सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सर्वसाधारणका लागि खुल्दै रत्न मन्दिर

मङ्गलबार, ०१ पुस २०७६, १९ : २३
मङ्गलबार, ०१ पुस २०७६

पोखरा । फेवा किनारमा तत्कालीन राजा महेन्द्र शाहले बनाएको मन्दिर छ । जसको नाम हो रत्न मन्दिर । देशबाट शाहवंशीय शासनको अन्त्य भइसके पनि राजा महेन्द्रले आफ्नी रानी ‘रत्न’को नाममा बनाएको उक्त मन्दिरमाथि सर्वसाधारणको लागि लगाइएको बन्देज अझैसम्म हट्न सकेको थिएन ।  तर, सर्वसाधरणका लागि गुमनाम ‘रत्न मन्दिर’ भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा खुल्ने भएको छ । भिजिट नेपाल २०२० को शुभारम्भ कार्यक्रम रत्न मन्दिरबाट हुने भिजिट नेपाल २०२० गण्डकी प्रदेशका संयोजक समेत रहेका गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिए । 

‘नेपाल ट्रस्टले तपाईंहरुले लिए पनि लिनुस्, महानगरपालिकाले लिए पनि लिनुस् भनेर भनिरहनुभएको छ,’ उनले भने, ‘ट्रस्टसँग सहमति गरेर, भिजिट नेपाल २०२० को उद्घाटन रत्न मन्दिरबाट गर्ने तयारीमा लागि रहेका छौं ।’यद्यपि, रत्न मन्दिर खुला गर्ने विषयमा लिखित सहमति भने भइसकेको छैन । नेपाल ट्रस्टको नाममा रहेको उक्त मन्दिरको व्यवस्थापन र रेखदेख ट्रस्टले नै गर्ने गरी महानगर अथवा प्रदेश सरकारले सञ्चालनको जिम्मा लिएर सर्वसाधारणको लागि खुल्ला गर्न लागिएको उनले जाननकारी दिए ।  

‘प्रदेश सरकार अथवा महानगर जस्ले सञ्चालन गरे पनि दिने भनेर मौखिक सहमति भइसकेको छ,’ उनले भने, ‘क्याबिनेटबाटै निर्णय भइसकेपछि मात्रै हामी कहाँ आउने हो । कसरी सञ्चालन गर्न सकिन्छ भनेर ड्राफ्ट गर्दैछौं । त्यो पठाई सकेपछि हामीबीच एमओइ हुन्छ, त्यसपछि क्याबिनेटबाट निर्णय भइसकेपछि १६ गते खुल्छ ।’  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगर प्रमुख मानबहादुर जीसीसँग छलफल गरेर प्रस्ताव पठाउने तयारीमा रहेको उनले सुनाए । 

सर्वसाधारणको लागि पनि खुला हुने भइसकेपछि सुरक्षाका कुरा पनि आउलान्, यसको स्वरुप कसैले बिग्रिने पो हुन् कि ? यो विषयमा के योजना बनाउनुभएको छ ? हामीले सोध्यौं ।  रत्नमन्दिरको ऐतिहासिक महत्व नबिगार्ने गरी पोखरामा अर्को पर्यटकीय प्रोडक्ट थपिने लागेको उनले बताए । ‘हेर्ने ढोका मात्रै खोल्ने हो,’ उनले भने, ‘यो हाम्रो पुरातात्विक सम्पति हो । यसको स्वरुप कत्ति पनि नबिग्रिने गरी हामीले संरक्षण गछौं ।’

पोखरामा बन्द भएर बसेको पर्यटकीय गन्तव्य खुलिसकेपछि पर्यटनमा थप टेवा पुग्ने उनले सुनाए । रत्न मन्दिरलाई स्वरुप नबिगारी थप आकर्षित बनाउनका लागि योजना पनि बनाउने उनले जानकारी दिए ।  भिजिट नेपाल २०२० को लागि गण्डकी प्रदेशले ५६ सदस्यीय समिति बनाइएको छ । समितिले नेपाल भ्रमण वर्ष २०२० को लक्ष प्राप्ति र पर्यटनको नयाँ आधारशीला तयार पार्नको लागि तयारी सुरु गरेको नेपाल भ्रमण वर्ष २०२० का गण्डकी प्रदेश सह–संयोजक अग्नि कँडेलले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप