आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतीय सहयोगबाट हुने पुननिर्माणमा ढिलाई हुनुको कारण के हो ?

सोमबार, २१ पुस २०७६, १८ : ४१
सोमबार, २१ पुस २०७६

काठमाडौं । सांसदहरुले भारतीय सहयोगबाट हुने पुननिर्माणमा ढिलाई हुनुको कारणको जवाफ प्राधिकरणले दिनुपर्ने बताएका छन् ।  संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा सांसदहरुले अन्य देशबाट आउने सहयोगबाट हुने पुननिर्माणको काम सम्पन्न हुन लागिसेको तर भारतको सहयोगमा निर्माण हुने अधिकांश पुननिर्माणको काम सुरु हुन नसकेको भन्दै प्रश्न गरेका हुन् ।

सांसदहरुले समितिको बैठकमा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग भारतीय सहयोग ढिलो आउनुको कारणको जवाफ मागेका हुन् । सांसद खिमलाल भट्टराईले भारतीय सहयोग ल्याउन पछिल्लो समय नयाँ सर्तहरु आएको समाचार आएको भन्दै त्यसलाई स्पस्ट पार्न आग्रह गरे ।

त्यस्तै सांसद सुरेन्द्रराज पाण्डेले अन्य मुलुकबाट आउने सहयोगबाट हुने पुननिर्माण सकिन लाग्दा पनि भारतीय सहयोग हुने पुननिर्माण सुरु हुन नसकेको भन्दै प्राधिकरणसँग जवाफ माग गरे । बैठकमा पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भारतीय सहयोगमा केही नयाँ सर्तहरु पुरा गर्नुपर्ने भएकाले सहयोग रकम आउन ढिलाई भएको स्वीकार गरे । भारतले आफ्नै निर्माण कम्पनी र आफ्नै निर्माण सामग्रिको प्रयोग गर्नुपर्ने सर्त राख्दा वैदेशीक सहयोग घट्दै गएको बताए ।

बैठकमा सांसदहरुले एकिकृत वस्ती निर्माणका कामहरु अन्तिम चरणमा पुगेको भएपनि बस्ती सार्ने विषयमा समस्या रहेको भन्दै त्यसको समाधानका लागि जोड दिन प्राधिकरणको ध्यानाकर्षण गराएका थिए । त्यस्तै समितिका सभापति दिल कुमारी रावल थापाले पुननिर्माणको कामको प्रगति सन्तोषजनक रहेको र वैदेशिक सहयोग आउन ढिलाई हुन नदिन प्राधिकरणलाई निर्देशन दिए । त्यस्तै पुननिर्माणको सिलसिलामा आएका गुनासोहरुलाई सम्बोधन गर्न समेत समितिले निर्देशन दिएको छ ।

यस्तै सांसदहरुले पुरातात्विक सम्पदाहरुको पुननिर्माणमा भएको ढिलाईको सम्बन्धमा पनि चासो देखाएका छन् । सांसदहरुले धरहरा, सिंहदरबार, तथा रानीपोखरिको पुननिर्माण सुरुभएपनि उपत्यका बाहिर रहेका सम्पदाहरुको पुननिर्माण सुरु हुन नसकेको भन्दै त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप