आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निःशुल्क भ्वाइस र ५० प्रतिशत सस्तो इन्टरनेट सेवा दिने सीजी टेलिकमको तयारीमा सरकारी अवरोध

बुधबार, ०१ माघ २०७६, ११ : ५५
बुधबार, ०१ माघ २०७६

काठमाडौँ । सरकारले देशकै सबैभन्दा ठूलो र प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपलाई टेलिकम बिजनेसमा सरकारले नै अवरोध गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएको देशको एक मात्र औद्योगिक घरानाप्रति सरकारले गरेको नकारात्मक व्यवहारका कारण अन्तर्राष्ट्रिय लगानीकर्ताका बीच नेपालको छवी नकारात्मक बन्ने देखिएको हो ।

दुई वर्षअघि दुई तिहाइ बहुमतका साथ केपी ओली नेतृत्वमा सरकार बनेपछि अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले नेपालमा लगानीको वातावरणमा व्यापक सुधार आउने विश्वास गरेका थिए । तर उनीहरूको अपेक्षा विपरीत सरकार नेपालकै निजी क्षेत्रसँग अनुदार रूपमा प्रस्तुत हुन थालेपछि अन्तर्राष्ट्रिय लगानीकर्ताहरू नेपालमा लगानी गर्न हच्किएका हुन् ।

कानुनी रूपमा सम्पूर्ण प्रक्रिया पूरा गरिँदा पनि सीजी टेलिकमलाई लगानीका लागि अनुमती नदिने सरकारको व्यवहारले नेपालमा अहिले लगानीको वातावरण नराम्रोसँग गिजोलिएको सन्देश बाहिर गएको छ । परिणाम स्वरूप दुई वर्षअघि चुनावी वर्षमा जति वैदेशिक लगानी पनि नेपालमा आउन सकेको छैन । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार चुनावी वर्ष अर्थात् आर्थिक वर्ष २०७४÷७५ मा खुद वैदेशिक लगानी १७ अर्ब ५१ करोड भित्रिएकोमा सरकार बनेको पहिलो वर्ष यस्तो लगानी १३ अर्ब ७ करोड मात्रै भित्रिएको छ । चालू आर्थिक वर्षको चार महिनासम्ममा खुद वैदेशिक लगानी ४ अर्बमा सीमित छ । यो तथ्याङ्कले विदेशी लगानीकर्ताहरू नेपालप्रति निरूत्साहित रहेको देखाउँछ ।

चौधरी ग्रुपले नेपालको टेलिकम र इन्टरनेट सेवा सञ्चालनको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ । टेलिकम सेवामा कम्तीमा २५ अर्ब लगानी गर्ने उसको योजना छ । नेपालका कम्पनीबाट टेलिकम सेवामा यति ठूलो लगानी पहिलो पटक हुन लागेको हो । 

नेपालको टेलिकम र इन्टरनेट सेवा विश्वमै सबैभन्दा महँगोमध्येमा पर्छ । दक्षिण एसियामा समेत नेपालको यो सेवा सबैभन्दा महँगो छ । चौधरी ग्रुपले आफ्नो टेलिकम सेवा सञ्चालनमा आएपछि आम उपभोक्तालाई भ्वाइस सेवा निःशुल्क र इन्टरनेटसेवामा हालको दरभन्दा ५० प्रतिशत सस्तोमा उपलब्ध गराउने घोषणा गरेको छ । ‘हामी जुम्ला, हुम्लाका किसान र विद्यार्थीमा समेत इन्टरनेटको सहज पहुँच पुर्‍याउन प्रतिबद्ध छौँ । आजको दुनियाँमा इन्टरनेट वा मोबाइल फोन लक्जरीको विषय होइन, यो आम नेपाली नागरिकको आवश्यकता हो,’ चौधरी ग्रुपका महाप्रवन्धक मधुसूदन पौडेलले भने, ‘सीजी टेलिकमले यही आवश्यकतालाई सम्बोधन गर्नेछ । मोबाइल वा इन्टरनेटको माध्यमद्वारा प्रत्येक नेपालीले आफ्नो जीवनमा ठूलो सुधार आएको महसुस गराउन सक्नु नै हाम्रो सफलता हुनेछ ।’ 

लगानी सम्मेलनका क्रममा सोकेस गरिएका करिब ७५ प्रतिशत परियोजनाहरूमा विदेशी लगानीकर्ताले चासो नदेखाउनुमा पनि लगानीकर्ताप्रति सरकार अनुदार देखिने यस्तै कारणहरूले हुन सक्ने विज्ञहरूको विश्लेषण छ । वैदेशिक लगानी घट्दै जाँदा नेपालको तीव्र विकासको अपेक्षा अवरुद्ध हुने अवस्था देखिएको छ ।

चौधरी ग्रुपले विश्वको सबैभन्दा पछिल्लो पुस्ताको प्रविधिसमेत नेपालमा भित्र्याउने तयारी गरिसकेको छ । यसका लागि उसले विश्वमा फाइभ जी सेवा प्रदान गरिरहेको हुवावेसँग सम्झौता गरिसकेको छ । हुवावेले हाल विश्वका विकसित देशहरूमा फाइभ जीको टेक्नोलोजी उपलब्ध गराइरहेको छ । फाइभ जी प्रविधिले नेपालको विकासमा नयाँ आयाम थप्नुका साथै नेपाललाई पहिलो विश्वसँग प्रत्यक्ष जोड्न सहयोग पुर्‍याउनु सहयोग गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप