जावलाखेलको पहिलो जित, सरस्वती क्लब १–० गोलले पराजित
शनिबार, ०५ पुस २०७६, १५ : ४०
काठमाडौं । जावलाखेल युवा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ ।
एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा शनिबार भएको खेलमा जावलाखेलले सरस्वती युवा क्लबलाई १–० गोलले हरायो । जावलाखेलको जितमा ड्याडी जुनियर वाम्वाले गोल गरे । वाम्वाले १०औं मिनेटमा गरेको गोलनै जावलाखेलको जितमा निर्णायक बन्यो ।
जावलाखेलले त्यसपछि पनि लगातार गोलको अवसर बनाएको थियो । सरस्वतीले केही फितला अवसर बनाएपनि गोल गर्न सकेन । यसजितसँगै जावलाखेलले चार अंक बनाएको छ ।
लिगको पहिलो खेलमा जावलाखेलले ललितपुरकै अर्को टोली थ्रीस्टारलाई बराबरीमा रोकेको थियो । सरस्वतीले भने लगातार दोस्रो हार खेपेको छ ।