आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एक लाख १३ हजार भूकम्पपीडितको गुनासो सम्बोधन

आइतबार, १३ पुस २०७६, १९ : १८
आइतबार, १३ पुस २०७६

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले सात हजार ४९४ पुनःनिर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ । समितिको यही पुस ११ र १३ गते बसेको बैठकले पुनः जाँच तथा छुट सर्वेक्षण, २०७५ एवं २०७६ बाट सङ्कलित लगतको विश्लेषणबाट विभिन्न जिल्लामा ती लाभग्राही थप भएको प्राधिकरणले जनाएको हो ।
  
प्राधिकरणले तीन हजार ७६ प्रबलीकरण लाभग्राही थप गरेको छ भने ५२ हजार ९९८ गुनासोकर्तालाई गैर लाभग्राही कायम गरेको छ । मङ्सिर तेस्रो साता बसेको समितिको बैठकले ४२ हजार ७४२ गुनासो सम्बोधन गरी चार हजार ६४४ पुनःनिर्माण लाभग्राही थप गरेको थियो ।

यसैगरी दुई हजार ६०९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको थियो । छुट तथा पुनःजाँच सर्वेक्षणअन्तर्गत सङ्कलित कूल एक लाख ८९ हजार लगतमध्ये हालसम्म एक लाख १३ हजार ४३ को निर्णय भइसकेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

“बाँकी गुनासो प्राधिकरणमा खटिएका इञ्जिनियरले विश्लेषण गरिरहेका छन्, पुस मसान्तभित्र सबै गुनासो पुनरावलोकन गरी लाभग्राहीमा समावेश गर्ने नगर्ने निर्णय हुन्छ”, उनले भने । 

लाभग्राही कायम भएका भूकम्पप्रभावित घरधुरीले सम्बन्धित वडामार्फत अनुदान सम्झौता गरी पहिलो किस्ताबापत रु ५० हजार तत्काल प्राप्त गर्नेछन् । 

पुनः जाँच तथा छुट सर्वेक्षणबाट लाभग्राही कायम भएकाले २०७६ माघ मसान्तभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता लिइसक्नुपर्ने प्राधिकरणले जनाएको छ ।

त्यसैगरी, २०७७ वैशाख मसान्तभित्र दोस्रो किस्ता र २०७७ असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने सहप्रवक्ता घिमिरेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप