सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय समिति बैठक बिहिबार, यथास्थितिमा असन्तुष्ट पक्ष सहभागी नहुने

मङ्गलबार, १५ पुस २०७६, १५ : ३५
मङ्गलबार, १५ पुस २०७६

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार दिउँसो २ बजे बस्ने भएको छ । संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच विवादका बीच केन्द्रीय समिति बैठक अघि बढाउने निष्कर्षमा संस्थापन पक्ष पुगेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वमा रहेको असन्तुष्ट पक्षका दुई समूह नै संस्थापन पक्षले पार्टीमा एकलौटी निर्णय गर्न उद्यत रहेको भन्दै बैठकमा सामेल नहुने बताउँदै आएका छन् । आन्तरिक विवादका कारण काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

खासगरी पुस ११ गते बसेको बैठकले केन्द्रीय विभागहरु गठन गर्नुका साथै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि असन्तुष्ट पक्ष थप चिढिएको छ । असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउने उद्देश्यले सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई छलफलका लागि परिचालन गरे पनि सार्थक निष्कर्ष निस्कन सकेको छैन ।

सोमबार निधिले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेको भए पनि असन्तुष्ट पक्षले पुस ११ गते बसेको केन्द्रीय समितिबाट भएका निर्णय सच्याउनुपर्ने अडान राख्दै आएको छ । यसै विषयमा सोमबार कृष्णप्रसाद सिटौलासहित असन्तुष्ट पक्षका आधा दर्जनभन्दा बढी नेताबीच छलफल भएको थियो ।

उनीहरुले आपसमा एकजुट भएर नेतृत्वलाई दबाब दिने रणनीति बनाएका छन् । यथास्थितिमा केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी नहुने उनीहरुको रणनीति छ । ‘संस्थापन पक्षसँग हुने वार्तामा हामी सामूहिक रुपमा सहभागी हुने, सहमति हुने अवस्थामा पनि सामूहिक रुपमै गर्ने रणनीति बनाएका छौँ,’ असन्तुष्ट पक्षका एक नेताले रातोपाटीसँग भने, ‘एक्लाएक्लै गएर संस्थापन पक्षसँग वार्ता गर्ने पक्षमा छैनौँ ।’

उनले बिहीबार बोलाइएको केन्द्रीय समिति बैठकमा आफूहरु सहभागी हुने योजना नरहेको पनि प्रष्ट पारे । वरिष्ठ नेता पौडेलले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा असन्तुष्ट पक्षका नेताहरुसँग छलफल गर्दैछन् । छलफलबाट साझा रणनीतिलाई अझ परिमार्जन गरेर एकजुट हुने ती नेताको भनाइ छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार सूचना जारी गर्दै पुस १७ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने जनाएका छन् । बैठकमा सहभागिताका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकको एजेण्डा नखुलाइए पनि राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा छलफल हुने स्रोतको भनाइ छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप