सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्ता छन् सेलिब्रेटीका तीज योजना

मङ्गलबार, ०६ भदौ २०७४, १३ : १९
मङ्गलबार, ०६ भदौ २०७४

हिन्दु नारीहरुको महत्वपूर्ण चाड तीज नजिकिँदै छ । महिला दिदीबहिनीहरु  दर खाने, खुसी साटासाट गर्नेदेखि उपहार आदान–प्रदान गर्नसमेत व्यस्त रहन थालेका छन् । कोहीलाई तीजको रौनकले महिना दिन अगाडिदेखि नै छोएको छ भने कोही कामको चटारोले तीजको दिनमा मात्र फुर्सद निकाल्ने कसरतमा छन् । यो चाडले हाम्रा केही सेलिब्रेटीलाई भ्याइ नभ्याइ बनाएको छ भने कोही फुर्सद निकालेर परिवारसँग तीज मनाउने योजनामा छन् । के कस्ता रहेका छन् कलाकार अर्थात् सेलिब्रेटीका तीज योजना उनीहरुकै शब्दमा

कोमल ओली (गायिका)

मलाई त केही दिन अगाडिदेखि नै तीज लागिसक्यो । अहिले तीजका कार्यक्रमले भ्याइ नभ्याइ छ । तीज मेरो मनपर्ने चाड पनि हो । यो चाड परिवारसँग मनाउँदा निकै रमाइलो हुन्छ । यसपालिको तीजका लागि विशेष योजना केही छैन मेरो । व्रत बस्ने, मन्दिर जाने, शिवजी पुकार्ने हो ।

करिस्मा मानन्धर (अभिनेत्री)  

अहिलेसम्म केही योजना बनाएकी छैन । मेरो तीज एक महिना अगाडिदेखि सुरु भइसकेको छ । तीजको कार्यक्रमले अहिले भ्याइ नभ्याइ छ । तीजको दिन घरमै मनाउँछु । छिमेकी दिदीबैनीलाई घरमा भेला गरेर रमाइलो गर्छु । तीजका लागि भनेर सपिङ केही गरेकी छैन । अरुले तीजको गिफ्ट धेरै दिएका छन् । त्यसैले पनि सपिङ गर्नु पर्दैन । तीजमा म व्रत बस्दिनँ । अलिअलि खाएर बस्ने, नाचगान गर्ने हो । मन्दिर पनि जान्छु । घर नजिकको शिव मन्दिरमा गएर रमाइलो गर्छु । तीजको नाचगान मनपर्छ ।

ज्योती मगर (गायिका)

तीज मेरो मनपर्ने चाड हो । पहिले व्रत बस्थे । अहिले बस्दिनँ । तीजका लागि सपिङ गर्नुपर्दैन । किनभने तीजका कार्यक्रम लागि भनेर केही पहिले धेरै सपिङ गरेकी छु । केही ड्रेस त आफ्नो इच्छा अनुसारको बनाए । यसपालि पनि तीज म काठमाडौँमै मनाउँछु । तीजको दिन मलाई भ्याली बाहिर जान त्यति मन लाग्दैन । यो तीजमा मच्जाले नाच्ने विचार छ । टेलिभिजन च्यानलहरुले आयोजना गर्ने विभिन्न तीजको कार्यक्रममा सहभागी हुन्छु । दिदीबहिनी, फ्यान आदिले आयोजना गरेको कार्यक्रम पनि भ्याउँछु । तीजको दिनसम्म पनि कार्यक्रम थियो, केही पहिलेसम्म । तराईमा गएको बाढीले केही कार्यक्रम स्थगित भयो । आफन्त, परिवार र साथीभाइसँग यसपालिको मेरो तीज विशेष हुनेछ ।

निता ढुङ्गाना (अभिनेत्री) 

अहिलेसम्म केही योजना छैन । केही कार्यक्रममा जानु पर्नेछ । त्यसमा सहभागी हुन्छु । विगतका वर्षहरु जस्तै घरपरिवारसँग रमाइलो गर्दै मनाउने विचार छ । भर्खर म बैङ्ककबाट फर्किएकी हुँ । तीजका लागि भनेर विशेष केही सपिङ गरिनँ । तर टन्नै सपिङ गरेर फर्किएकी छु । तीज मात्र होइन, दशैँलाई पनि पुग्छ । जहिलेदेखि तीजको महत्व बुझेँ, त्यो समयदेखि मनाउँदै आएकी छु । १४ वर्षको उमेरदेखि व्रत बस्न थालेकी हुँ । व्रत बस्नु स्वस्थ्यका लागि पनि लाभदायक हुन्छ । धेरै समयसम्म भेट नभएका दिदीबहिनीलाई भेट गराउने यो पर्वको विशेष महत्व छ, हाम्रो समाजमा ।    

माण्डवी त्रिपाठी (गायिका) 

यो पटकको तीज मेरो युरोपको विभिन्न शहरको कार्यक्रममा बित्नेछ । अहिले पनि युरोपको साङ्गीतिक टुरमा छु । टुरमै देशमा गएको बाढीपीडितका लागि राहतका लागि एनआरएनसँग अनुरोध गरिरहेकी छु । कलाकार भएपछि विभिन्न कार्यक्रममा जानुपर्ने हुन्छ । त्यसैले तीजका लागि भन्दा पनि कार्यक्रममा लागि विभिन्न पहिरन गरगहना किनेकी छु । व्रत त बस्छु तर अन्धभक्त भने होइन म । व्रत बस्नु स्वास्थ्यका लागि राम्रो हो । यो चलनले आफ्नो संस्कृति पनि जोगाइरहेको छ । तीजमा सानैदेखि व्रत बस्दै आएकी छु । आमाबुबा, हजुरमुमा धर्मकर्ममा विश्वास गर्ने भएकाले पनि मलाई यो प्रभाव परेको हो । व्रत बस्नु एउटा चलन हो । मेरो विचारमा नसक्नेले व्रत नबस्दा हुन्छ । व्रतको वैज्ञानिक महत्व सबैले बुझ्नु जरुरी छ ।

रक्षा श्रेष्ठ (कलाकार, मोडल) 

मैले अहिलेसम्म तिज मनाएकी छैन । त्यसैले तीजको योजना पनि केही छैन । तीजको दिन सुटिङ पनि पर्छ होला । पहिलो चोटि आज (आइतबार) तीज कार्यक्रमा सहभागी भएँ । रमाइलो लाग्यो । तीजको बारेमा खासै केही थाहा छैन । व्रत बस्दिनँ । दर खाइन्छ । व्रतमा पानी पनि खान हुँदैन भन्ने सुनेकी छु । तीजको बारेमा मलाई अरु केही थाहा छैन ।

दुर्गा खरेल (गायिका) 

योजना त खासै छैन । दिदीको घर यहीँ राजधानीमा पर्छ । दिदीको घरमा गएर तीज मनाउने विचार छ । आफ्ना लागि सपिङभन्दा पनि दिदीका लागि गरिदिएकी छु । दिदीले मेरा लागि सपिङ गरिदिनुभएको छ । व्रत बस्दिनँ । भगवानलाई मनबाट नै सम्झन्छु । सबैको राम्रो होस् भनेर मनाउँदै आएको यो चलन राम्रो लाग्छ । यो चलनले गर्दा टाढा टाढाका दिदीबहिनी, आफन्तसँग भेट गर्न पाइन्छ । दिल खोलेर एकअर्कासँग खुसी साट्न पाइन्छ । यो हाम्रो संस्कृति पनि हो । यसको जगेर्ना गर्नुपर्छ । वर्षको एक पटक आउने यो चार्ड मलाई एकदमै रमाइलो लाग्छ ।

रजनी केसी (अभिनेत्री) 

तीज मेरो मनपर्ने चाडमध्येको एक हो । यो चाडमा व्रत बस्ने गरेकी छु । स्कुले जीवनदेखि नै व्रत बस्न थालेकी हँु । त्यो क्रम अहिलेसम्म पनि जारी छ । यो तीजमा धेरै योजना त छैन । तीजका लागि आयोजना भएका केही कार्यक्रममा भाग लिन्छु । आफन्त, नजिकका मानिस र परिवारको दरखाने कार्यक्रम पनि छ । सहभागी हुन्छु । धार्मिक आस्थाका लागि व्रत बस्दै आएकी छु । व्रतले आफ्नो स्वास्थ्य पनि राम्रो हुन्छ भन्ने मेरो धारणा छ । आमा दिदी बहिनीसँग धमाकाको रुपमा मनाइने यो चाड राम्रो लाग्छ । अरुको देखासिकी गर्दै केहीले गरेको तडक भडक देख्दा दुःख लाग्छ । 

भूमिका गिरी (लोक गायिका) 

मैले त परिवारसँग तीज मनाउन नपाएको पनि धेरै वर्ष भयो । कार्यक्रमले गर्दा कहिले कता कहिले कता भइन्छ । यो तीजमा पनि धेरै ठाउँबाट बोलावट आएको छ । तर यसपालिको तीजमा इजरायलमा रहेका दिदीबहिनीसँग मनाउने छु । तीजका लागि आवश्यक सपिङ गरिसकेँ । तीजको भिडियो गर्ने सिलसिलामा सपिङ गरेकी हँु । विवाहित महिलाले पतिको लामो आयुको कामना गर्दै व्रत बस्ने हो । अविवाहितले पनि व्रत बस्छन् । तर म बस्दिनँ । काम गर फलको आस नगर भनेझै म व्रतमा भन्दा पनि कर्ममा विश्वास गर्छु । एक दिन व्रत बस्दैमा असल पति पाइन्छ भन्ने मलाई लाग्दैन । आफ्नो भाग्यमा जे छ त्यो जसरी पनि मिलिहाल्छ । 

लक्ष्मी आचार्य (गायिका) 

यो तीज स्वदेशमै मनाउने विचारमा छु । तीजका कार्यक्रमहरुको भ्याइ नभ्याइ निम्तो छ । सायद बिजी पनि हुन्छु । आफ्नो दिदी बैनीहरुसँग मज्जाले नाच्छु । तीजका लागि पनि विशेष सपिङ गरेकी छु । अहिले चलेका केही पहिरनदेखि लेहेङ्गा चोलीसम्म किनेकी छु । कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले पनि आवश्यकभन्दा बढी केही सपिङ गरेकी हुँ । व्रत बस्छु । यो चलन राम्रो लाग्छ । अरुको लागि भन्दा पनि आफ्नो खुसीका लागि व्रत बस्दै आएकी छु । व्रत बस्न थालेको पनि झन्डै ६ वर्ष भयो । वर्ष दिनमा एक पटक आउने यो चाड मलाई मनपर्छ ।

गीता राई (मोडल)

तीज हामी महिलाहरुको विशेष चाड हो । तीज दिदीबहिनीहरुसँग मनाउन मलाई धेरै रहर छ । यसपालि मनाउँछु भन्ने थियो । तर धेरै कार्यक्रमहरु भएकाले यो अवसर मिल्ला जस्तो लागेको छैन । अफिसले पनि ड्युटी खटाएको छ । आफ्नो श्रीमान्को आयु र स्वास्थ्यका लागि व्रत बस्ने चलन तीजको राम्रो लाग्छ ।  

एन्जेला रेग्मी (गायिका) 

अहिलेसम्म त्यस्तो केही योजना त छैन । गायनको अलावा मैले अध्ययनलाई पनि अगाडि बढाइरहेकी छु । अध्ययनको कारणले तीजको गीत पनि निकाल्न भ्याइनँ । आमाले तिजमा गाउँ आउनु भन्नु भएको छ । गाउँ जाने तयारी गर्दैछु । अहिलेसम्म तीजका लागि सपिङ गर्न भ्याएकी छैन । आफ्ना लागि केही सपिङ र ममीका लागि सरप्राइज गिफ्ट किनेर लाने सोच छ । तीजको व्रत बस्ने गरेकी छैन । यो वर्ष व्रत बस्ने विचार छ । तर यसै भन्न सक्दिनँ । यो चलन ठीक लाग्छ । आफ्नो मनको साथीका लागि व्रत बस्ने हो । व्रतले स्वास्थ्यलाई पनि राम्रो गर्छ भन्ने मेरो धारणा रहँदै आएको छ ।   

निशा लिम्बु पुन (अभिनेत्री, मोडल)

स्पेशल योजना केही छैन । यसको मतलब तीज मनाउदिनँ भन्न खोजेकी होइन । तीज कार्यक्रमहरुमा सहभागी हुन्छु । तीजका लागि अहिलेसम्म केही किनेकी छैन, किन्दिनँ पनि होला । मलाई मन परेको, राम्रो लागेको म जहिले पनि सपिङ गर्छु । यो तीजमा किन्ने, यो अर्काे चाडमा भनेर बस्दिनँ । म किराँती चेली हुँ । हाम्रो सभ्यातामा व्रत बस्ने चलन छैन । व्रत बस्ने भन्ने कुरा व्यक्तिको इच्छाको कुरा हो । मेरो विचारमा आफ्नो मान्छेको स्वास्थ्य र दीर्घायुका लागि व्रत बस्ने चलन रहँदै आएको छ । यो हाम्रो देशको एक संस्कृति हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप