गणेश आचार्यमाथि महिलाले लगाइन् एडल्ड भिडियो हेर्न बाध्य पारेको आरोप, पुलिसमा गरिन् उजुरी
इन्डियन फिल्म एवं टेलिभिजन कोरियोग्राफर असोसिएशनका जनरल सेक्रेटरी तथा वरिष्ठ कोरियोग्राफर गणेश आचार्यमाथि ३३ वर्षकी एक महिलाले फिल्म इन्डष्ट्रिमा उनलाई कामबाट टाढा राखेको, कमिशन मागेको र एडल्ट भिडियो हेर्न बाध्य पारेको आरोप लगाएकी छिन् । एएनआईको रिपोर्टका अनुसार महिलाले महाराष्ट्रको महिला आयोग र अम्बोली पुलिस थानामा उजुरी दर्ता गरेकी छिन् ।
महिलाको आचार्यमाथि लगातार तनाव दिएको आरोपः
एक रिपोर्टका अनुसार महिला असिस्टेन्ट कोरियोग्राफर हुन् । उनको दाबी अनुसार आचार्यले उनलाई लगातार तनाव दिइरहेका छन् । उनका अनुसार गणेशले आफ्नो पदको प्रयोग गर्दै उनको सदस्यता रद्द गराएका थिए जसका कारण उनको आम्दानी पूर्ण रुपमा रोकिएको छ । उजुरीकर्ता महिला एक कार्यक्रममा पुग्दा गणेशले आफ्ना अन्य साथी कोरियोग्राफरको प्रयोग गरेर उनलाई त्यहाँबाट बाहिरिन बाध्य बनाइएको आरोप छ । उनीमाथि उक्त कार्यक्रममा सार्वजनिक रुपमा कुटपिट गरेको र गालीसमेत गरेको उजुरीमा उल्लेख गरिएको छ ।
शुक्रबार सरोज खानको आरोपको खण्डन गरेका थिएः
गत शुक्रबार आचार्यले दिग्गज कोरियोग्राफर सरोज खानको त्यो दाबी खण्डन गरेका थिए जसमा गणेशले डान्सरहरुको शोषण गर्ने र आफ्नो पदको प्रयोग गरेर सिने डान्सर्स असोसिएसन (सिडिए) लाई बर्बाद गरिरहेको बताइएको थियो ।
तनुश्री दत्ताले पनि लगाइसकेकी छिन् शोषणको आरोपः
सन् २०१८ मा नायिका तनुश्री दत्ताले पनि नाना पाटेकरसहित गणेश आचार्यमाथि पनि शोषणको आरोप लगाएका थिए । उनले पुलिस उजुरीमा यी दुईले सन् २००८ मा रिलिज भएको फिल्म ‘हर्न ओके प्लिज’ को एउटा गीतको सुटिङको क्रममा उनमाथि शारीरिक शोषण गरेको आरोप लगाइन् । तनुश्रीले एक कुराकानीमा भनेकी थिइन्, ‘उनी एक नम्बरका झुटो र दोहोरो चरित्र भएका व्यक्ति हुन् । १० वर्ष अघि उनी ती व्यक्तिमध्ये एक थिए जो उत्पीडनमा समान रुपमा समावेश थिए । उनले यसलाई कहिले पनि स्विकार गरेनन् ।’