सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

श्रीमतीसँग कुरा गर्दागर्दै गोली चल्यो, अनि फोन अफ भयो

जम्मु कश्मीरमा नेपालीको मृत्यु : लाहुरे त बने, खुसी टिकेन
बिहीबार, १७ पुस २०७६, १२ : ३१
बिहीबार, १७ पुस २०७६

काठमाडौँ । नयाँ वर्षको पहिलो दिन मङ्गलबार भारतको जम्मू कश्मीरमा भएको आतङ्कवादी आक्रमणमा परी गोरखा नगरपालिका–५ ठूलोरिपका अर्जुन थापा मगरले ज्यान गुमाए ।

जम्मु कश्मीरको नौशेरामा मङ्गलबार राति आतङ्कवादी हमलामा अर्जुनको ज्यान गएको खबरले यतिबेला सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।

‘अर्जुनले लाहुरे बन्नकै लागि धेरै दुःख ग¥यो, तर खुसी लामो समय टिकेन,’ अर्जुनका भान्जा सुजीत थापा भन्छन् । २ वर्षअघि मात्र आमा गुमाएका अर्जुन ११ कक्षा पढ्दापढ्दै भारतीय सेनामा गएका थिए ।

थापासँगै भारतको महाराष्ट्रस्थित सतारा जिल्ला निवासी सावन्त सन्दीपको पनि ज्यान गएको छ । अर्जुन र रघुनाथले भारतका लागि सर्वोच्च बलिदानी गरेको भन्दै भारतीय सेनाले विज्ञप्ती निकालेर प्रशंसासमेत गरेको छ ।

बुधबार नै भारतीय सेनाले अर्जुनको परिवारलाई घटनाको बारेमा जानकारी गराइसकेको छ । उनको शवलाई नेपाली सीमाना काँकडभित्तासम्म ल्याउने पारिवारले जानकारी दिएको छ ।


भर्खरै वैवाहिक जीवनमा बाँधिएका थिए अर्जुन

चार वर्षअघि भारतीय सेनामा भर्ना भएका अर्जुन एक महिनाको छुट्टीपछि पुस ५ गते कार्यक्षेत्रमा फर्किएका थिए । ६ महिनाअघि मात्र अर्जुन वैवाहिक जीवनमा बाँधिएका थिए ।

तनहुँ दुले गौँडा अर्जुनको ससुराली हो ।

गोरखा नगरपालिका–६ को महेन्द्र ज्योति माध्यमिक विद्यालयसम्म अर्जुनले १० कक्षा पढेका हुन् । त्यसपछि ११/१२ पढ्न अर्जुन द्रव्य साह कलेजमा भर्ना भएका थिए ।

अर्जुनका भान्जा सुजीत थापा भन्छन्, ‘मामा ६ महिनाअघि मात्र नेपाल आएर विवाह गरेर फर्किएका थिए । ११ पढ्दापढ्दै लाहुरे हुनुभएको हो । साह्रै मिलनसार हुनहुन्थ्यो ।’

‘अर्जुन सानैदेखि मेलापात, गोठालो जाने काम गर्थे । घरको एक्लो छोरा हुन् । आमा हुनुहुन्न,’ भान्जा सुजीतले रातोपाटीसँगको कुराकानीमा भने, ‘बुबा, श्रीमती र दिदीबहिनी घरमा हुनुहुन्छ । अर्जुनको निधनले परिवार बिचल्लीमा परेको छ ।’

बुढा बुबालाई अर्जुनले फोनमा बारम्बार ‘अब धेरै दुःख गर्ने होइन । अब त म पनि राम्रै ठाउँमा जागिरे भएको छु । हजुरलाई अब सुखको साथ पाल्नेछु,’ भनेका थिए ।

 ।

मङ्गलबार मात्रै श्रीमतीसँग फोन भएको थियो

भर्खरै विवाह गरेका अर्जुनले मङ्गलबार पनि श्रीमतीसँग अनलाइनमा कुराकानी गरेका थिए । श्रीमतीसँग अनलाइनमा कुरा गर्दागर्दै गोली चलेको हो ।

कुराकानीको क्रममा अर्जुनले ‘गोली चल्यो फोन राख–राख’ श्रीमतीलाई भनेका थिए । भान्जा सुजीतले भने, ‘पछि एकैछिनमा फोन गर्दा फोन अफ भएको रे ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप