आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सत्ताको दौडधूपः देउवाको प्रस्ताव कुर्दै कमल थापा

बुधबार, १७ जेठ २०७४, १७ : १०
बुधबार, १७ जेठ २०७४

काठमाडौं, जेठ १७– प्रचण्ड नेतृत्वको सरकारमा झन्डै डेढ महिना बसेर बाहिरिएका कमल थापाले अव बन्ने काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने इच्छा देखाएका छन् । थापा नेतृत्वको राप्रपाले देउवाको प्रस्ताव कुरेर बसेको छ ।

स्रोतका अनुसार देउवाबाट ‘उचित प्रस्ताव’ आएको खण्डमा राप्रपा सरकारमा जाने तयारीमा छ । काँग्रेसका दोस्रो तहका नेताहरुले भने थापासँग कुराकानी गरिरहेको स्रोत बताउँछ । सहमतिय सरकार गठनका लागि काँग्रेसले हिजो बोलाएको सर्वदलीय वैठकमा राप्रपा नेताहरु सहभागी भएका थिए ।

राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले नयाँ सरकारमा जाने-नजाने विषयमा स्पष्ट रुपमा केहि नबताएपनि कांग्रेसबाट प्रस्ताव आएको खण्डमा पार्टीले आवश्यक निर्णय गर्ने बताए ।

सहायक महामन्त्री बर्तौताले पार्टी अध्यक्ष कमल थापा हिजो देउवा र आज राष्ट्रपतिले बोलाएको सर्वदीय बैठकमा सहभागि भएको ताए । उनले ‘कसैले राप्रपाको सहयोग चाहन्छ भने प्रस्ताव हेरेर पार्टीले उपयुक्त निर्णय लिने’ बताए ।

यस्तै राप्रपा नेता तथा पूर्वमन्त्री दिलनाथ गिरीले सहमतिय सरकार बन्ने सम्भावना हाललाई सकिएको भन्दै बहुमतीय प्रक्रियामा कसको नेतृत्व हुने भन्ने नै प्रष्ट नभएको भन्दै ती सबै विषय प्रष्ट भइसकेपछि राप्रपालाई पनि सरकारमा सहभागि गराउने गरी प्रस्ताव आएको खण्डमा के गर्ने भन्नेमा पार्टीले निर्णय लिने बताए ।

देउवासँग नयाँ सरकारमा सहभागि हुने विषयमा कमल थापाले पटक–पटक छलफल गरेको स्रोतहरुले बताएका छन् ।

प्रचण्ड नेतृत्वको सरकारमा मधेसी दल सहभागि भएका थिएनन् । मधेसी मोर्चामा आबद्ध दलहरुको समर्थन रहेको थियो । तत्कालिन राप्रपासहितका साना दलहरुको पनि समर्थन थियो । तर, फागुन अन्तिम साता थापा उपप्रधानसहित स्थानीय विकास मन्त्रीका रुपमा सरकारमा प्रवेश गरेका थिए । चुनाव सम्पन्न गराउन भन्दै सरकारमा गएका थापा चुनाव अगाडि नै सरकारबाट बाहिरिएका थिए ।

रापप्रा स्रोतका अनुसार हतारमा निर्णय गरेर कमल थापा सरकारबाट बाहिरिएको भन्दै त्यतिबेला पार्टीभित्रनै आलोचना भएको थियो । पार्टीभित्र ‘गम्भीर’ बहस भएपछि पुन थापाले महाभियोगमा सर्वोच्चले आवश्यक निर्णय गरेको र आफ्नो माग पूरा नभएको भन्दै सरकारमा जाने इच्छा देखाएका थिए । तर, सत्तारुढ दलले उनलाई सरकारमा लैजान रुचि राखेका थिएनन् । बरु कमल थापा बाहिरिएपछि प्रधानमन्त्रीले बिजय गच्छदारलाई सरकारमा भित्राएका थिए ।

महाभियोगको निहुँ बनाएर थापाले सरकार छाडेपनि थापाको उक्त कदम पार्टीभित्रको पार्टीभित्रको समिकरण मिलाउनुपर्ने बाध्यताका रुपमा पनि हेरिएको थियो । त्यहाँबाट कांग्रेस–माओवादी गठबन्धनसँग उनको सम्बन्ध बिग्रिएको ठानिएको थियो ।

थापाको त्यहीँ कमद अहिले परीक्षणमा छ । प्रचण्डले राजीनामा दिएसँगै ‘कमल थापाको विगतदेखि कै चरित्र हेर्ने हो भने अवसरवादी प्रवित्ति छ । उनीसँग सहकार्य गर्न विश्वासको वातावरण छैन । यदी विश्वासको वातावरण बन्छ भने लिन सकिन्छ’, एक कांग्रेस नेताले भने ।

थापाले महाभियोगको निहुँलाई बनाएर सरकार छाडेकाले उनी विश्वासिलो सत्ता साझोदार नभएको भन्दै देउवाले दरिलो प्रतिबद्धता खोजेको बताइएको छ । राप्रपालाई सरकारमा लिँदा सत्ता गठबन्धन बलियो हुने देउवाको बुझाई छ । तर, उनी सरकारमा लिँदानै थापालाई गलाउने रणनीतिमा लागेको बुझिएको छ

प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिएसँगै काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नो नेतृत्वको नयाँ सरकार गठनका गृहकार्यमा जुटेका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट उनी एक्ला उम्मेद्वार हुन् । गत साउन १९ गते प्रचण्ड प्रधानमन्त्री हुनुअघि कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार देउवा आफ्नै नेतृत्वमा सरकार गठन गर्न लागिपरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले एक साताअघि राष्ट्रिय सहमतिमा सरकार गठन गर्न एक साताको समयसीमा दिई आह्वान गरेको भएपनि त्यसमा कुनै प्रगति देखिएन । हिजो काँग्रेसले बोलाएको वैठकमा सहभागी नभएर प्रमु प्रतिपक्ष दल एमालले सहमतिय सरकार गठन गर्ने काँगेस प्रस्ताव अस्वीकार गरिसकेको छ ।
सहमतिय सरकार गठनका लागि भएको आव्हानकै समयमै देउवाले पनि बहुमतीय आधारमा प्रधानमन्त्री चयनका लागि आन्तरिक छलफललाई तीब्र पारेको कांग्रेस सम्बद्ध नेताहरुले बताएका छन् ।
नेताहरुका अनुसार माओवादी केन्द्रसहितका दलले पूर्वसहमतिअनुसार देउवालाई सघाउने भएपनि अरु को–कसको देउवालाई समर्थन गर्छन् भन्ने प्रष्ट भइसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप