आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् नहोस्:  अर्थमन्त्री खतिवडा

बुधबार, १६ पुस २०७६, १६ : ००
बुधबार, १६ पुस २०७६

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले ऐन कार्यान्वयनमा नआउँदै शंका उपशंका गर्न उपयुक्त नहुने बताएका छन् । राष्ट्रियसभामा पेश भएको ‘नेपाल विशेष सेवा विधेयक २०७६’ माथि उठेको प्रश्नहरुको जवाफ दिँदै उनले विधेयकमा भएको प्रावधानहरु लोकतान्त्रिक विधिबाट कार्यान्वय हुने बताए ।

कतिपय कानुनहरु कार्यान्वयन तहमा जाँदा समस्या देखिएमा संशोधन गर्ने गरिएको बताउँदै उनले कानुन निर्माणको चरणमा यसमा भएको राम्रा कुराहरुलाई अपवादका रुपमा लागू हुन्छ कि भनेर आशंका नगर्न आग्रह गरेका छन् ।

उनले भने, ‘कार्यान्वयनको तहमा नै नआइ हामीले शंका आशंका पूर्व अनुमान गर्नु उपयुक्त नहोला । कतिपय कानुन कार्यान्वयन गर्दै जाँदा केही समस्या पनि आउन सक्छन् त्यसैले संशोधनमा लाने पनि गरेका छौँ । तर कानुन निर्माणको चरणमा यसमा भएको राम्रा कुराहरुलाई अपवादका रुपमा लागु हुन्छ कि ? भन्ने आशंका नगर्न आग्रह गर्दछु ।’ 

अर्थमन्त्री खतिवडाले संविधानमा भएको मैलिक हक, गोपनियताका हकसम्बन्धि व्यवस्थाहरुलाई प्रतिकूल असर पर्नेगरी कानुन नबन्ने दाबी समेत गरे । लोकतान्त्रिक विधिबाट जननिर्वाचित सांसदहरुले बनाएको सरकारले बनाएका कानुन प्रयोग गर्ने विधि पनि लोकतान्त्रिक नै हुने भन्दै उनले भने, ‘कानुनमा राम्रा दफा भएर मात्रै हुँदैन् । त्यसलाई प्रयोग गर्ने सरकारले आफ्नो विवेक कसरी गर्छ । कति लोकतान्त्रिक विधिबाट राज्य सञ्चालन गर्छ, त्यसमा ती कानुननका दफाको प्रयोग सुनिश्चित हुन्छ ।’

सरकारले मौलिक हकलाई सुरक्षित र सुव्यवस्थित गर्न कानुन ल्याएको बताउँदै खतिवडाले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् नहोस् भन्नेतर्फ पनि सबैले ध्यान दिनुपर्ने बताए । ‘आफ्नो प्रयोग गर्दा अर्को नागरिकलाई हानी नोक्सानी नहोस् । सामाजिक सद्भाव नखल्बलियोस र राष्ट्रिय सुरक्षामा आँच नपु¥याओस भन्ने हिसाबले मौलिक हकभित्र नागरिकका दायित्व पनि त हुँदा हुन्’ उनले भने ।

प्रतिपक्षि दलका सांसदहरुले विरोधीलाई फसाउन कानुन ल्याएको बताइरहँदा खतिवडाले लोकतान्त्रिक प्रकृयामा त्यस्तो नहुनेमा ढुक्क हुन आग्रह गरे । अहिलेको अवस्थामा कसैले कसैलाई चाहेर पनि फसाउन सक्ने अवस्था नभएको र कुनै कालखण्ड (राणाकाल) मा जस्तो विरोधी फसाउने पो होकी भन्ने आशंका नगर्न उनले बताए । प्रतिनिधिसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप