आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पिएन क्याम्पसमा विवादको गाँठो खुल्यो, पठनपाठन सुरु

मङ्गलबार, २१ माघ २०७६, १५ : ५३
मङ्गलबार, २१ माघ २०७६

पोखरा । आठ दिनदेखि अबरुद्ध बनेको पृथ्वीनारायण क्याम्पसको पठनपाठन आजदेखि खुलेको छ । समान कामको समान ज्याला माग गर्दै पढाउन छोडेर शिक्षकहरु आन्दोलनमा उत्रिएका थिए । सोमबार बेलुका त्रिभुवन विश्वविद्यालयबाट आएका ३ सदस्यीय कार्यदल र विद्यार्थी संगठनको रोहबरमा बसेको बैठकले विवाद मिलाएको हो । ‘हिजो राती १० बजेसम्म वार्ता ग¥यौ,’ अनेरास्ववियुका कास्की जिल्ला अध्यक्ष विवेक देवकोटाले भने, ‘हामीसहित टियुले पठाएको ३ सदस्यीय कार्यदल पनि थियो ।’

आन्दोलनरत आंशिक शिक्षकहरुलाई मासिक वेतन अनुसारको तलब दिने सहमति पछि पढाई सुरु भएको उनले सुनाए । त्रिभुवन विश्वविद्यालयले करारमा नियुक्ति दिएका शिक्षकहरुले पाउने तलब बराबरको तलब दिने सहमति पछि पठनपाठन सुरु भएको उनले बताए । 

क्याम्पसका २ सय १६ आंशिक शिक्षकमध्ये पार्ट टाइमको लोडअनुसार करार शिक्षकले पाएको सेवा सुविधा पाउने उनले सुनाए । ‘उनीहरु करार टिचर पनि होइनन्,’ उनले भने, ‘पार्ट टाइम पनि भएनन् । क्याम्पसले नियुक्त गरेका शिक्षक भए । मासिक तलब पाउने भए, दैनिक ज्यालादारी हट्यो, यो खालको सहमति भयो ।’

आंशिक शिक्षक बिष्णु गौतमले आफूहरुको मागप्रति त्रिभुवन विश्वविद्यालयबाट आएको कार्यदल सकारात्मक रहेको बताए । दैनिक ज्यालादारीमा काम गर्ने देशैभरिका शिक्षकहरुको समस्या समाधान गर्ने आश्वासन दिएको उनले सुनाए । ‘त्यसमा पनि पिएनलाई फस्ट प्रायरेटीमा राख्छु, भन्दाभन्दै त्यो मिल्दैन,’ उनले भने, ‘यो समस्या जसरी पनि चाँडो समाधान गर्छु भनि सकेपछि हामीले पढाउन सुरु ग¥यौ ।’

जाडो विदा, चुनाव र सेमेस्टर वाइजका परीक्षालाई मध्यनजर गर्दै एक महिना भित्रमा समस्याको समाधान गर्ने बताएपछि सहमतिमा आएको उनले सुनाए ।  क्याम्पस प्रमुख आंशिक शिक्षकहरुलाई तत्काल मासिक ज्यालादारी दिने सहमतिपछि पठनपाठन सुरु भएको बताए । आगामी सिनेटका पहिलो बैठकमा करार नराख्ने निर्णय फुक्का गरेर करारमा लै जाने सहमतिपछि विवाद साम्य भएको उनले सुनाए ।

 क्याम्पसमा १० हजार बढी विद्यार्थी अध्ययनरत छन् । २०६३ देखि पिएनमा आंशिक शिक्षकहरुले अध्यापन गर्न सुरु गरेका थिए । माघ १३ देखि आंशिक शिक्षहरु पढाउन छोडेर आन्दोलनमा उत्रिएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप