आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा विशेष समयमा सांसदहरुको प्रतिक्रियाः नेपाली जनता सुतिरहेको बाघ, भारत स्याल

सोमबार, १४ पुस २०७६, १५ : २६
सोमबार, १४ पुस २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका राष्ट्रियसभा सदस्य बद्रिप्रसाद पाण्डेले सत्ता र शक्तिको आडमा विरोधीमाथि आक्रमण गर्ने काम भएको भन्दै तत्काल त्यस्ता कार्य रोकेर संलग्नमाथि कारबाही गर्न सरकारलाई सचेत गराएका छन् ।

 राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले ‘शैक्षिक स्थल बाहुबलको प्रयोग गर्ने थलो होइन यो त विचार र सिद्धान्तको द्धन्द्धात्मक भूमि हो’ भन्ने वीपी कोइरालाको अभिव्यक्ति आज पनि त्यत्तिकै सान्र्दभिक भएको भन्दै शैक्षिक संस्थामा सत्तारुढ दल समर्थित विद्यार्थीले आस्थाको आधारमा प्रतिपक्षी दलका विद्यार्थीमाथि आक्रमण गर्ने क्रम बन्द गर्न सरकारलाई चेतावनी दिए ।

उनले त्रिचन्द्र कलेजका क्याम्पस प्रमुखलाई निर्घात कुटपिट गरिएको, नेपाल कमर्श क्याम्पसका अनेरास्ववियूका विद्यार्थीले नेपाल विद्यार्थी संघका क्याम्पसका अध्यक्ष लगायत विद्यार्थीहरुमाथि आक्रमण गरिएको, रत्नराज्य लक्ष्मी क्याम्पसका नेविसंघका उपाध्यक्षमाथि आक्रमण भएको भन्दै यस्ता घटनामा संलग्न माथि तत्काल कारवाही गर्न माग गरे । शक्ति र सत्ताको संरक्षणमा हुने यस्ता क्रियाकलापले फौजदारी कानुन उल्लंघनकर्तालाई उनमुक्ति दिने काम भएको भन्दै उनले लोकतान्त्रिक शासन व्यवस्थामा विधिको शासनको धज्जी उडाउने र मनोमानी गर्ने छुट सरकारलाई नभएको भन्दै सचेत गराए ।  


नेकपाका सांसद बलरामप्रसाद बास्कोटा मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्दै वर्तमान सरकारले अनेकौ जटिलता, चुनौती र प्रतिकूलताका बाबजुद संविधान कार्यान्वयन लगायत मुलभूत क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको भन्दै सरकारको बचाउ गरे । उनले नेपालको सिमाना भारतबाट मिच्ने काम भएको सन्दर्भमा बृद्ध बाघको पञ्चतन्त्रको कथा उल्लेख गर्दै नेपाली जनतालाई जिस्काउने काम गर्ने चेतावनी समेत दिए ।

उनले भने, ‘वृद्ध बाघ सिकार गर्दिन भनेर सुनको बाला अगाडि राखेर बसेछ । बृद्ध बटुवा साच्चै सिंह सुध्रिएको हो कि भनी सुनको बाला लिने लोभमा जाँदा सिंहले आक्रमण गरेछ । नेपाली जनता भनेको सुतिरहेको बाघ हो । सुतेको बाघलाई नजिस्काउनुहोस् । यदि सुतेको बाघ उठ्यो भने स्यालहरुले कहिल्यै पनि विजय प्राप्त गर्न सक्दैनन् । अर्काको भू–भागमा गिद्धे नजर लगाउनेहरु निश्चित रुपमा स्यालहरु हुन् । स्यालहरुको पराजय सुतिरहेको बाघलाई जिस्काउना साथ निश्चित हुन्छ ।’

उनले उखु किसानको समस्या सम्बोधन गर्न तथा आकासिँदै गएको बजार मूल्य नियन्त्रण गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।  त्यसैगरी कोमल ओलीले उखु किसानको भुक्तानी तत्काल दिने व्यवस्था मिलाउने सरकारको ध्यानाकर्षण गराए ।

प्रमिलाकुमारीले म्याद नसकिँदै नेपाल ट्रष्टको जग्गा यति समूहलाई दिने निर्णयमा सरकारको बद्नियत देखिएको भन्दै आलोचना गरिन् । त्यसैगरी राष्ट्रियसभा सदस्य कालिबहादुर मल्लले स्थानीय तहहरुमा कर्मचारीको चरम अभाव रहेको प्रति सरकारको ध्यानकर्षण समेत गराए । जिल्ला समन्वय समितिहरुमा उपसचिवको दरबन्दी भएपनि नायव सुब्बाले काम गरिरहेको स्मरण गराउँदै मल्लले नगरपालिकाहरुको अवस्था दयनिय रहेको बताए । उनले भने, ‘नगरपालिकामा ओभरसियर छ । त्यसले प्राविधिकको काम पनि गर्नुपर्ने स्थिति छ । लेखाको काम पनि गर्नुपर्ने अवस्था छ । प्रशासनको काम पनि उसैले गरेको अवस्था छ । प्रशासनिक रुपले अझै पनि संघीयतामा जान बाँकी रहेको महशुस भएको छ’ ।

संघीयता कार्यान्वयनमा आउनुभन्दा पहिले ४ हजार गाउँविकास समितिहरुमा आवश्यकता अनुसार कर्मचारी भएपनि अहिले ७५३ तहमा किन कर्मचारी पुगेनन भन्ने तर्फ सरकारले ध्यान दिनुपर्ने उनले बताए ।‘एकातिर कर्मचारी संघमा केन्द्रिकृत हुने अवस्था आयो अर्कोतिर कतिपय जनशक्ति पढेलेखेका छन् । नर्स, अहेब अन्य–अन्य पढेका छन् तर भ्याकेन्सी खुल्दैन् । उनी कि मलेसिया जान्छन् वा अष्ट्रेलिया गएर काम गर्छन् । इन्जिनियर पढेका अन्यत्र गएर काम गर्दैछन्’, उनले भने, ‘अब सरकारले कर्मचारीलाई यथासक्य स्थानीय तहहरुमा पठाउन कुन विधि अपनाउनुपर्ने हो । सबै प्रयोग गर्नुपर्छ । केन्द्रमा यत्रो कर्मचारी राख्नुको आवश्यकता छ वा छैन्, त्यसको समीक्षा पनि गर्नुपर्छ ।’

यस्तै, राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लालले यो देश किसानहरुको हो की होइन भन्दै प्रश्न गरे । उखु किसानहरुले लामो समयदेखि भुक्तानी नभएको भन्दै आन्दोलन गरिरहेको स्मरण गर्दै उनले भने, ‘यो देश किसानहरुको हो कि होइन ? यदि किसानहरुको हो भने किसानले खेती गर्छ उत्पादन गरेर दिन्छ तर त्यसको मूल्य नै पाउँदैनन् र लागतमा पनि ब्याज तिर्नुपर्ने अवस्था हुन्छ भने किसान कसरी बाँच्छ ? यो देशमा कृषिको उत्पादन कसरी अगाडी बढ्छ ? सरकारले किन ध्यान दिन सकेको छैन ।’ किसानहरुलाई मजदूर बनाएर विदेश पठाउने वातावारण सरकारले बनाउन खोजेको आरोप उनले लगाए ।

राष्ट्रियसभा सदस्य दिलकुमारी रावलले चितवन राष्ट्रिय निकुञ्जभित्र यो वर्ष ४५ एकसिंगे गैडाको मृत्यु भएको विषयमा सत्यतथ्य बुझ्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराइन् । राष्ट्रियसभा सदस्य रामप्रित पासवानले सरकारले संविधान संशोधन गर्ने सम्झौताबाट एकलौटी पछि हटेको भन्दै चिन्ता व्यक्त गरे ।

‘मधेशी, आदिवासी, अल्पसंख्यक तथा दलित समुदाय लगायत अधिकार प्राप्त गर्न का लागि पर्खेका थिए तर सरकारले त्यसलाई चक्नाचुर बनाएको छ’, उनले भने, ‘नेपाली जनताहरुको जनजीवन कष्टकर बन्दै गएको छ । सूर्यबाट जुन आस हुन्छ, जुन ताप जनताहरुले पाउनुपर्ने हो, त्यो ताप र राप जनताले पाउन छोडेको छ । जनताको जनजीवन सूर्य आतंकले आतंकित बनेको छ ।’

राष्ट्रियसभा सदस्य कमला ओलीले हुलाकी राजमार्ग, पूर्वपश्चिम राजमार्ग, मदनभण्डारी राजमार्ग, सेती राजमार्ग आर्थिक विकासका लागि महत्वपूर्ण भएपनि काम सुस्त गतिमा अघि बढिरहेको बताइन् । उनले सेती राजमार्गको फाइल विभिन्न बाहनामा मन्त्रालयमा थन्किएको प्रति ध्यानाकर्षण गराइन् ।

राष्ट्रियसभा सदस्य विमला राई पौडेलले एमसीसी परियोनाका विषयमा अनावश्यक विवाद गर्नुभन्दा सम्झौतामा भएका के कस्ता कुरा सच्याउने भन्ने कुरामा बसह गरेर अगाडी जानुपर्ने बताइन् । कसैको डर धम्कीमा नपरी देशको आवश्यकताअनुसार खर्च गर्नका लागि तयारी गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप