आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा वान स्टप सेन्टर सञ्चालन गर्न मलेसियाका पूर्वगृहमन्त्रीले ५ करोड घुस लिएको दाबी

बिहीबार, १२ मङ्सिर २०७६, १३ : ४४
बिहीबार, १२ मङ्सिर २०७६

काठमाडौं । मलेसिया जाने नेपाली कामदारबाट अवैध शुल्क असुल गरेको भन्दै तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले कारवाही गरेका वान स्टप सेन्टर अर्थात् ओएससीलाई ठगीको आरोपमा खारेज गरिदिए । 

तत्कालीन मन्त्री विष्टले ओएससीले नेपाली युवाहरुबाट अर्बौ रुपैयाँको ठगी गरेको भन्दै त्यसका सञ्चालक राम श्रेष्ठविरुद्ध ठगीको उजुरीमा हिरासतसम्म पुराए । यद्यपि पछि उनी अदालतको आदेशबाट थुनामुक्त बने । अन्तमा अदालतले ओएससीका सञ्चालक राम श्रेष्ठले ठगी नगरेको भन्दै सफाईसमेत दियो । तर नेपालमा ओएससी स्थापना गर्ने समयमा ओएससीका सञ्चालकले भने मलेसिया तत्कालीन उपप्रधान तथा गृहमन्त्रीलाई ५ करोड नेपाली रुपैयाँ घुस दिएको बयान दिएका छन् ।

मंसिर ११ गते बुधबार क्वालालुम्पुरस्थित उच्च अदालतमा बयान दिने क्रममा मलेसियास्थित प्रोफाउण्ड रेडियन्स एसडीएन बिएचडीका निर्देशक अजलान साह जफ्रिलले नेपाल र पाकिस्तानमा वान स्टप सेण्टर स्थापना गर्नका लागि तत्कालीन गृहमन्त्री अहमद जाहिद हमिदीलाई २० लाख मलेसियन रिङ्गिट घुस दिएको बताए ।

प्रोफाउण्ड रेडियन्स एसडीएन बिएचडी नामक कम्पनीले पासपोर्ट संकलन गरी दूतावाससम्म पुर्याउने कामका लागि वान स्टप सेण्टर अर्थात् ओएससी नामक सिस्टम खडा गरेको थियो । ओएससीमार्फत् नै संकलित पासपोर्ट दूतावाससम्म पुराउने काम गरिन्थ्यो । 

काठमाडौंको लैनचौरस्थित मेट्रो पार्कमा ओएससीको कार्यालय रहेको छ । उक्त स्थानबाट मलेसियन दूतावाससम्मको दूरी जम्मा ७ किलोमिटर रहेको छ । तर यही दूरीमा पासपोर्ट पुर्याउनकै लागि नेपालमा प्रतिव्यक्ति ३ हजार २ सय रुपैयाँ शुल्क उठाउने गरिएको छ । त्यो शुल्कमा पनि अझै मूल्य अभिवृद्धि कर लिएर थप शुल्क लिने गरिएको छ ।

तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले यस संस्थाबाट ठगी भएको भन्दै संस्था नै खारेजीको घोषणा गर्दै २ अर्बभन्दा बढी रकम ठगी गरेको आरोपमा कारवाही प्रक्रियासमेत अगाडि बढाएका थिए ।  प्रोफाउण्ड रेडियन्स एसडीएन बिएचडीका निर्देशक अजलान साह जफ्रिलले नेपाल र पाकिस्तानमा ओएससी सिस्टम खडा गर्नका लागि स्वीकृति लिने क्रममा ५ करोड नेपाली रुपैयाँ घुस दिएको बयान अदालतसमक्ष दिएका हुन् । 

बयान दिने क्रममा प्रोफाउण्ड रेडियन्स एसडीएन बिएचडीका निर्देशक अजलान साह जफ्रिलले पूर्व उपप्रधान तथा गृहमन्त्रीलाई एकमुष्ठ घुस दिनेबाहेक तपाह भन्ने स्थानको मस्जिदको लागि मासिक २१ हजार मलेसियन रिङ्गिट घुस दिनुपरेको बयान दिएका छन् । 

मलेसियामा आप्रवासी कामदार भित्राउने क्रममा विभिन्न संस्था खडा गर्न लगाएर भ्रष्टाचार गरेको भन्दै मलेसिया पूर्व उपप्रधान तथा गृहमन्त्री अहमद जाहिद हमिदीबिरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । क्वालालाम्पुरको उच्च अदालतमा उनीविरुद्ध सुनुवाई भइरहेको छ । 

मलेसियाको भ्रष्टाचार विरुद्धको आयोगले नोभेम्बर २०१८ मा गृहमन्त्री हुँदा ११ करोड ४१ लाख ४६ हजार ७ सय ५१ मलेसियन रिंगिट बराबरको रकम अवैध रूपमा आर्जन गरेको आरोपमा पक्राउ गरी उच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

उक्त आयोगले हमिदीबिरुद्ध कालो धन वैध बनाएको, विश्वास उल्लङ्घन गरेको र घुस लिएको भन्दै ४५ वटा अभियोगमा मुद्दा दर्ता गरेको थियो । हमिदीमाथि ओएससी सञ्चालन गर्ने प्रोफाउण्ड रेडियन्स एसडीएन बिएचडीसहित अन्य दुई कम्पनीबाट २ करोड १२ लाख ५० हजार मलेसियन रिङ्गेट घुस लिएको आरोप लागेको थियो ।

नेपालले मलेसियामा कामदार पठाउने प्रक्रिया नै रोकी भ्रष्टाचार र ठगीबारे अनुसन्धान थालेपछि मलेसियाले पनि माइग्राम्स, बायोमेट्रिक, ओएससी, आइएससी र भिएलएन सञ्चालनका सम्बन्धमा छानबिन थाली अनुसन्धान सुरु गरेको थियो । त्यसै क्रममा हमिदीमाथि छानबिन हुँदा उनले भ्रष्टाचार गरेको भनी मुद्दा परेको थियो । 

अहिले नेपालमा भने यी सबै संस्थाले काम गरिरहेका छन् । यद्यपि, माइग्राम्स भने अहिले हटेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप