आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालको भूमि फिर्ता भएरै छाड्छ, कुटनीतिक पहल सुरु भैसक्यो : अध्यक्ष प्रचण्ड

सोमबार, ०९ मङ्सिर २०७६, १९ : १६
सोमबार, ०९ मङ्सिर २०७६

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको वर्तमान सरकारले आफ्नो सीमा कसैलाई नछाड्ने बताएका छन् । नेकपाको भरतपुर महानगरपालिका–१६ निर्वाचन परिचालन समितिले आज विजयनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले देशको एक इन्च जमीन पनि अरूलाई नछोड्ने र अरुको पनि नलिइने बताए ।

अध्यक्ष दाहालले भने, ‘सरकारले यसको कूटनीतिक पहल शुरु गरिसकेको छ । नेपालको भूिम फिर्ता भएरै छाड्छ ।’ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवादका विषयमा असान्दर्भिक टिप्पणी गरेको बताउँदै भने, ‘अब भ्रम छरेर झुट्टा र आधारहीन हल्ला चलाएर शक्ति आर्जन गर्ने दिन गयो ।’ 

दुई पार्टीबीचको एकता संसारलाई नयाँ सन्देश दिँदै देशमा समृद्धि, सुशासन, स्थायित्व र विकासका लागि भएको उनको भनाइ थियो । उनले पार्टी एकता प्रधानमन्त्री बन्न हतारो भएर स्वार्थबाट नभएको स्पष्ट पारे ।
अध्यक्ष दाहालले एकतापछिको नेकपा पानीको फोका नभएको भन्दै यो नयाँ नेपाल निर्माण गरेर देखाउने मुख्य आधार भएको बताए । उनले थपे, ‘प्रधानमन्त्री केपी शर्मा ओली पाँच वर्ष सरकारको नेतृत्वमार्फत राष्ट्र निर्माणमा लाग्नुहुन्छ, म पार्टीको सुदृढीकरण र सङ्गठन विस्तारमा केन्द्रित हुन्छु ।’ 

अध्यक्ष दाहालले आसन्न उपनिर्वाचनमा ८० प्रतिशतभन्दा बढी स्थानमा नेकपाले विजय हासिल गर्ने दाबी गरे । नेकपाको नेतृत्वमा गठित सरकारले देशको योजनाबद्ध विकासमा खेलेको भूमिकाका कारण देखिएको जनलहर देखेर प्रतिक्रियावादी अनर्गल प्रचारमा लागेको उनको भनाइ थियो ।

चितवन क्षेत्र नं–३ का निर्वाचित सांसदसमेत रहेका दाहालले आफ्नो पहलमा भएका विकास निर्माणका कार्यहरु र भावी योजना पनि सुनाएका थिए । उनले नेकपाको उम्मेदवारलाई मतदान गर्न पनि अपिल गरे । 

निर्वाचन परिचालन समितिकी संयोजक दिलकुमारी थापा रावलको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नं ३ का सह–इन्चार्ज काशीनाथ अधिकारी, प्रदेश अध्यक्ष नारायण दाहाल, प्रदेशसभा सदस्य कृष्ण भूर्तेल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेकपाबाट वडाध्यक्षका उम्मेदवार भक्तराज हमाललगायतले बोलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप