मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यस्ता छन् पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष

मङ्गलबार, ०६ भदौ २०७४, ११ : ०८
मङ्गलबार, ०६ भदौ २०७४

नेपाल पत्रकार महासंघको २५औं अध्यक्षमा पत्रकार गोविन्द आचार्य निर्वाचित भएका छन् । प्रेस सेन्टर, प्रेस युनियन र प्रगतिशील पत्रकार संघको संयुक्त समूहबाट आचार्य महासंघ अध्यक्षमा निर्वाचित भएका हुन् । कुल १ हजार ५ सय ८ मतदातामध्ये १ हजार ४ सय ४९ मत खस्दा उनले ७३२ मत पाएका थिए । 

‘आमसञ्चारकर्मीको अधिकार सुनिश्चितता र श्रमजीवी पत्रकारको पक्षमा लडिरहन्छु,’ नवनिर्वाचित अध्यक्ष आचार्यले प्रतिबद्धता व्यक्त गरे, ‘महासंघको मुहार परिवर्तन गर्दै महासंघमा सिंगो नेपालको चित्र झल्काउनेछु ।’ 

पत्रकार आचार्यले दाङबाट प्रकाशित युगबोध साप्ताहिक (संवत् २०४८) बाट पत्रकारिता थालेका थिए । २६ वर्षे पत्रकारिता यात्रामा उनले पत्रकार महासंघको २५औं अध्यक्षमा बाजी मार्न सफल भए । उनले महासंघ उपाध्यक्षको भूमिकासमेत निर्वाह गरिसकेका छन् । 

नारायण शर्माद्वारा प्रकाशित युगबोध साप्ताहिकमा वर्ष दिन काम गरेपछि उच्चशिक्षाका लागि उनी काठमाडौं पसेका थिए । बीएल पढ्न काठमाडौं पसेका उनले अध्ययनसँगसँगै पत्रकारितालाई निरन्तरता दिए । क्याम्पसमा पत्रकार ओम शर्मासँग चिनजान/भेटघाटपछि उनी शर्माकै पछि लागेर जनादेश साप्ताहिक कार्यालय पुगेका थिए । जनादेश साप्ताहिक व्यवस्थापक, सहसम्पादक हुँदै ०५८ मा जनादेशको सम्पादक भए ।

पत्रकारिता गर्नेक्रममा मातृभूमि र समीक्षा साप्ताहिकमा काम गरे । मातृभूमिका सम्पादक गोविन्द वियोगी र समीक्षाका सम्पादक मदनमणि दीक्षितको संगतले पत्रकारितामा आफूलाई तिखार्ने मौका पाए । उनले मातृभूमि र समीक्षामा राजनीतिक समाचार लेख्थे भने जिल्लाका समाचार सम्पादनसमेत गर्थे ।

एकताका नेपाल तारा साप्ताहिकमा सहसम्पादकको भूमिकासमेत निर्वाह गरे । ०५८ देखि ०५९ सम्म जेलजीवन बिताएका उनले जेलमुक्त भएपछि खुला रूपमा पत्रकारिता गर्न सकेनन् । त्यसपछि जनताबीच रहेर पत्रकारिता गरे । शान्तिप्रक्रियालगत्तै जनदिशा दैनिक सम्पादकको भूमिका निर्वाह गरेका थिए । ०५० देखि पत्रकार महासंघ साधारण सदस्य रहेका उनी ०५१ मा काठमाडौं जिल्ला सदस्य निर्वाचित भएका थिए । ०५४ मा कोषाध्यक्षको भूमिका निर्वाह गर्ने अवसर पाए । त्यसयता उनी २६ वर्षदेखि निरन्तर पत्रकारिता गर्दै आएका छन् । 

समस्यामा जेलिएका पत्रकारको समस्या समाधान गर्ने उपाय थुप्रै छन् । उपाय कार्यान्वयन गर्ने इच्छाशक्ति चाहिन्छ । उनको बुझाइ छ, ‘पत्रकार महासंघलाई श्रमजीवी पत्रकारको ट्रेड युनियनका रूपमा दर्ता गर्न सकिन्छ । श्रमजीवी पत्रकारका मुद्दालाई ट्रेड युनियन अधिकारसँग जोडेर लैजान सकियो भने पत्रकारको समस्या समाधान गर्न सकिन्छ । मैले नेतृत्व गरेको महासंघले उल्लिखित काम प्राथमिकतासाथ गर्ने योजना बनाएको छु ।’ 

श्रमजीवी पत्रकारका पेसागत हक, हित र अधिकारको ग्यारेन्टी गर्न लागिपर्ने दाबी गर्दै उनले पत्रकारिता र पत्रकारको समस्या समाधान गर्न जागरुक बन्ने दाबी गरेका छन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पूर्ण ग्यारेन्टी गर्न भरमग्दुर प्रयास गर्ने उनको मान्यता छ । 

श्रमजीवी पत्रकारका लागि बनेको न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष, श्रमजीवी पत्रकार नियमावली बनाउँदासमेत उनी संलग्न थिए । सूचनाको हकसम्बन्धी नियमावली बनाउनमात्रै होइन, नयाँ आमसञ्चार नीति निर्माणकार्यमा कमिटीमै बसेर काम गरे । त्यही कार्यदलअन्तर्गत समानुपातिक विज्ञापन नीति र छापामाध्यमका समस्या समाधानार्थ उनले भूमिका खेलेका थिए । 

प्रेस काउन्सिल सदस्य, क्रान्तिकारी पत्रकार संघ पूर्वअध्यक्ष, प्रेस सेन्टर पूर्वउपाध्यक्षको भूमिका निर्वाह गरेका उनले सुनाए, ‘पत्रकारिता क्षेत्रको समस्या के हो ? समाधान गर्ने उपायबारे जानकार छु ।’

‘श्रमजीवी पत्रकारका समस्या भनिसाध्य छैन । न्यूनतम पारिश्रमिक पाउँदैनन् । तोकिएको पारिश्रमिकसमेत नपाउनेको बाहुल्य छ । बिदालगायत सुविधा पाउनु त धेरै परको कुरा भयो,’ उनले थपे, ‘उनीहरूले नियुक्तिपत्रसमेत पाउँदैनन् । त्यसो भएपछि कुन बेला कामबाट निकालिनुपर्ने हो थाहा छैन । उनीहरूको भौतिक सुरक्षाको ग्यारेन्टी छैन । महासंघको नयाँ नेतृत्वले यसको पक्षमा काम गर्नेछ ।’

समस्यामा जेलिएका पत्रकारको समस्या समाधान गर्ने उपाय थुप्रै छन् । उपाय कार्यान्वयन गर्ने इच्छाशक्ति चाहिन्छ । उनको बुझाइ छ, ‘पत्रकार महासंघलाई श्रमजीवी पत्रकारको ट्रेड युनियनका रूपमा दर्ता गर्न सकिन्छ । श्रमजीवी पत्रकारका मुद्दालाई ट्रेड युनियन अधिकारसँग जोडेर लैजान सकियो भने पत्रकारको समस्या समाधान गर्न सकिन्छ । मैले नेतृत्व गरेको महासंघले उल्लिखित काम प्राथमिकतासाथ गर्ने योजना बनाएको छु ।’ 

महासंघको नेतृत्वमा पुगेपछि उनले गर्नैपर्ने कामको लामो सूची र योजनाबद्ध योजना तयार पारेका छन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्ने उनको पहिलो उद्देश्य हो । उनको बुझाइ छ, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी नभए अन्य स्वतन्त्रता ग्यारेन्टी हुँदैन ।’ 

श्रमजीवी पत्रकारको हक, हित र अधिकार पूर्ण रूपमा लागू गर्ने योजना उनले दोस्रो प्राथमिकतामा राखेका छन् । पत्रकारिता क्षेत्रका पेसागत संघ÷संगठनले अघिसारेका एजेन्डा कार्यान्वयन गर्नु उनको दायित्व हुनेछ । यसैगरी, सञ्चारको पुनःसंरचना गर्ने योजनालाई चुनौतीका रूपमा अघिसारेका छन् । सञ्चारलाई पुनःसंरचना गरी संघीय ढाँचामा लगेर सञ्चारका सबै अधिकार गाउँगाउँमा पुर्याउने सपना साकार पार्न उनीसँग अर्थपूर्ण योजना छन् ।

पदमात्रै होइन, समानुपातिक सहभागितामा जोड्दै पत्रकार महासंघमा सिंगो नेपालको चित्र झल्काउने उनको अभीष्ट छ । ‘महासंघमा आदिवासी जनजाति, महिला, मधेसी, दलितलगायतको सहभागिता देखिनुपर्यो,’ उनको दाबी छ, ‘अनुहारमात्रै होइन, उनीहरू नीतिगत रूपमा प्रमुख भूमिकामा देखिनुपर्छ ।’ 

पत्रकार महासंघलाई पूर्ण रूपमा संरचना गर्दै व्यावसायिक मर्यादा, पेसागत सुरक्षालगायत विषयमा गहन योजना बनाएका छन् । यसबाहेक साना लगानीका सञ्चारमाध्यमका हित, मोफसलका सञ्चारमाध्यमका हित, समानुपातिक विज्ञापन नीतिलगायत पत्रकार महासंघलाई पूर्ण समानुपातिक ढाँचामा लैजान प्रयत्न गर्ने उनले प्रतिबद्धता जनाए ।

पत्रकार महासंघ उपाध्यक्ष रहँदा गोविन्द आचार्यले नेपालगन्जमा विधान संशोधन गर्दा समावेशी मुद्दा उठाएका हुन् । त्यसपछि पहिलोपटक महासंघमा समावेशीतर्फ नेतृत्वमा पुग्ने कोटा छुट्याइएको थियो । ‘महासंघमा अहिलेसम्म समावेशी प्रावधान राखिए पनि यो आंशिकमात्रै हो,’ उनको ठम्याइ छ, ‘पूर्ण समावेशी बनाउन सकिएको छैन । महासंघको नेतृत्व गर्ने अवसर पाएको छु । सहायकमात्रै होइन, प्रमुख पदमै समावेशी मुद्दालाई सम्बोधन गर्न सामूहिक रूपमा छलफल चलाएर सम्बोधन गर्ने प्रयत्न गर्नेछु ।’ 

पदमात्रै होइन, समानुपातिक सहभागितामा जोड्दै पत्रकार महासंघमा सिंगो नेपालको चित्र झल्काउने उनको अभीष्ट छ । ‘महासंघमा आदिवासी जनजाति, महिला, मधेसी, दलितलगायतको सहभागिता देखिनुपर्यो,’ उनको दाबी छ, ‘अनुहारमात्रै होइन, उनीहरू नीतिगत रूपमा प्रमुख भूमिकामा देखिनुपर्छ ।’ 

सञ्चारमाध्यम निजी हुँदैनन् । निजी लगानीमा सञ्चालित भए पनि जनता (पाठक) का लागि हुन् । जनताका आवाज सञ्चारमाध्यबाट पस्कने हो । सञ्चारमाध्य आवाजविहीनका आवाज बन्नुपर्छ÷हुन् । सम्बन्धित सञ्चारमाध्यमको समाचार कक्षमा सिंगो मुलुकको चित्र चित्रित हुनुपर्छ ।

थिचोमिचो र उत्पीडनमा पारिएकालाई उकास्न सम्बन्धित समुदायका पत्रकारको उपस्थिति बलशाली हुन्छ । तसर्थ, उनीहरूलाई विशेष अधिकार दिनुपर्छ । उनीहरूको आवाज बुलन्द पार्न सम्बन्धित समुदायका पत्रकार भए ‘पलासको फूलमा सुगन्ध’ जस्तै हुन्छ । उनको जिकिर छ, ‘सञ्चारमाध्यमका समाचार कक्ष समावेशी बनाउन अनिवार्य सर्तजस्तै बनाइनुपर्छ ।’

पत्रकार महासंघ पत्रकारको साझा थलो हो । त्यहाँ जाँदा पत्रकार महासंघको विधान शिरमा राखेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मिसन र महासंघ विधानले राखेका उद्देश्य पूरा गर्न जानुपर्छ । त्यहाँ जाँदा पार्टीको विचार र एजेन्डा कार्यान्वयन गर्न नभएर प्रेस स्वतन्त्रताको मूल्य मान्यताअनुरूप काम गर्नुपर्छ । आफूले त्यसै गर्ने उनले बताए । महासंघलाई कुनै पनि दलको पेवा नभएर साझा र श्रमजीवी पत्रकारको हितैषी बनाउने उनको महत्वाकांक्षा छ । पत्रकार र नेपाली सञ्चारमाध्यमका जे/जति समस्या छन्, समाधानका लागि महासंघलाई जिउँदो संस्था बनाउँदै उसले थालेका राम्रा कामलाई निरन्तरता दिनेमा उनी प्रस्ट छन् । 

पत्रकार आचार्य महासंघ अध्यक्षमा निर्वाचितपछि ‘क्लिन फिड’ लागू गर्ने जिकिर गरेका छन् । उनले दाबी गरे, ‘क्लिन फिड नेपालमा लागू गर्न असम्भव छैन । केबल व्यवसायीले केही समयका लागि छलफल गरी तयारी गर्ने समय मागेका छन् । यसलाई कुनै पनि बहानामा रोक्न सकिँदैन । यो सञ्चारमाध्यममात्रै होइन, राष्ट्रिय हितमा छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप