मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोना प्रकोपले चीनलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याउने आंकलन

शनिबार, १८ माघ २०७६, १६ : ३१
शनिबार, १८ माघ २०७६

एजेन्सी । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरसलाई लिएर विश्वव्यापी संकटकाल घोषणा गरेको छ । 

चीनमा अहिलेसम्म भाइरसका कारण २५९ को ज्यान गइसकेको छ । २१ देशमा संक्रमणका लक्षण भेटिसकेका छन् भने यसबाट विश्वभरका १२ हजार मानिस संक्रमित भइसकेका छन् । 

कोरोनाभाइरसको प्रकोपको शुरुवात चीनको वुहान सहरस्थित गैरकानुनी वन्यजन्तु बजारबाट भएको थियो । 

भाइरसको उद्गमस्थल भएको कारणले मानिस चीनको भ्रमण रद्द गरिरहेका छन् । अहिले चीनको छविनै नकारात्मक बनेको छ । यो भाइरसको डरले मास्कको विक्रीवितरण विश्वभर बढेको छ । 

डब्लूएचओका महानिर्देशक टेड्रोस ऐडहेनाम गेब्रीयेसोसले जेनेभामा एउटा पत्रकार सम्मेलनमा यो भाइरससँग जुध्न चीनको सक्रियताको प्रसंसा गरे तर भाइरस बाँकी देशमा फैलिरहेको कुराबाट आफूहरु चिन्तित भएको बताए ।  

‘ विश्वव्यापी संकट केवल चीनका लागि मात्र घोषणा गरिएको होइन । बाँकी देशमा कोरोनाको रोगी पाइएकाले गरिएको हो भन्ने बुझ्नुपर्छ ,’ टेड्रोसले भने ।

‘जुन देशहरुमा भाइरस फैलिरहेको छ ती देशको स्वास्थ प्रणाली खराब छन् । त्यसले गर्दा रोगलाई नियन्त्रणमा राख्न सक्दैन कि भन्नेमा हाम्रो चिन्ता छ ,’ महानिर्देशक टेड्रोसले भने । 

डब्लूएचओका कदमपछि सबै देशले कोरोना भाइरससँग जोडिएको सुचना एकअर्कासँग आदान–प्रदान गर्नुपर्ने हुन्छ । तथापि चीनको लागि यसले कठिनाई थपिदिनेछ । 

अहिले चीनबाहिरसमेत संक्रमण मानिसबाट मानिसमा सर्न थालेको आशंका उब्जिएको छ । 

विश्वव्यापी स्वास्थ संकटकाल घोषणा गरिए पनि चीन आउजाउ गर्नमाथि रोक लगाउन नहुने डब्लूएचओले बताएको छ । 

डब्लूएचओले कसैले चीनसगँ जोडिएको सिमाना बन्द गरेमा त्यस कार्यको विरोध गर्ने भनेको छ ।

तर यस अघिनै रुसले चीनसँग जोडिएको कैयौं सिमास्थल बन्द गरेको छ भने चिनियाँ नागरिकलाई भिषा दिन बन्द गरिदिएको छ ।

उता एयर फ्रान्स, अमेरिकन एयरलायन्स र ब्रिटिस एयरवेजले चीनमा हुने आफ्नो उडान बन्द गरिदिएको छ । जापान लगायत केही देशले आफ्ना नागरिकलाई चीन भ्रमणमा रोक लगाएका छन् ।
यसले चीनलाई ठूलो आर्थिक नोक्सानी पु-याइरहेको छ ।

चीनमा रहेका बहुराष्ट्रिय उद्योगले समेत कोरोना–भाइरसलाई देखाएर आफ्नो व्यवसाय बन्द गर्न थालेपछि चिनियाँ अर्थतन्त्रमा थप ठूलो असर पर्ने आकंलन गर्न थालिएको छ । 

पछिल्लो समय गुगलको अभिभावक कम्पनी अल्फाबेट इन्क र स्वीडेनका इकियाले आफ्नो कारोबार बन्द ग-यो । 

वुहानमा फसेका एक बर्मेली विद्यार्थी सी थु तुनले अनलाइन न्युज पोर्टेल डेमोक्रेटिक भ्वाइस अफ बर्मासँग भने ,‘ सबैजसो दोकान–व्यवसाय बन्द छन् । हामी बाहिर गएर केही किन्न पनि सक्दैनौ । साच्चै भन्ने हो भने हामीसँग खानाको लागि अहिले एउटा आलू, तीन प्याकेट चाउचाउ र थोरै चामल बाँकी रहेको छ । ’

संयुक्त राष्ट्रले डब्लूएचओलाई सन् २००५ मा विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गर्ने अधिकार दिएको थियो । 

अहिलेको विश्वव्यापी स्वास्थ संकटकाल घोषणा छैटौं हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप