आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मन्त्रिमण्डल पुनर्गठनको 'साइड इफेक्ट' : भारतबाट फर्केलगत्तै उपेन्द्र यादवले थाले छलफल

शनिबार, ०७ मङ्सिर २०७६, ११ : १७
शनिबार, ०७ मङ्सिर २०७६

काठमाडौँ । सरकारमा रहिरने वा बाहिरिने भन्ने सवालमा समाजवादी पार्टीले अनौपचारिक रुपमा आन्तरिक छलफल थालेको छ । उपप्रधानमन्त्रीसमेत रहेका सो पार्टीका अध्यक्ष उपेन्द्र यादव भारत भ्रमणमा रहेको समयमा उनको जिम्मेवारी हेरफेर गरिएको तथा सोही पार्टीबाट तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका डा. सुरेन्द्र यादवलाई अस्पतालको शैयामा रहेको समय सरकारबाट हटाइएको विषयलाई पार्टीले गम्भीर रुपमा लिएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्दै सरकारमा समाजवादी पार्टीको कोटासमेत घटाएका थिए । यसअघि दुई मन्त्री र एक राज्यमन्त्री पाएको समाजवादी पार्टीबाट हाल सरकारमा दुई जना मन्त्री छन् । 

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी बोकेका उपप्रधानमन्त्री यादवलाई हाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । सो पार्टीबाट सरकारमा सहभागी मोहम्मद इस्तियाक राईलाई यथावत जिम्मेवारीमा राखिएको छ भने स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका सुरेन्द्र यादवलाई हटाइएको हो ।

मन्त्रिपरिषदमा पार्टीको कोटा घटाउनुका साथै उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवको जिम्मेवारीसमेत हेरफेर गरेपछि समाजवादी पार्टीभित्र सरकारमा रहिरहने कि बाहिरिने भन्ने विषयमा बहस तीव्र भएको हो । गत साता बसेको संघीय परिषद र केन्द्रीय समिति बैठकमा पनि सरकारमा रहिरहने कि बाहिरिने भन्ने सवालमा बहस भएको थियो ।

हाल भारतसँग कालापानी लगायत सीमा विवाद बढेको, संघीयतामाथि विभिन्न कोणबाट प्रहार हुन थालेको विश्लेषण गर्दै बैठकले सरकारमा रहने वा बाहिरिने भन्ने सवालमा निर्णय गर्ने अधिकार पदाधिकारीहरुलाई सुम्पिएको थियो ।

पदाधिकारी बैठक नबस्दै मन्त्रिपरिषद पुनर्गठन भई सरकारमा सहभागी आफ्ना तीन सदस्यमध्ये एकलाई फिर्ता गरिएको र पार्टी अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवको जिम्मेवारी हेरफेर भएपछि भने सरकारमा सहभागिताको विषयमा तत्काल निर्णय गर्नुपर्ने बाध्यता आएको स्रोत बताउँछ ।

त्यसैले भारत भ्रमणबाट फर्किएलगत्तै पार्टी अध्यक्ष उपेन्द्र यादवले आन्तरिक छलफल तीव्र तुल्याएका छन् । शुक्रबार राति काठमाडौं आइपुगेका उनले शनिबार बिहानैदेखि पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन् ।

यादव भारत भ्रमणमा रहेका कारण यसबारे पार्टीभित्र औपचारिक छलफल भने हुन सकेको थिएन । सम्भवतः शनिबार नै पदाधिकारी बैठक बस्न सक्ने स्रोतले जनायो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मनसाय बुझेरमात्र पार्टीले सरकारमा बसिरहने या बाहिरिने भन्ने बारे निर्णय गर्ने समाजवादी पार्टीका एक पदाधिकारीले बताए । ‘सरकारबाट बाहिरिए पनि हुन्छ’ भन्ने सोच प्रधानमन्त्रीमा रहेछ भने आफूहरु सरकारबाट बाहिरिने उनको भनाइ थियो ।
 

पदाधिकारी बैठकले निर्णय लिन्छः सुरेन्द्र यादव
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदबाट बर्खास्त गरिएका समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादव शुक्रबारमात्र अस्पतालबाट डिस्चार्ज भएका छन् । ढाडको समस्याका कारण राजधानीस्थित वीर अस्पतालमा ८ दिन उपचारका लागि बसेका उनी अस्पतालमै रहँदा बर्खास्त भएका थिए ।

‘अस्पतालमा भर्ना हुँदा स्वास्थ्य राज्यमन्त्री हुनुहुन्थ्यो, डिस्चार्ज हुँदा सरकारबाट बर्खास्त भइसक्नु भएको थियो, कस्तो अनुभव रह्यो ?’ रातोपाटीको जिज्ञासामा उनले भने, ‘सरकारमा रहनु र नरहनुको मलाई व्यक्तिगत रुपमा खासै फरक पर्दैन, सरकारमा रहँदा पनि जनताका लागि काम गर्ने हो, बाहिरिए पनि जनताकै लागि काम गरिन्छ ।’

हटाइएकै कारण ‘सरकारमा रहेर काम नै गर्न सकेन’ भनेर प्रचार भइरहेकोमा भने उनले गुनासो गरे । ‘सरकारमा रहे पनि एउटा मन्त्रीको एकल प्रयासमा सफल र असफल हुने होइन, सफलता र असफलतामा विभिन्न मन्त्रालयबीच अन्तरसम्बन्धको पनि ठूलो भूमिका हुन्छ,’ उनले भने, ‘काम गर्छु भनेरमात्र कहाँ सकिन्छ ? समयमा बजेट आउँदैन, चाहिएजति कर्मचारी उपलब्ध हुँदैन, अनि कसरी काम गर्न सकिन्छ ?’
‘सरकारमा तपाईको पार्टी रहिरहन्छ कि बाहिरिन्छ ?’ भन्ने प्रश्नमा उनले पदाधिकारी बैठकले यसबारे आवश्यक निर्णय लिने बताए । उनले भने, ‘धेरै कुरा विचार गरेर निर्णय लिनुपर्ने अवस्था छ ।’

हाल संघीयतामाथि प्रहार भइरहेको, संविधानमा व्यवस्था गरिएका अधिकारसमेत कार्यान्वयनमा आउन नसकेकोजस्ता परिस्थितिलाई बुझेर संविधान पूर्ण रुपमा कार्यान्वयन गराउने र संशोधनमार्फत थप अधिकार हासिल गर्ने दिशामा पनि पार्टीले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । पदाधिकारी बैठकले यी सबै पक्षलाई विचार गरेर निर्णय लिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप