कलाकार दीपक क्षेत्रीको स्मरण गर्दै लन्डनमा ‘छ माया छपक्कै’
लन्डन । नेपाली चलचित्र ‘छ माया छपक्कै’ लण्डनमा प्रदर्शन गरिएको छ ।
चलचित्र हेरिसकेका दर्शकहरुले समय बितेको पत्तै नपाएको र माग्ने बुढो (केदार घिमिरे) को भूमिका आफूहरुले रुचाएको प्रतिक्रिया दिएका छन् ।
दीपेन्द्र लामाद्वारा निर्देशित उक्त चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जीतु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतको अभिनय रहेको छ ।
प्रदर्शन अघि हालै मात्र निधन भएका कलाकार दीपक क्षेत्रीको निधनप्रति एक मिनेट मौनधारण गरिएको थियो । कलाकार क्षेत्रीले चलचित्र ‘छ माया छपक्कै’ लगायतका दर्जनौं नेपाली चलचित्रमा अभिनय गरेका छन् ।
चलचित्रमा नेपाली राजनीति र राजनैतिक दलको परिवेशलाई हास्यात्मक शैलीमा प्रस्तुत गर्न खोजिएको छ । ग्रामिण नेपाली सेरोफेरोमा छयांकन गरिएको उक्त चलचित्रले विदेशमा बस्ने नेपालीहरुको मन तान्न सफल भएको छ ।
चलचित्रलाई बेलायतका अन्य विभिन्न स्थानहरुमा पनि प्रदर्शनी गरिने आयोजक नेप्लिज इन्टरटेनमेन्टले बताएको छ ।
नरेन्द्र बस्नेतबाट