सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कासिम सुलेमानीको हत्यापछि इराकको अवस्था कस्तो छ ?

आइतबार, २० पुस २०७६, ०८ : १८
आइतबार, २० पुस २०७६

इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानीको शोकसभामा समावेश हुनका लागि शनिबार इराकको राजधानी बगदादमा सयौं मानिसहरु जम्मा भए ।

शुक्रबार अमेरिकी हमलामा कासिम सुलेमानीको मृत्यु भएको थियो । बगदाद विमानस्थलबाहिर भएको हमलामा सुलेमानीसमेत पाँच इरानी र पाँच इराकी जनता मारिएका थिए ।

सुलेमानी इरानको बहुचर्चित कुड्स फोर्सका प्रमुख थिए । यो फोर्स इरानद्वारा विदेशमा चलिरहेको सैन्य अपरेशन गराउनका लागि चर्चित छ ।

सुलेमानीले वर्षौंसम्म लेबनान, इराक, सिरियासमेत अन्य खाडी देशमा योजनाबद्ध हमलामार्फत् मध्य–पूर्वमा इरान र उसको सहयोगीको स्थितीलाई बलियो बनाउने काम गरेका थिए ।

Photo: AFP

सुलेमानीलाई पश्चिमी एशियामा इरानी गतिविधी चलाउने प्रमुख रणनीतिकारको रुपमा मानिन्थ्यो । उनको मृत्यु पछि इरानले अब यसको बदला पक्कै पनि लिने अनुमान गरिएको छ ।

शनिबार बगदाद शहरमा एक विशाल शोक सभापछि सुलेमानीको शवलाई इरान पठाइनेछ । त्यसपछि सुलेमानीको गृह जिल्ला केरमान (केन्द्रीय इरान) मा नमाजपछि उनको शव गाडिनेछ ।

बगदादमा जम्मा भएको भीडले कमान्डर अबु महदी अल–मुहांदिसको मृत्युको शोक पनि मनाइरहेको छ । कमान्डर अबु इरानद्वारा समर्थित कताइब हिज्बुल्लाह गुटका प्रमुख थिए ।

यद्यपि, इराकमा एक तप्का यस्तो पनि छ जसले सुलेमानीको मृत्युको खबरमा उत्सव पनि मनाए । उनीहरुका अनुसार सुलेमानीमाथि पछिल्लो केही महिनामा शान्तिपूर्ण ढङ्गले प्रदर्शन गरिरहेका लोकतन्त्र समर्थकमाथि हिंस्रक कारवाही गरेको आरोप लागेको थियो ।

सुलेमानीको शोकसभामा समावेश हुनका लागि बिहानैदेखि बगदादको सडकमा भीड जम्मा हुन सुरु भएको थियो ।

Photo: REUTERS

तीन दिनको शोकः

भीडमा समावेश मानिसहरुले इराकको झण्डा बोकिरहेका छन् । कतिको हातमा कासिम सुलेमानी र इरानका सर्वोच्च धार्मिक नेता आयतुल्लाह अली खामेनेईको तस्बिर छ । उनीहरुले ‘अमेरिका मुर्दावाद’ को नारा लगाइरहेका छन् ।

स्थानीय मिडियाको रिपोर्ट अनुसार सुलेमानीको शव शनिबार बेलुका विमानमार्फत्  इरान पुर्‍याइनेछ जहाँ तीन दिनको राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

यी रिपोर्ट अनुसार सुलेमानीको शवलाई मंगलबार गाडिनेछ ।

बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेटका अनुसार अब इरानका नेताको प्राथमिकता कासिम सुलेमानीको मृत्युमा एउटा ठोस् सन्देश दिनु हो । यसमार्फत् इरानका लागि सुलेमानी कति महत्वपूर्ण थिए भनेर उनीहरु देखाउन चाहन्छन् ।

Photo: REUTERS

सुलेमानी एक सैन्य अधिकारीको रुपमा इरानका लागि निकै महत्वपूर्ण थिए । उनी एक महत्वपूर्ण गुप्तचर अधिकारी थिए । उनलाई इरानको सबैभन्दा महत्वपूर्ण राजनीतिक अनुहार भन्दा गलत हुँदैन ।

कासिम सुलेमानीलाई मध्य–पूर्वमा इरानको महत्वाकांक्षाको मास्टरमाइन्डको रुपमा लिइन्थ्यो भने जब युद्ध र शान्तिको कुरा आउँछ तब वास्तविक विदेश मन्त्रीको रुपमा हेरिन्थ्यो ।

त्यसकारण अब इरान आफ्नो सबै ठूला शहरमा एक लोकप्रिय नेताको हत्याको विरोधमा जुलुस निकाल्ने कोसिस गर्नेछ । साथै उनलाई एक शहीदको रुपमा पनि प्रस्तुत गर्ने कोसिस हुनेछ ।

यसैबीच इराकको सरकारी टिभी च्यानलले शुक्रबार सुलेमानीको हत्या भएको २४ घण्टापछि इराकमा अर्को एउटा हवाई हमला भएको जानकारी दिएको छ ।


इराकी फौजको एउटा सूत्रले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारी अनुसार शनिबार बिहान भएको दोस्रो हवाइ हमलामा ५ जना मारिएका छन् ।

यद्यपि, अमेरिकी सेनाका एक प्रवक्ताले दोस्रो हवाई हमलामा अमेरिकी नेतृत्व भएको गठबन्धनको हात नभएको प्रष्ट पारेको छ ।

अमेरिकाले सुलेमानीको मृत्युपछि इरानको कुनै पनि कारवाहीको जवाफ दिनका लागि आफूले मध्य–पूर्वमा तीन हजार अतिरिक्त सैन्य बल तैनाथ गर्ने निर्णय गरेको बताएको छ ।

Photo: REUTERS

सुलेमानीलाई दुश्मन किन मान्थ्यो अमेरिकाः

अमेरिकाले कुड्स फोर्सलाई सन् २००७ मा अक्टोबर २५ मा नै आतंकवादी संगठन घोषणा गरेको थियो र यो संगठनसँग कुनै पनि अमेरिकी लेनदेन गर्न पनि पूर्ण रुपमा प्रतिबन्ध गरिएको थियो ।

सद्दाम हुसैनको साम्राज्य पतनपछि सन् २००५ मा इराकको नयाँ सरकारको गठनपछि नै प्रधानमन्त्री इब्राहिम अल–जाफरी र नूरी अल–मलिकीको कार्यकालको दौरान त्यहाँको राजनीतिमा सुलेमानीको प्रभाव बढ्दै गयो ।

त्यति नै बेला त्यहाँको शिया समर्थित बद्र गुटलाई सरकारको हिस्सा बनाइयो । बद्र संगठनलाई इराकमा इरानको सबैभन्दा पुरानो प्रोक्सी फोर्स भनिन्छ ।

Photo: AFP

सन् २०११ मा जब सिरियामा गृहयुद्ध सुरु भयो तब सुलेमानीले इराकमा आफ्नो यसतै प्रोक्सी फोर्सलाई असद सरकारको मद्दत गर्न भनेका थिए जबकी अमेरिका बशर अल–असदको सरकारलाई त्यहाँबाट उखेलेर फ्याँक्न चाहन्थ्यो ।

इरानमाथि अमेरिकी प्रतिबन्ध र साउदी अरब, यूएई र इजराइलको तर्फबाट दबाब कसैबाट लुक्न सकेको छैन ।

र यति बिघ्न अन्तर्राष्ट्रिय दबाबबीच आफ्नो देशको प्रभाव बढाउने वा अझै भन्ने हो भने कायम राख्नमा जनरल कासिम सुलेमानीको भूमिका अत्यधिक महत्वपूर्ण थियो र यसैकारण उनी अमेरिका, साउदी अरब र इजराइलको तिखो नजरमा परेका थिए ।

अमेरिकाले उनलाई आतंकवादी पनि घोषणा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप