मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चीनबाहिर पहिलो कोरोनाभाइरस संक्रमित बिरामीको मृत्यु, मर्नेको सङ्ख्या ३ सय नाघ्यो

आइतबार, १९ माघ २०७६, ०९ : ५१
आइतबार, १९ माघ २०७६

फिलिपिन्समा कोरोनाभाइरसबाट संक्रमित एक बिरामीको मृत्यु भएको छ । चीनबाहिर यस भाइरसबाट सङ्क्रमित बिरामीको मृत्यु भएको यो पहिलो घटना हो । योसँगै यस भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ सय ४ पुगेको छ ।

फिलिपिन्समा ज्यान गुमाउने ४४ वर्षीय बिरामी पनि वुहानबाट आएका थिए । वुहानबाट नै गत वर्ष कोरोनाभाइरसको सङ्क्रमण शुरु भएको थियो ।

फिलिपिन्सका लागि विश्व स्वास्थय सङ्गठनका प्रतिनिधि रवीन्द्र अबेयासिङ्घेले पत्रकारहरुसँग भने, ‘चीनबाट बाहिर भाइरस संक्रमित बिरामीले ज्यान गुमाएको यो पहिलो घटना हो ।’

यता, चीनले शनिबार मध्यरातसम्म ३ सय ४ जनाले ज्यान गुमाएको बताएको छ । ज्यान गुमाउने नयाँ बिरामी सबै हुबेइका हुन् ।

चीनमा थप २५ सय ९० बिरामी फेला परेका छन् । योसँगै कोरोनाभाइरसबाट संक्रमित हुनेको सङ्ख्या १४ हजार ३ सय ८० पुगेको छ ।

हालसम्म चीनबाहिर १ सय ३० जनामा कोरानाभाइरस संक्रमण भएको पुष्टि भएको छ । यो भाइरस एक दर्जनभन्दा बढी देशमा फैलिसकेको छ । जसमा नेपाल, कम्बोडियो, क्यानाडा, फ्रान्स, फिनल्याण्ड, जर्मनी, भारत, इटाली, जापान, मलेसिया, फिलिपिन्स, रुस, सिङ्गापुर, दक्षिण कोरिया, स्पेन, श्रीलङ्का, स्वीडेन, ताइवान, थाइल्याण्ड, बेलायत, युनाइटेड स्टेट्स, यूएई र भियतनाम रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप