पार्टी एकता आवश्यक : सभापति देउवा
जनकपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसभित्र एकता आवश्यकता रहेको बताएका छन् । उनले पार्टीभित्रका गुटबन्दी अन्त्य गरि एकजुट हुनुको विकल्प नरहेको समेत बताए ।
शनिवार धनुषाको सबैलामा नेपाली काङ्ग्रेस धनुषाले आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा आन्तरिक एकता भएमा काङ्ग्रेसलाई कसैले डगमगाउन नसक्ने बताएका हुन् ।
नेता बलराम नायकको श्रद्धाञ्जलीसभामा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले केपी ओलीको एकलौटी शासनशैलीको कारण लोकतन्त्रमाथि संकट देखिएकाले समेत पार्टी एकजुट हुनुको विकल्प नरहेको स्पष्ट पारे । ओली संघीयतामाथि नै हमला गर्न उद्धत रहेको देउवाले आरोप लगाए ।
उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले प्रजातन्त्रमाथि आक्रमण गरेको छ । कानुनहरु संशोधन गरेर संघीयता मास्न खोजेको छ ।’
लोकतन्त्र र संघीयता जोगाउन कांग्रेस एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको बताउँदै उनले कम्युनिस्ट सरकारले हरेक आयोग गठन गर्न एकलौटी गरेको आरोप समेत लगाए ।
त्यस्तै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिस्ट नेतृत्वको सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख रहेको आरोप लगाए । मधेस र मधेशी जनताका कुरा सुन्नै नसक्ने ओली सरकारविरुद्ध एकजुट भएर आन्दोलन गर्नुपर्ने बाहेकको कुनै बिकल्प नरहेको बताए ।