पुरुष क्रिकेटमा बंगलादेशले जित्यो स्वर्ण, श्रीलङ्का रजतमै सिमित
काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटतर्फ बंगलादेशले स्वर्ण पदक हासिल गरेको छ ।
उपाधिका लागि श्रीलंकासँग प्रतिश्पर्धा गरेको बंगलादेशले ७ विकेटको जित हासिल गरेको हो । पराजयसँगै श्रीलंका रजत पदकमा सीमित भएको छ । आयोजक नेपालले भने कास्य पदक हासिल गरेको छ ।
सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा १२३ रनको लक्ष्य पाएको बंगलादेशले १९ औं ओभरको पहिलो बलमा जित हासिल गरेको हो ।
बंगलादेशले टस जितेर पहिले फिल्डिङ रोजेपछि श्रीलंकाले सबै विकेट गुमाएर १२२ रनको योगफल तयार पारेको थियो । श्रीलंकाका लागि शम्मु अशनले २५ रन बनाए । यस्तै, पथुम निस्सङकाले २२ र निशान फर्नान्डोले १६ रन बनाए ।
बंगलादेशका लागि हसन महमुदले तीन र तनवीर हसनले दुई विकेट लिए । त्यस्तै सुमोन खान र मेहदी हसनले एक–एक विकेट हात पारे ।
१२३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले नजिमुन हुसैन शान्टो, सैफ हसन र सौम्य सरकारको आत्मविश्वासी पारीको मद्दतमा जित हासिल गरेको हो । शान्टोले ३५, हसनले ३३ र सरकारले २७ रन बनाउँदै जितको बलियो आधार निर्माण गरेका थिए ।