आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजधानीको फोटो स्टुडियोबाट काँग्रेसदेखि विप्लव समूहसम्मको नाममा ‘धन्दा’ !

जब सीआईबीको टोली ग्राहक बनेर पुग्यो...
शुक्रबार, १३ मङ्सिर २०७६, १६ : ५३
शुक्रबार, १३ मङ्सिर २०७६

काठमाडौँ । बिहीबार बिहान ११ बजेको समयमा सिनामङ्गलस्थित स्टार डिजिटल फोटो स्टुडियोमा अन्दाजी ३० वर्षीय अपरिचित युवक फोटो खिच्न भन्दै पुगे । स्टुडियो सञ्चालक हुन्, ‘चितवन रत्ननगर घर भएका ३४ वर्षीय अमृत सुर्खेती ।’

स्टुडियो सञ्चालक सुर्खेतीले फोटो खिच्नुअघि ती युवकतर्फ हेर्दै भने, ‘६ प्रतिको दुई सय रुपैयाँ लाग्छ, १२ प्रति निकाल्नुभयो भने ३ सय रुपैयाँ !’

‘एउटा अफिसमा कामको लागि कुरा गरेको थिएँ, बायोडाटामा टाँस्नको लागि हो । ६ प्रति भएपनि हुन्छ,’ ती युवकले स्टुडियो सञ्चालक सुर्खेतीलाई भने ।

सुर्खेतीले स्टुडियोभित्र लगेर ती युवकको फोटो खिचे ।

फोटो खिच्ने क्रममै ती युवकले सुर्खेतीलाई बिनम्र हुँदै सोधे, ‘मलाई ३÷४ जनाको नक्कली ‘सर्टिफिकेट’ बनाउनुपर्ने थियो । तपाईँले त्यस्तो कोही मान्छे चिन्नुभएको छ ?’

त्यतिबेलासम्म फोटो खिचिसकेर सुर्खेतीले क्यामेराबाट चिप्स निकालेर कम्प्युटरमा राखेर ‘इडिट’ गर्न खोज्दै थिए ।

युवकको कुरा सुनेपछि सञ्चालक सुर्खेती मख्ख परे । ३–४ जनाको भनेपछि पैसा पनि राम्रै आउने भएपछि सुर्खेतीले भने, ‘मान्छे त छन् सर । तर, पैसा चाहिँ अलि बढी नै लाग्छ ।’

यस्तै–यस्तै कुरा चलिरहेको थियो । सायद नक्कली ‘सर्टिफिकेट’ बनाउन आवश्यक कच्चा पदार्थ सबै गरेर २–३ हजार मात्रै लाग्थ्यो । सुर्खेती पनि मख्ख नै थिए । एकैदिनमा १ लाखभन्दा माथिको कमाइ हुनेवाला थियो उनको ।

युवकः कति लाग्छ ?

फोटो सञ्चालकः एउटा बनाउन कम्तिमा पनि ३० देखि ४० हजार लाग्छ ।

युवकः आजभोलिभित्रै बनाइदिन सक्नुहुन्छ ?

फोटो सञ्चालकः आजै बेलुकासम्म बनाइदिन्छु । पैसा एड्भान्स छोड्नुस् ।

युवकः अलि मिलाएर गर्नु न त !

फोटो सञ्चालकः मिलाएर नै भनेको हुँ ।

त्यतिबेलासम्म फोटो पनि ‘प्रिन्ट’ भइसकेको थियो । ती युवकले फोटो खिचेको पैसा दिए ।

एकछिन भन्दै कानमा फोन लगाउँदै ती युवक बाहिर निस्किए । तत्कालै उक्त फोटो स्टुडियोमा ४ जनाको टोली ती युवकसँगै पुग्यो ।

‘उहाँहरुको ‘सर्टिफिकेट’ बनाउनुपर्ने हो,’ ती युवकले आफूसँग गएका तीन जनालाई देखाउँदै भने । सञ्चालक सुर्खेती हाँसेरै कुरा गरिरहेका थिए ।

सुर्खेतीले ती युवकलाई भने, ‘तपाईँ त कति राम्रो मान्छे ।’

यस्तै–यस्तै कुरा चलिरहेको थियो । सायद नक्कली ‘सर्टिफिकेट’ बनाउन आवश्यक कच्चा पदार्थ सबै गरेर २–३ हजार मात्रै लाग्थ्यो । सुर्खेती पनि मख्ख नै थिए । एकैदिनमा १ लाखभन्दा माथिको कमाइ हुनेवाला थियो उनको ।

कुराकानीकै क्रममा ती अपरिचित युवकले ‘हत्कडी’ देखाए । सञ्चालक सुर्खेतीको सातोपुत्लो उड्यो । अनुहारमा भएको चमकमा एकाएक निरासापन देखियो । सुर्खेतीले बुझिहाले– काम लिएर आउने भनिएका ती युवक त प्रहरी पो रहेछन् ।

****

जानकारी सँगै यस्तो क्रियाकलाप रोक्नुपर्ने भन्दै डीआईजी शाही आफै पनि १–२ वटा फोटो स्टुडियोतिर पुगे । डीआईजी शाहीले रातोपाटीसँगको कुराकानीमा भने, ‘घरनजिकैको १–२ वटा फोटो स्टुडियो नजिकै पुगेर त्यहाँको गतिविधि नियालेँ ।’

****

हुन् पनि ती युवक प्रहरी नै थिए अर्थात केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत प्रहरी इन्स्पेक्टर ।

डीआईजीलाई त्यो फोन !

सीआईबीका प्रमुख हुन्, डीआईजी निरज शाही । शाहीलाई एक हप्ताअघि गोरखा घर भएका एक व्यक्तिले मोबाइलमा फोन गरेर भनेका थिए, ‘उपत्यकामा सञ्चालित अधिकांश फोटो स्टुडियोले ‘नक्कली कागजपत्र’ बनाउने गर्छन् ।’

जानकारी सँगै यस्तो क्रियाकलाप रोक्नुपर्ने भन्दै डीआईजी शाही आफै पनि १–२ वटा फोटो स्टुडियोतिर पुगे । डीआईजी शाहीले रातोपाटीसँगको कुराकानीमा भने, ‘घरनजिकैको १–२ वटा फोटो स्टुडियो नजिकै पुगेर त्यहाँको गतिविधि नियालेँ ।’

डीआईजी शाही पनि फोटो स्टुडियोहरुले नक्कली कागजपत्र बनाएर बिक्रीवितरण गर्ने कुरामा सहमत भए । अनि सीआईबीबाट ५–६ वटा टोली परिचालन भयो ।

विगत ४ वर्षदेखि सिनामङ्गलमा फोटो स्टुडियो सञ्चालन गर्दै आएका सुर्खेतीले पनि नक्कली कागजपत्र बनाएर बिक्री गर्ने गर्थे । र, मोटो रकम असुल्दै आएका थिए ।

सुर्खेतीसँगै अन्य २ जना पनि पक्राउ

सुर्खेतीसँगै सीआईबीले थप २ जनालाई पनि त्यसैगरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा २६ वर्षीय मधुसुदन दवाडी र ३४ वर्षीय सबिन कुमार तोलाङ्गी रहेका छन् ।

सामाखुसी गोंगबुस्थित टाउन प्लानिङ बस्दै आएका ओखलढुङ्गा घर भएका तोलाङ्गीले कोठाबाटै नक्कली कागजपत्र बनाउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

धादिङ निलकण्ठ नगरपालिका घर भएका दवाडी पनि फोटो स्टुडियो सञ्चालक हुन् । विगत ५ वर्षदेखि बसुन्धारामा दवाडी डिजिटल फोटो स्टुडियो सञ्चालन गर्दै आएका थिए ।

पक्राउ परेका तीनै जनालाई शुक्रबार सीआईबी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा डीआईजी निरज शाही । 

 

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

विप्लव समूह र नेपाली काँग्रेसको ‘लेटरहेड’ बरामद

पक्राउ परेका तीनजनाको साथबाट नेपाली काँग्रेसदेखि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्मको ‘लेटरहेड’ बरामद भएको छ । नेपाली काँग्रेस, नेपाल विद्यार्थी संघ, नेपाल कम्युनिष्ट पार्टी र नेपाल तरुण दल लेखिएको ‘लेटरहेड’ बरामद छ । सो लेटरहेडको प्रयोगबाट विभिन्न व्यक्तिमार्फत चन्दा आतंक समेत मच्चाउने गरिएको प्रहरीको भनाइ छ ।

सीआईबीका प्रमुख शाहीका अनुसार राजनीतिक पहुँचको मान्छे हुँ भन्दै देखाउनका लागि अभियुक्तले यस्ता राजनीतिक पार्टीका ‘लेटरहेड’ बनाएर राखेका हुनसक्छ । उनले भने, ‘यस्तो अवस्थामा अमेरिका, युरोप जान सजिलो हुन्छ ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानमा यस्तो काम गर्दै उनीहरु आफै विदेश जाने तयारी गर्दै थिए । विप्लव समूहको नाम बिकाउँदै उनीहरुले चन्दा समेत मागेको हुनसक्छ ।

कालीमाटी वृत्तको ‘लेटरहेड’ पनि...

उनीहरुको साथबाट प्रहरीको ‘लेटर हेड’ समेत बरामद भएको छ ।  महानगरीय प्रहरी वृत्त, कालीमाटी, काठमाडौं लेखिएको ‘लेटर हेड’ बरामद भएको हो । डीआईजी शाही भन्छन्, ‘प्रहरी रिपोर्ट समेत उनीहरुले बनाउँदै आएको खुलेको छ ।’

यस्तै उनीहरुले सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल गणको ‘लेटरहेड’ बनाएर सुमन खत्री नामको व्यक्तिलाई प्रमाणपत्र समेत दिएका छन् ।

उनीहरुका साथबाट के–के बरामद भयो ?

१. प्रहरी प्रधान कार्यालयको लेटर प्याडमा तयार भएको पुलिस रिपोर्टहरु ।

२. प्लस २ को एकेडेमिक ट्रान्सक्रिप्ट, प्रोभिसनल सर्टिफिकेट, माइग्रेसन सर्टिफिकेट ।

३. सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल गण हलचोकको स्पेशल टाक्स फोर्स, सुरक्षा तालिम, हात हतियार तालिम, बिशिष्ट व्यक्तिको सुरक्षा तालिमको प्रमाण पत्र ।

४. विभिन्न विद्यालयहरूको ‘डिस्टिक लेभल एक्जामेसन एजुकेशन बोर्ड’ को मार्कसिट तथा शैक्षिक प्रमाण पत्रहरू ।

५. नेपाल आर्मीले प्रदान गरेको सिफारिसम्बन्धी पत्र ।

६. महानगरीय प्रहरी वृत कालीमाटीको लेटर प्याड तथा सिफारिसम्बन्धी लेखिएको पत्रहरू ।

७. विभिन्न जिल्ला प्रशासन कार्यालयहरूबाट जारी अंग्रेजी लिपिमा लेखिएको नागरिकता प्रमाणपत्रहरू ।

८. काठमाडौ महानगरपालिकाको सहीछाप गरेको खाली लेटर प्याड, वडा कार्यालयको सिफारिस पत्र ।

९. पार्टी कार्यालयहरूका लेटर प्याडहरूमा लेखिएको पत्रहरू ।

१०.  बैंक स्टेटमेन्ट, मेडिकल रिपोर्ट, स्थायी लेखा नम्बरको प्रमाण पत्र ।

के छ कानुनी प्रावधान ?

 मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखित सम्बन्धी कसुर अन्तर्गत दफा २०७६ विपरित कसुर भएको ठहरिए २७६ ९३ को ग० बमोजिम ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप