सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालले माग्यो चीनसँग त्यहाँको मौसम पूर्वानुमानको सूचना

बुधबार, २३ पुस २०७६, १८ : १८
बुधबार, २३ पुस २०७६

काठमाडौँ । नेपालले चीनमा मौसम परिवर्तनका कारण आउने बाढी, पहिरोजस्ता विपत्तीबारे पूर्वसूचना दिन आग्रह गरेको छ । 

नेपालको १५ सय किलोमिटर उत्तरी सीमाना चीनसँग जोडिएकाले चीनमा विपत्ति आउँदा त्यसको असर नेपालमा समेत पर्ने भन्दै त्यसबारेको पूर्वसूचना माग गरिएको हो । चीनको मौसम विभागका उपमहानिर्देशक चेन युङफेङ नेतृत्वको टोलीसँग बुधबार सिंहदरबारमा भएको भेटमा उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले मौसमबारे पूर्वसूचना दिन आग्रह गरेका हुन् । 

 नेपालका अधिकांश नदीको मुहान चीन रहेको र ती नदीमा ठूला लगानीमा जलविद्युत आयोजना र नदी किनारमा महत्वपूर्ण संरचना निर्माण भइरहेकाले चीनको मौसममा हुने परिवर्तनले आउने बाढी पहिरोको जोखिमबाट ती संचरनाको सुरक्षा गर्न सूचना जरुरी भएको औंल्याए । 

पूर्वसूचनाको अभावमा दुई वर्षअघि सुनकोसी नदीमा आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबीसे र आसपास क्षेत्र डुबानमा पर्दा ठूलो धनजनको क्षति भएको स्मरण पनि मन्त्री पुनले टोलीलाई गराए । 

 ‘हाम्रा धेरै नदीहरु चीन मुहान भएर आउँछन्, त्यसमा हामीले ठूलो लगानीमा जलविद्युत आयोजना र अरु महत्वपूर्ण संरचना बनाएका छौं’, मन्त्री पुनले भने, ‘बाह्रबिसेमा जस्तै धनजनको क्षति अब नहोस् भन्नका लागि हामीलाई पूर्वसूचना जरुरी भएको छ ।’

 प्राकृतिक विपत्तीबारे पूर्वसूचना भए सम्भावित जोखिमबाट बच्न बेलैमा सचेतता अपनाउन सकिने उनको भनाइ थियो ।  सीमापारिको मौसमबारे नेपाललाई केही थाहा नहुने गरेको भन्दै उनले त्यसमा सहकार्य जरुरी रहेको विचार व्यक्त गरे । 

 जवाफमा चिनियाँ टोलीको नेतृत्व गरेका त्यहाँको मौसम विभागका उपमहानिर्देशक युङफेङले नेपालको मौसम पूर्वानुमान विभागलाई भौतिक र प्राविधिक सहयोग गर्न र सूचना आदानप्रदान गर्न तयार रहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप