कविता : बुबा, क्रान्ति र समय
-नारायण पौडेल
आज सुनिदैन बुबाको मुखबाट मालेमावादको सैद्घान्तिक गाथा,
सुनिन्छ त केबल संस्कृतका भजनहरु ।
हिजोको द्वन्द्वात्मक भौतिकवाद बिर्सन बाध्य छन् यहाँ कयौं बुबाहरु
किनकी त्यो दर्शनले दिएका चोटहरु आलै छन् आज ।
बुबा चाहनुहुन्न युद्घमोर्चाका कुराहरु बाँड्न
उहाँ त आज तल्लीन हुनुहुन्छ भैरव अर्यालको जीवनी गाउन ।।
बुबा सुन्नुहुन्न आज सामना परिवारका गीतहरु,
उहाँ त आज भजनमा रमाउने रे !
भागवत्, गीता, पुराण सुन्न जाने रे !
र घरमा लाखबत्ती बाल्ने रे !
बुबा गर्नुहुन्न जनवादी शिक्षाको प्रचार आज
किनकी उहाँ आफै पढ्दै हुनुहुन्छ आधुनिक भनिने शिक्षा
र ५० वर्षमा लगाउँदै हुनुहुन्छ अवैज्ञानिक भनिएको टोपी दीक्षान्तको ।
बुबा निकाल्दै हुनुहुन्छ खाडलमूनि गाडिएका शैक्षिक प्रमाणपत्रहरु,
टक्टकाउँदै हुनुहुन्छ धुलो अनि राख्दै हुनुहुन्छ सिरानीमा ती प्रमाणपत्रहरु ।।
बुबा दाँज्नुहुन्न सँगैका सहयोद्घाका प्रगतिसँग आफ्नो,
बरु बलवान समयलाई धन्य भन्दै जीवनबोध भएकोमा चकित हुनुहुन्छ ।
मर्दामर्दै बाँचेकोमा खुसी हुनुहुन्छ बुबा,
र नाफाको जिन्दगीमा रमाउँदै हुनुहुन्छ आज ।
बुबा कसैलाई दोष दिनुहुन्न आज,
र पश्चातापको कथा बाँड्नुुहुन्न बुबा यस्तै कयौं बुवाहरु मौन छन् यहाँ
यसको अर्थ बुबाहरु निदाएका हैनन ।।