आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सीटीईभिटीले घरेलु तथा साना उद्योग महासंघसँग मिलेर प्राविधिक तालिमि सञ्चालन गर्ने

सोमबार, ०९ मङ्सिर २०७६, १६ : ५७
सोमबार, ०९ मङ्सिर २०७६

काठमाडौंं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सीटीईभीटी)ले दक्ष जनशक्ति उत्पादनमा नेपाल घरेलु तथा साना उद्योग महासंघ(एफएनसिएसआई)सँग मिलेर प्राविधिक तालिम चलाउने भएको छ । वर्तमान समयमा औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई मध्यनजर गर्दै सिटिईभिटी र महासंघबीच समझदारी भएको हो । 

सोमबार राजधानीमा एक समारोहकाबीच सिटिइभिटी र महासंघबीच सीपयुक्त प्राविधिक जनशक्तिको माग प्रक्षेपण, उत्पादन तथा रोजगारी सम्बन्धमा सहमतीपत्र(एमओयु)मा हस्ताक्षर भएको छ ।  सहमति–पत्रमा सिटिइभिटीका तर्फबाट सदस्य सचिव डा.पुष्परमण वाग्ले र महासंघको तर्फबाट कार्यवाहक अध्यक्ष श्यामप्रसाद गिरीले हस्ताक्षर गरेका हुन् । 

देशमा चरम रोजगारीको अभाव, रोजगारीमा दक्ष जनशक्तिको अभाव र देखासिकीको अन्त गर्दै स्वावलम्बी सीपमुलक तालिम प्रदान गर्ने र मुलुकभित्रै उद्यमशीलताको विकास गर्ने उद्देश्यले दुई संस्थाबीच सहमति भएको हो । सिटिइभिटी र महासंघबीच ८ बुँदामा सहमति भएको छ । संघ÷प्रदेश र ७ सय ५३ ओटै स्थानीय तहमा जनशक्ति प्रक्षेपण कार्यक्रमहरु संचालन गर्नेदेखि कार्यक्रमको गुणस्तर सुनिश्चितताका लागि नियमित अनुगमन तथा निरिक्षण गर्ने सम्मको सहमति भएका छन् ।

यसै परिपेक्षमा नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरु र महिला तथा युवाद्धारा सञ्चालित उद्यम व्यवसायमा आवश्यक सीपयुक्त प्राविधिक जनशक्तिको माग प्रक्षेपण र सीपको आवश्यकता पहिचान गरी कार्यस्थलको सीकाईका माध्यमबाट दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ । साथै यसैको माध्यमबाट रोजगारीको सुनिश्चिता गरी प्राविधिक शिक्षा तथा व्यवसायीक तालिमलाई प्रभावकारी बनाउने उद्देश्य समेत राखिएको छ । 

परिषद् र महासंघबीचको सहकार्यले नेपालका लघु, घरेलु तथा साना उद्योगहरुको आवश्यकता अनुरुप सीप पहिचान गरी कार्यस्थल सिकाइमा आधारित तालिम कार्यक्रम सञ्चालन गर्दा रोजगार सृजना र उद्योगहरुको स्तरोन्नती भई विद्यमान व्यापार घाटालाई कम गर्न सकिने दुईपक्षको अपेक्षा छ । 

हाल दैनिक औसतमा १७ सय युवाहरु रोजगारीको खोजीमा विदेशिने गरेको र नेपालको श्रम बजारमा करिब ५ लाखको हारहारीमा रोजगारीको खोजिमा युवाहरु रहेको विश्लेषण गरिएको छ । समग्र रोजगार बजारको क्षमता एकलाख भन्दा कम रहेको अवस्थामा यस किसिमको प्राविधिक तालिमले दक्ष जनशक्ति उत्पादन गर्ने र तत् क्षेत्रमा रोजगारीको सृजना गर्दै स्वावलम्बी बन्ने विश्वास राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप