आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विद्यालयको लापरबाहीले एसईईका विद्यार्थीलाई सास्ती

आइतबार, ०४ असार २०७४, १५ : ३२
आइतबार, ०४ असार २०७४


काठमाडौँ –  कतिपय विद्यालयहरुले समयमै प्रयोगात्मक (प्राक्टिकल) नम्बर पठाउन छुटाइदिँदा एसईईका  एक हजार बढी विद्यार्थीले सास्ती  बेहोर्नु परेको  छ ।


   नजिता सार्वजनिक गर्ने बेलासम्म पनि विद्यालयहरुले प्राक्टिकल नम्बर परीक्षा नियन्त्रण कार्यालयमा पठाउन छुटाइदिएर उनीहरुको मार्कसिटमा जिपीए अंक उल्लेख नहुँदा सास्ती बेहोर्नु परेको हो । 


  सोहि कारण दिनहुँ  विद्यार्थीहरु अंक सच्याउन निवेदन दिन परीक्षा नियन्त्रण कार्यालय  सानोठिमी भक्तपुर पुग्ने गरेका छन् । 


पाल्पाका देवराज भण्डारीले  आफ्नी छोरीको  एईईको नतिजामा प्राक्टिकल अंक छुटाइएको गुनासो गर्दै यो परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीले भएको आरोप लगाए । 

वानेश्वरस्थित क्याम्ब्रिज  स्कुलबाट एसईई दिएकी आफ्नी छोरी सम्पदाको अंग्रेजी विषयको प्राक्टिकल  जोड्न छुटाइएको भन्दै अहिले आएर सच्याउन निकै सास्ती भइरहेको उनको भनाई छ । 


 विद्यालयमा बुझ्दा सबै यसअघि नै अंक पठाइएको  भन्ने जानकारी पाएको तर  नतिजा आउँदा भने  छुटाएर प्रकाशित गर्ने काम पनिकाबाट भएको भन्दै आक्रोश पोखे ।  कतिपय अवस्थामा नतिजाकै कारण  गम्भीर घटनासमेत हुनसक्ने भन्दै उनले यसतर्फ पनिकाका अधिकारीहरु गम्भीर   नभएको आरोप समेत लगाए  । 


 परीक्षा नियन्त्रक अम्बिका रेग्मीले  विद्यालयले नै अंक नपठाइदिँदा छुट्न पुगेको स्पष्ट पारे ।  उनले भने, ‘ हामीले पटक पटक नम्बर पठाइदिन भनेर सम्बन्धित विद्यालयलाई अनुरोध गरेका हौं । अंक नै नपठाएपछि प्राक्टिकल बिनैको नतिजा सार्वजनिक गरिएको हो ।’


 उनले छुटेका विद्यार्थीहरुको अंक विद्यालयबाट प्राप्त भएपछि  सच्याएर पठाउने समेत बताए ।  परीक्षा नियन्त्रण कार्यालयका अनुसार १०३८ विद्यार्थीको प्रयोगात्मक अंक छुटेको छ ।  पनिकाले गत शुक्रबार अक्षरांकन प्रणालीमार्फत एसईईको नतिजा सार्वजनिक गरेको थियो । 


 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप