मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चीनबाहिर दोस्रो कोरोनाभाइरस संक्रमितको मृत्युः हङकङमा ३९ वर्षीय बिरामीले ज्यान गुमाए

मङ्गलबार, २१ माघ २०७६, ०९ : ३४
मङ्गलबार, २१ माघ २०७६

हङकङमा कोरोनाभाइरसबाट संक्रमित एक ३९ वर्षीय बिरामीको मृत्यु भएको छ । यस भाइरसको संक्रमणबाट हङकङमा कसैले ज्यान गुमाएको यो पहिलो घटना हो ।

हङकङको क्वाइ चुङमा रहेको प्रिन्सेस मार्गरेट अस्पतालमा उपचाररत उनको मङ्गलबार बिहान हृदयघातका कारण भएको साउथ चाइना मर्निङ पोष्टले तीनवटा स्रोतको हवाला दिँदै समाचार प्रकाशित छ ।

चीनको वुहानबाट सुरु भएको यस खतरनाक भाइरसबाट संक्रमित हुने उनी हङकङका १३ औँ बिरामी थिए ।

उनी गत जनवरी २१ मा हुबेईको वुहान पुगेर दुई दिनपछि ग्वानझाओ–सेन्जेन–हङकङ एक्सप्रेस रेलमार्गबाट हङकङ फर्किएका थिए ।

उनलाई जनवरी ३१ बाट ज्वरो आउन सुरु भएको थियो । उनलाई सोही दिन याउ मा तेइमा रहेको क्वीन एलिजावेथ अस्पतालमा भर्ना गरिएको थियो ।

प्रिन्सेस मार्गरेट अस्पताल

उनी आफ्ना ७२ वर्षीया आमासँग ह्वामपोआ गार्डेनमा बस्दै आएका थिए । उनलाई पनि फेब्रअुरी २ मा भाइरसको संक्रमणमा अस्पताल भर्ना गरिएको थियो । उनी हङकङका यस भाइरसबाट संक्रमित १५ औँ बिरामी थिइन् । उनको भने चीनमा यात्रा गरेको कुनै दस्तावेज छैन ।

चीनबाहिर यस भाइरसबाट संक्रमित बिरामीले ज्यान गुमाएको यो दोस्रो घटना हो । यसअघि फिलिपिन्समा कोरोनाभाइरस संक्रमित बिरामीले ज्यान गुमाएका थिए ।

उता, सोमबारसम्म चीनमा यस रोगबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय २५ पुगेको छ । सोमबार मात्र थप ६४ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका थिए । यस भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २० हजार ४ सय ३८ पुगेको छ ।

यो भाइरसको संक्रमण दुई दर्जन बढी देशमा फैलिसकेको छ । चीनबाहिर १५० जनाभन्दा बढीमा यस भाइरसको संक्रमण देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप