मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपालबाट भारत पुगेका ‘अन्डरवर्ल्ड डन’ पटनामा गिरफ्तार

बिहीबार, २४ पुस २०७६, १५ : १७
बिहीबार, २४ पुस २०७६

काठमाडौँ । नेपालबाट भारत पुगेका एक ‘अन्डरवल्र्ड डन’लाई भारतीय प्रहरीले पटनाबाट गिरफ्तार गरेको छ ।

कुनै समय अन्डरवर्ल्ड डन दाउद इब्राहिमका निकट सहयोगी मानिएका एजाज लकडावालालाई मुम्बई प्रहरीले पटनाबाट गिरफ्तार गरेको हो । मुम्बई प्रहरीले उनलाई पक्राउ गरिएको जानकारी बिहीबार दिएको हो । प्रहरीका अनुसार उनलाई बुधबार पक्राउ गरिएको हो ।

भारतीय संचारमाध्यमका अनुसार अन्डरवर्ल्डका अर्का डन छोटा राजनसँग निकट भएपछि दाउदको समूहले सन् २००३ मा एजाजमाथि बैंककमा हमला गरेको थियो । सो हमलामा उनी मारिएको चर्चा भए पनि उनी जीवितै रहेको रहस्य निकै पछि खुलेको थियो ।

सो हमलापछि एजाज क्यानाडा पलायन भए । क्यानाडामा उनी एकपटक गिरफ्तारसमेत भएका थिए । केही दिनमै रिहा भएपछि उनी भूमिगत भएर अन्डरवर्ल्डमा सक्रिय भएको बताइन्छ । भारतका विभिन्न सहरमा पछिल्लो समय एजाजको समूहले आफ्नो प्रभाव बढाएको, धम्क्याएर व्यापारीहरुबाट ठूलो परिमाणमा रकम असुली गर्ने गरेको थियो ।

मुम्बइ प्रहरीका अनुसार एजाजकी छोरी सोनिया शेखलाई केही दिनअघि मुम्बइबाट पक्राउ गरिएको थियो । उनी नेपालतर्फ भाग्ने तयारी गरिरहँदा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

नक्कली राहदानीका आधारमा विदेश जाने योजनाका साथ नेपाल जाने तयारी गरिरहेको अवस्थामा सोनियालाई पक्राउ गरिएको मुम्बई प्रहरीले जनाएको हो ।  

एजाजकै छोरीसँगको सोधपुछका क्रममा एजाज ८ जनवरीमा पटना आउने जानकारी प्रहरीले जुटाएको थियो । सोही आधारमा मुम्बइ प्रहरीको एउटा टोली पटना पुगेको थियो । पटना प्रहरीको सहयोगमा एजाजसहित तीन जनालाई गिरफ्तार गरिएको मुम्बई प्रहरीले जनाएको छ ।

सुरुवातमा दाउदका लागि काम गरेका एजाजले छोटा राजनसँग सम्बन्ध बढाए । छोटा राजनको ‘सुटर’ का रुपमा काम गर्दागर्दै उनले सन् २००८ देखि आफ्नो छुट्टै समूह बनाएर ‘अन्डरवल्र्ड’ को दुनियाँमा प्रभाव बढाएको मुम्बई प्रहरीको भनाइ छ ।

भारतमा एजाजविरुद्ध दुई दर्जनभन्दा बढी आपराधिक मुद्दा दायर भएको बताइएको छ ।

नेपालमा रहँदा एजाज कहाँ बसेका थिए भन्नेबारे भारतीय सञ्चारमाध्यमले केही खुलाएका छैनन् । उनी कहिलेदेखि कहिलेसम्म नेपालमा रहे भन्ने प्रष्ट पारिएको छैन । यद्यपि उनी नेपालबाहेक बेलायत, मलेसिया लगायतका मुलुकमा समेत बस्ने गरेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप