो भयो, विद्या भण्डारीले गर्नुहुँदैन । उहाँले पनि गर्नुभयो भने हामीले पनि उहाँमाथि सोच्नुपर्ने हुन्छ,’ पौडेलले भने । सरकारमाथि सोच्नुपर्ने अवस्था आएको उनले सुनाए । कार्यक्रममा काँग्रेसका शीर्ष नेताहरु शशांक कोइराला, मिनेन्द्र रिजाल लगायतका नेताहरु उपस्थित थिए ।