बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

श्रम कार्यालय ताहाचलमा बिचौलिया सक्रिय, चर्को शुल्क बुझाउन कामदार बाध्य

सोमबार, ०५ भदौ २०७४, १७ : ०७
सोमबार, ०५ भदौ २०७४

काठमाडौँ । बैदेशिक रोजगार विभागले रोजगारीका लागि विदेशिने युवाहरुको सहजताको लागि संचालनमा ल्याएको अनलाइन श्रम स्वीकृतिले युवाहरुको सास्तीलाई कम गरेपनि बिचौलियालाई रोक्न भने सकेको छैन । श्रमका लागि बुद्धनगरस्थित बैदेशिक रोजगार कार्यालयमा युवाको चाप बढेकोले श्रम नबिकरणका सबै कार्य ताहाचलमा गर्ने गरी विभागले नयाँ कार्यालय स्थापना गरेको थियो ।

गत पुष ३ गते देखि कामदारहरुको सहजताका लागि अनलाइन श्रम स्वीकृति प्रणालीको शुरुवात गरिएको थियो । सर्वसाधारणलाई अनलाईन फर्म भर्ने प्रक्रियाको प्रर्याप्त ज्ञान विभागले गराउन नसकेको फाइदा बिचौलियाहरुले उठाइरहेका छन् ।

बिचौलियाको चलखेल 
बैदेशिक रोजगार विभागअन्तर्गतको ताहाचलस्थित श्रम कार्यालयको आसपासमा चलखेल गर्ने बिचौलियाहरुले श्रम नबिकरणको गरी विदेशिने युवाहरुसँग चर्को शुल्क असुल्ने गरेका छन् । युवाहरु बसबाट ओर्लनासाथ “दाई श्रम गर्ने हो” भन्दै नजिक आइपुग्छन् । ‘सबै काम हामी गर्दिन्छौं,’ भन्दै आश्वस्त पार्नेहरु ब्रगेल्ती भेटिन्छन् ।

बीमा र कल्याणकारी कोषका लागि लाग्ने शुल्कका अतिरिक्त अनलाइन भरेको शुल्कबापत भन्दै सात सय रुपयाँदेखि माथि लिने गरेका छन् । सोल्टीमोडको चोक देखिनै बिचौलिया सक्रिय हुन्छन् । म्यादी जीवन बीमाका लागि कार्यालय सञ्चालन गरिएका बीमा कम्पनीहरुका प्रत्येक शटरमा बिचौलियाले अड्डा जमाइरहेका हुन्छन् । पहिलो पटक बिदेशिने युवाहरुको सम्बन्धित म्यानपावरले श्रमको कार्य सकिदिएको हुन्छ । तर, बिदामा आएर फर्कने क्रममा रहेका कामदारहरुको श्रम नविकरणको समयमा दलाल मार्फत ठगिने गरेका छन् ।

श्रममा लागि बिगतमा जस्तै लामो लाइनबस्नु नपरे पनि युवाहरुले बिना शीर्षकमा बिचौलियालाई रकम बुझाउन बाध्य छन् ।

श्रम विभागले अनलाईन प्रणालीको विकास तथा शुरुवात गरेपनि कामदारहरुलाई श्रम नबिकरणका लागि आवश्यक जानकारी गराउन यथेष्ट प्रयास नगरेकोले कामदारहरु बिचौलियासँग ठगिएका छन् ।

श्रम कार्यालय ताहाचलमा रहेका म्यादी जिबन बीमा कम्पनीहरु कामदारहरु ठगिने कार्यमा सहजकर्ता बनेका छन् । कार्यालय आसपासका क्षेत्रमा रहेका विभिन्न कम्पनीहरुले म्यादी जीवन बीमा गर्दै आएका छन् । हरेक इन्सुरेन्स कार्यालयमा कर्मचारी बाहेकका बिचौलियाहरुको भिड रहेको हुन्छ । बिचौलियाले कामदारसँग श्रमका लागि लाग्ने शुल्कका अतिरिक्त अनलाईन फर्म भरेको सात सय रुपैयाँभन्दा बढी निर्धक्कसँग माग्छन् । राजश्वको रकम जम्मा बैंकमा जम्मा गरे  बापत दलालले दुई सय रुपैयाँभन्दा बढी रकम कामदारसँग असुल्ने गर्दछन् । राजश्व बापतको रकम बुझाउनका लागि शाखाले लक्ष्मी, प्रभु, सिद्धार्थ,सेन्चुरी, सानीमा र ग्लोबल आईएमई बैंकका खाता उपलब्ध गराएको छ ।

अनलाईन श्रमस्वीकृति लिने प्रक्रिया
ब्यक्तिगत तबरले रोजगारीका लागि जाने कामदारले अनलाइनश्रम स्वीकृतिका लागि ब्यक्तिले आफ्ना सम्पूर्ण विवरण भर्नुपर्दछ । नाम, ठेगाना, पासवर्ड उक्त प्रणालीमा राखेपछि लगइन हुन युजर र पासवर्ड सेट गर्नुपर्छ । यो फेसबुक र ट्विटरमा आइडी बनाएजस्तै प्रक्रिया हो । आवश्यक कागजातहरु अपलोड गरेपछि विभागले ब्यक्ति जानलागेको देश, कामको प्रकृति बुझेर श्रमको स्वीकृतिको कार्य अघि बढाउँछ । त्यसपश्चात कामदारलाई मेल प्राप्त हुन्छ । त्यसकै आधारमा अभिमुखीकरण, बीमा, मेडिकल र कल्याणकारी कोषकाकार्य कामदारले सक्नुपर्छ । श्रम नविकरण  गर्नेहरुले भने अभिमुखिकरण तालिम र स्वास्थ्य परिक्षण गर्नुपदैन ।

श्रम नबिकरणको सहजप्रक्रियालाई दलाली गर्नेहरुले कमाइखाने माध्यम बनाएका छन् । बिचौलियाहरुले केही समयमा सकिने कार्यको लागि अस्वभाविक शुल्क लिने गरेका छन् । 

बिचौलियाले कामदारलाई कति ठग्छन्  
 कामदारले बीमा बापत लाग्ने शुल्क दुई बिधि  निर्धारण गरिएको छ । ३५ बर्ष मुनिका र त्योभन्दा माथिका उमेर गरी बीमा शुल््क तोकिएको छ । ३५ बर्ष भन्दा कम उमेरले तीन हजार नौ सय २४  रुपैयाँ बुझाउनु पर्छ भने त्यो भन्दा माथि उमेर हुनेले पाँच हजार तीन सय ३० रुपैयाँ  बुझाउनु पर्ने हुन्छ । बीमा तीन बर्ष भन्दा बढी अवधिको गर्नुपर्ने हुन्छ । कल्याणकारी कोषको लागि सबैले समान १५ सय रुपैयाँ शुल्क तोकिएको छ । यसअनुसार ३५ बर्ष उमेर कटेको व्यक्तिले प्रावधान अनुसार  छ हजार आठ सय ३० रुपैयाँ बुझाउनुपर्छ  ।

श्रम कार्यालय ताहाचलमा श्रम नवीकरणका लागि आएका कामदारले तोकिएको शुल्क भन्दा बढी एक हजार एक सयरुपैयाँ  देखि एक हजार पांच सय रुपैयाँ  सम्म बुझाएका भेटियो । ओमानका लागी श्रम नबिकरणका लागि श्रम कार्यालय आईपुगेका बागलुङका खिम बहादुर खत्रीले बिचौलियालाई एक हजार तीन सय बढी रकम दिएको बताए । खत्रीका अनुसार दलालले अनलाईन फर्म र बैंकमा रकम  डिपोजिटको काम बापत एक हजार तिन सय रुपैयाँ थप लिएको खुलाए । नदिए कामनै हुन्न भन्छन्, दिने बाध्यता छ –उनले भने । कतारका लागि श्रम स्वीकृतिका लिन आएका सुर्खेतका मिसार कामीले एक हजार सात सय थप रकम बिचौलियालाई बुझाएको बताए । त्यस्तै फुलबारी पोखराका  गौ प्रसाद सुबेदीले एक हजार पाँच सय बिना शीर्षकको शुल्क दलाललाई सुम्पेको बताए । 

नियमन निकायको निरिहता 
श्रमका लागि कामदारहरुको समस्या न्युनीकरणका लागि बैदेशिक रोजगार विभागले अनलाइन श्रम स्वीकृतीको शुरुवात गरे पनि श्रम स्वीकृतिका क्रममा सक्रिय बिचोैलियालाई हटाउन नसकिएको स्विकारेको छ । कार्यालयसम्म कामदारलाई नआएर जुनसुकै स्थानबाट श्रमको फर्म भर्ने सहजता विभागले उपलब्ध गराएको बताउदै बैदेशिक रोजगार विभागका महानिर्देकशक विश्वराज पाण्डेयले कामदार नै सचेत हुन सुझाए । कार्यालय बाहिर भएका आर्थिक चलखेल  नियन्त्रण गर्न विभागले नसकिरहेको पाण्डेयले स्विकारे । विभागले अनलाइन प्रणालीलाई अपग्रेड गरि श्रम कार्यालय रहेका मलेशिया,कतार र साउदीबाट पनि श्रम स्वीकृतिको कार्य छिट्टै शुरु गरिने स्पष्ट पारेको छ ।


  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप