गुटको सभापति नबन्न भन्दै सिटौलाले बुझाए देउवालाई ४ बुँदे सुझावसहित ध्यानकर्षण पत्र (पत्रसहित)
काठमाडौँ । काँग्रेस नेता तथा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले पार्टीभित्र रहेको पछिल्लो विवाद समाधान गरी काँग्रेसलाई एकढिक्का बनाउन सभापति शेरबहादुर देउवासमक्ष आग्रह गरेका छन् ।
सिटौलाले सभापति देउवालाई मंगलबार ४ बुँदे सुझावसहितको एक ध्यानाकर्षणपत्र बुझाउँदै पार्टीमा बृहत एकता र सहमतिबाट निर्णय गर्ने परिपाटी बसाल्न आग्रह गरेका हुन् ।
पछिल्लो समय देउवाले बहुमतको आडमा केन्द्रीय समितिबाट महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नेदेखि विभाग गठनलगायतको महत्वपूर्ण निर्णय गरेपछि संस्थापन इतरका पक्षले चर्को विरोध गरिरहेको बेला सिटौलाले देउवालाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
‘पार्टीको केन्द्रीय तहमा भएको विवादले देशभरीका साथीहरुलाई निराश बनाएको छ । पार्टीभित्र देखिएको बहुमत र बहिस्कारको स्थितिको तत्काल अन्य गरी सम्पूर्ण साथीहरुमा उत्साह जगाउने गरी प्रतिपक्षका सार्वजनिक कार्यक्रम अभियानको रुपमा सञ्चालन गर्न आवश्यक छ । यसका लागि पार्टीभित्र वृहत एकता र सहमतिबाट निर्णय गर्ने परिपाटी बसाउनुपर्छ’, सिटौलाले ध्यानाकर्षणपत्रमा भनेका छन् ।
सभापति देउवाको अबको पहिलो र प्रमुख जिम्मेवारी १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने रहेको भन्दै सिटौलाले गुटको नेता नभइ नेपाली काँग्रेस पार्टीको सभापति बन्न समेत देउवालाई आग्रह गरेका छन् । ‘१३ औं महाधिवेशनबाट सभापतिको रुपमा निर्वाचित तपाईँको अबको पहिलो र प्रमुख जिम्मेवारी १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने हो । यो जिम्मेवारी पूरा गर्न तपाईँ कुनै गुटको होइन, नेपाली
काँग्रेको पार्टी सभापति हो भन्ने कुराको स्मरण गरेर सबै पूर्वाग्रहबाट मुक्त भएर प्रत्येक निर्णय गर्दा उदार र कुशलतापूर्वक गनुपर्छ,’ उनले भनेका छन् ।
उनले पार्टीको बृहत्तर एकतालाई मजबुद बनाउन पार्टीको विधान र सो अनुरुप सहमतिबाट निर्णय गर्नका लागि पहलकदमी लिन पनि आग्रह गरेका छन् ।
यस्तै सिटौलालो पार्टीका भ्रातृसंस्था, शुभेच्छुक संस्थालगायतलाई नियममित रुपमा वैधानिक रुपमा चयन गर्ने वातावरण बनाउन, पार्टीका केन्द्रीय विभाग र समिति वा अन्य कुनैपनि संरचना निर्माण गर्दा सहमतिको आधारमा विधान बमोजिम गर्न र महाधिवेशनको कार्यतालिका सच्याउन पनि माग गरेका छन् ।
सरकारको तर्फबाट प्रस्तुत विधेयकहरु र शासकीय शैलीले लोकतान्त्रिक मूल्यमान्यता नै कमजोर भएको उल्लेख गर्दै सिटौलाले यसबाट हुनसक्ने दुर्घटनालाई रोक्ने दायित्व पनि काँग्रेसको हुने भन्दै यसका लागि पार्टीमा स्पष्टता र एकता अपरिहार्य रहेको बताएका छन् ।
तर पार्टीभित्र एकता हुन नसकिरहेको भन्दै सिटौलाले यसले सरकारविरुद्धको पार्टीको आवाज कमजोर बनाउन सक्ने सम्भावना औंल्याएका छन् ।