सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

५२ तस्बिरमा हेर्नुहोस् ५२ पदका लागि भएको उपनिर्वाचन

शनिबार, १४ मङ्सिर २०७६, १२ : ३९
शनिबार, १४ मङ्सिर २०७६

काठमाडौँ ।  ३७ जिल्लाका ४८ स्थानीय तह, ३ प्रदेशसभा र १ प्रतिनिधिसभा गरी ५२ पदका लागि शनिबार उपनिर्वाचन भइरहेको छ ।  उपनिर्वाचनमा केही मन्त्रीले पनि मतदान गरेका छन् । यसरी मतदान गर्नेमा पाँचथर क्षेत्र नम्बर १ का सांसद एवम् भौतिक पूर्वाधारमन्त्री वसन्त कुमार नेम्वाङ छन् । 

पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा उनले मतदान गरेका छन् । गत साउन ७ गते नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित ७७ वर्षीय हर्क मोक्तानको मृत्यु भएपछि सो वडामा पुनः निर्वाचन भएको हो । 

यस्तै खानेपानी मन्त्री बिना मगरले पनि उपनिर्वाचनमा मतदान गरेकी छिन् ।  कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ मा भएको उपनिर्वाचनमा उनले मतदान गरेकी हुन् । 

पुनर्वास नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समिति कञ्चनपुर प्रमुखमा निर्वाचित भएपछि सो वडाको प्रमुख पद खाली हुँदा उपनिर्वाचन भएको हो । 

यो उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यतर्फ कास्की निर्वाचन क्षेत्र नंम्बर २ को प्रतिनिधि सभा सदस्य–१, प्रदेश सभा सदस्यतर्फ भक्तपुर क्षेत्र नम्बर १ को १, बागलुङ क्षेत्र नम्बर २ को २, दाङ जिल्लाको क्षेत्र नम्बर ३ को २ गरी प्रदेश सभा सदस्यतर्फ ३  जना र स्थानीय तहतर्फ धरान उपमहानगरपालिकाको प्रमुख–१ जना, संखुवासभा जिल्ला मकालु गाउपालिकाको अध्यक्ष–१, पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष–१, महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष–१ गरी गाउँपालिका अध्यक्ष–३ जना, हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष–१ जना र विभिन्न गाउँपालिका तथा नगरपालिकाको वडाअध्यक्ष–४३ समेत गरी जम्मा ५२ रिक्त पदमा उपनिर्वाचन भएको हो । 

उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र तोकिएका छन् । जसमध्ये प्रतिनिधि सभातर्फ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यतर्फ ७८ मतदान स्थल र १७४ मतदान केन्द्र तथा स्थानीय तहतर्फ १३७ मतदान स्थल र २८१ मतदान केन्द्र तोकिएको छ । आठसय वा सोभन्दा बढी मतदाता भएका केन्द्र ३३७ छन् भने आठसय भन्दा कम मतदाता रहेका केन्द्र दुई सय छन् । 

यो उपनिर्वाचनमा ३७ जिल्लाका महिला २,३३,४०२, पुरुष २,२०,७१० र अन्य २ जना गरी जम्मा ४,५४,११४ जना मतदाताले मताधिकारको प्रयोग गर्न सक्नेछन् । 

यस उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यतर्फ ११ वटा, प्रदेश सभा सदस्यतर्फ १५ वटा र स्थानीय तहका सदस्यको लागि २० वटा राजनीतिक दल सहभागी भएका छन् । उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने जम्मा ३३३ उम्मेदवारमध्ये राजनीतिक दलतर्फ २५३ र स्वतन्त्र उम्मेदवार ८४ जना रहेकोमा २५३ पुरुष र ८४ महिला उम्मेदवार छन् ।

प्रतिनिधि सभातर्फ राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी जम्मा २१, प्रदेश सभा सदस्यतर्फ राजनीतिक दलका २९ र स्वतन्त्र १४ गरी ४३ र स्थानीय तहका सदस्यतर्फ राजनीतिक दलका २१३ र स्वतन्त्र ६० गरी जम्मा २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

उपचुनाव भएका केही स्थानमा चुनावविरोधी समूहले तर्साउने उद्देश्यले सामान्य विस्फोट गराएपनि कुनै अप्रिय घटना भएको छैन । मतदाता उत्साहका साथ मतदान प्रक्रियामा सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप