सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बालुवाटारमा सम्पादकहरुको आक्रामक ‘बलिङ’मा ओलीको रक्षात्मक ‘ब्याटिङ’ !

ओलीले भने–मैले केही भन्नै नपाउने ? उत्पात मच्चाइहाल्ने ?
बुधबार, २२ माघ २०७६, ०० : ३८
बुधबार, २२ माघ २०७६

–प्रमुख प्रतिपक्षी दल एमसीसीको पक्षमा छ, केही साना दलहरु पनि पक्षमै देखिन्छन् । नेपाकाभित्र भने विवाद देखिएको छ र त्यसबारे टुंगो लगाउत कार्यदल नै बनाइएको छ, एमसीसी यही संसदबाट पास हुन्छ ?

–एमसीसीको विषयमा समाजमा जुन प्रश्न उठेको छ यसको जवाफ कसरी दिनुहुन्छ ?

–सरकार किन प्रेसलाई नियन्त्रण गर्न खोज्दैछ ? महत्त्वपूर्ण विधेयकका विषयमा सरोकारवालासँग किन छलफल  गरिएन ?

यति समूहलाई नेपाल ट्रस्टको जग्गा कौडीको भाउमा किन दिनपर्यो ?

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुले राखेको प्रश्नको सार हो यो । मंगलबार साँझ प्रधानमन्त्री निवासमा भेला भएका सम्पादकहरुले प्रश्नको बाँड ओलीतर्फ तेर्स्याउँदै गर्दा प्रधानमन्त्री ओली भने मन्द मुस्कानसहित ध्यानपूर्वक सुनिरहेका थिए । मूलतः सम्पादकहरुले प्रेस स्वतन्त्रता संकुचित गर्ने विधेयक, एमसीसी सम्झौता कार्यान्वयन, बढ्दो भ्रष्टाचार, बालुवाटार जग्गा प्रकरण, यतिलाई नेपाल ट्रस्टको जग्गा लिजमा दिइएको लगायतका विषयमा प्रश्न गरेका थिए ।  

सम्पादकहरुको आक्रामक प्रश्नको सामना गरेका ओलीले रक्षात्मक रुपमा आफ्नो धारणा राखे । अर्थात पत्रकारहरुको आक्रामक बलिङसामु ओलीले रक्षात्मक ‘ब्याटिङ’ गरे ।  

आफ्नो धारणा राख्ने क्रममा सुरुमै प्रधानमन्त्री ओलीले सरकार प्रेस स्वतन्त्रताकै पक्षमा रहेको स्पष्ट पार्न खोजे । उनले प्रेस स्वतन्त्रतामा कुनै बन्देज नहुने भन्दै आस्वस्त बनाउने प्रयासपनि गरे । ‘तपाईँहरुले जसरी कुराहरु राख्नु भयो, एकदम स्वतन्त्रतापूर्वक राख्नुभयो । हामी स्वतन्त्र समाजमा छौँ, स्वतन्त्र समाजमा बाँचिरहेका छौँ । स्वतन्त्र समाजमा बाच्छौँ भन्ने कन्फिडेन्ट तपाईहरुको अभिव्यक्तिबाट प्रकट हुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यस्तो खतरा केही पनि छैन । प्रेस स्वतन्त्रतामा म सरकारको तर्फबाट तपाईँहरुलाई पूर्णरुपमा आस्वस्त हुन आग्रह गर्न चाहन्छु । कुनै प्रकारको प्रेस स्वतन्त्रतामा बन्देज हुँदैन ।’

प्रेस स्वतन्त्रतालाई सीमित गर्ने या स्वतन्त्रताका हकहरुलाई कुनै पनि हालतमा कुण्ठित नहुने भन्दै ओलीले आफूले ५५ वर्ष त स्वतन्त्रताकै लागि लडेको बताए । उनले मानवअधिकार र प्रेस स्वतन्त्रताको अभाव कस्तो हुन्छ भन्ने आफूले धेरै भोगेको भन्दै अहिलेको सरकारप्रति कुनै पनि आशंका र चिन्ता लिनुपर्ने आवश्यकता नभएको बताए । 

काम गर्दैजाँदा कुनै कुरा गलत भएको भए सच्याउन सकिने प्रधानमन्त्रीको भनाइ छ । तर आफ्नो स्वतन्त्रता र अधिकारको कुरा गर्दा अरुको अधिकारको हनन हुन चाहिँ दिन नहुनेतर्फ भने सरकार सचेत रहेको ओलीको भनाइ छ । नेपाललाई समृद्ध मात्रै नभई सभ्य र मानवीय भावनायुक्त बनाउने सरकारको चाहना रहेको पनि ओलीले बताए । 

‘मैले केही भन्नै नपाउने ?’
प्रधानमन्त्री ओलीले मन मुटु भएका सम्पादक छैनन् भन्ने भनाइमा सम्पादकहरुले बढी प्रतिक्रिया व्यक्त गरेको गुनासो समेत गरे । ‘सरकार असहिष्णु होइन, हुन सक्दैन’ प्रधानमन्त्री ओलीले भने, ‘कहिलेकाहिँ मैले पनि भन्छु, तपाईँहरु कति साह्रो असहिष्णु ? मैले तपाईँहरुलाई भन्नै नपाउने ? अरुलाई चाहिँ सहिष्णु हुनुपर्छ, सुन्नुपर्छ भन्ने तपाईँहरुलाई चाहिँ राम्रा कुराहरुको प्रशंसा गर्न मुटु छैन भन्दाचाहिँ उत्पात मच्चाउने ? तपाईँहरु पनि सहिष्णु हुन न कहिलेकाहिँ त !’ 

ओलीले आफ्नो यसअघिको अभिव्यक्ति ठट्यौली शैलीमा सच्याउँदै गर्दा छलफल हलमा हाँसोको फोहोरा छुटेको थियो । ओलीले अगाडि भने, ‘तपाईँहरुले चाहिँ लेख्न हुने, छाप्न हुने, व्यंग्यचित्र पनि बनाउन हुने, जे पनि छाप्न हुने । अतिनै पो गरे भनेर अलिअलि त हामीले पनि भन्न पाउनु पर्यो नि !’

सरकार असहिष्णु हुनै नसक्ने स्पष्ट पार्दै ओलीले अहिलेको परिवर्तन सानोतिने मूल्य चुनाएर नल्याइएको बताए । उनले जनतालाई निराश बनाउने काम कोही कसैबाट पनि हुन नहुने भन्दै जनतालाई आशा जगाउने काममा सबै अग्रसर हुनुपर्नेमा समेत जोड दिए । ‘कुनै पनि देशले जब आफ्ना जनतालाई आशा जगाउन सक्छ, त्यो बन्छ’ उनले भने, ‘आत्मविश्वास टुट्यो भने देशविकास हुन सक्दैन, अस्तित्व पनि रहिरहन सक्दैन ।’

कानुनअनुसार नै यतिलाई जग्गा भाडामा
यति होल्डिङलाई दिइएको जग्गा विधि र प्रक्रिया पुर्यारै दिइएको प्रधानमन्त्री ओलीले दावी गरे । यति होल्डिङलाई जग्गा दिने काम म भन्दा अघिल्लो सरकारले नै गरेको हो । तर अहिले कुरा उठेपछि मैले हेर्दा विधि प्रक्रिया नै पुर्याएर गरेको रहेछ’ ओलीले भने, ‘त्यो छानबिन गर्दा पनि ठीकै छ। यसमा कुनै घाटाला भएको मलाई विश्वास छैन ।’

‘मैले घोटाला गर्छु या मैले भ्रष्टाचार गर्छु भन्नेचाहिँ कमसेकम साथीहरुले ठान्नु हुन्न होला भन्ने मलाई विश्वास छ । मेरो जुन कमिटमेन्ट छ त्यसमा शंका गर्नुहुन्न भन्ने म ठान्छु’, ओलीले अगाडि भने, ‘जुनसुकै सरकारको सम्बन्धमा जेसुकै होस् मेरो सम्बन्धमा प्रश्न उठ्दैन भन्ने मेरो विश्वास छ ।’

अर्को प्रसंगमा ओलीले निर्वाचन प्रणाली निकै खर्चिलो भएको भन्दै यसलाई नियन्त्रण गर्न नसकिएको खण्डमा भने भ्रष्टाचार बढ्ने खतरा रहेको औँल्याए । चुनाव खर्चालु भएको भन्ने सवालमा हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा पनि छलफल भएको उल्लेख गर्दै ओलीले तर जतिसुकै चुनाव खर्चिलो भएपनि त्यसको नाममा आफूले राज्यकोषमा कसैलाई लूट मच्चाउन नदिने प्रतिवद्धता जनाए । उनले सरकारले कसैलाई पनि दवाव र हस्तक्षेपमा काम नलगाउने भ्रष्टाचार पनि हुन नदिने नीति लिएको बतए । 

एमसीसीबारे यसो भन्छन् ओली
प्रधानमन्त्री ओलीले एमसीसीको विषयमा कुनै शंका गर्नु नपर्ने भन्दै यो विभिन्न चरण पार गर्दै अहिलेको अवस्थमा आइपुगेको बताए ।  एमसीसी अमेरिकी इन्डो प्यासिफिक नीतिको कुनै अंग नभएकाले छिट्टै संसदबाट पारित हुने पनि बताए । उनले यसबारे पार्टीमा प्रश्न उठिसकेपछि कार्यदल बनाइएको भन्दै कार्यदलले १० दिनभित्र यो आफ्नो रिपोर्ट तयार गर्ने पनि बताए । 
ओलीले सम्पादकहरुसँग पार्टीभित्र कुनै विवाद नरहेको भन्दै यसमा कुनै भ्रममा नपर्न पनि आग्रह गरे । पार्टीभित्र विभिन्न कोणबाट छलफल हुनु स्वभाविक भएकाले छलफल हुँदैमा अल्पमत र बहुमतको रुपमा नबुझिन समेत आग्रह गरे । 

सरकार विकास र समृद्धिको अभियानमा 
सरकारसामु थुपै चुनातिहरु रहेको स्वीकार गर्दै ओलीले ती सबै चुनातिलाई पार गरेर सरकार विकास र समृद्धिको अभियानमा निरन्तर लागिपर्ने बताए । उनले आफू दुई तिहाईको प्रधानमन्त्रीका साथै शक्तिशाली पार्टी नेकपाको अध्यक्ष भएपनि त्यस्तो दम्भ नरहेको भन्दै सञ्चारक्षेत्रसहित सरोकारवालासँग परामर्श लिएरमात्रै काम गर्ने प्रतिबद्धता जनाए ।

 ओलीले भने, ‘मैले प्रतिपक्षलाई पनि सम्झनु पर्छ, संविधानप्रति नै असहमत पक्ष पनि छन् । विभिन्न प्रकारका दृष्टिकोष, नारा, उद्देश्य बोकेका शक्तिहरु सबैलाई सम्झिनुपर्छ, सबैलाई मिलाएर लैजान्छु ।’
ओलीले सुरुङमार्गको निर्माण, व्यापार विविधिकरण, रेल, पानी जहाजलगायतका योजनाहरु सफल बनाउन सरकार लागिपरेको पनि जानकारी दिए । 

८० प्रतिशत जनसंख्यासम्म सरकारले बिजुली पुगिसकेको तथा अन्तरदेशीय प्रशारण लाइन विस्तार, सडक सञ्जाल विस्तार लगायतका कामहरु पनि भइरहेको भन्दै शिक्षा, स्वास्थ्य जस्ताक्षेत्रमा समेत पर्याप्त काम गरिरहेको बताए ।  राष्ट्रियता, प्रजातन्त्र, विकास र सुशासनको सवालमा सरकारले कुनै दायाँबायाँ नगरेको भएपनि विगतमा भएका गल्ती तथा कमजोरीलाई समेत आफू नेतृत्वको सरकारको टाउकोमा थोपर्ने काम भएको गुनासो गरे । ‘के ललिता निवास के मेरो सरकार बनेपछि बेचेर निजीलाई दिएको हो र ? मैले त छानबिन गराउँदैछु । जसले छानबिन गराउँदैछ, उसैमाथि प्रश्न ?’ ओलीले गुनासो गरे । 

ललिता निवासमात्रै नभएर अहिलेसम्म इतिहासमै कारबाहीमा पर्न नसकेका तहका मान्छेहरु कारबाहीमा परेको भन्दै सुशासनको मामलामा सरकारले कसैसँग सम्झौता नगर्ने बताए । ‘हिस्ट्रीमा कहिल्यै कारबाहीमा पर्न नसकेका तहका मान्छे कारबाहीमा परेका छन् । कुनै मोलहिज्जा गरिएको छैन’ ओलीले प्रश्न गर्दै भने, ‘यसकारण भ्रष्टाचार बढेको होइन, भ्रष्टाचार नियन्त्रण गर्ने प्रयास गर्दा गिरफ्तार हुने र कारबाहीमा पर्ने क्रम बढेको छ ।’ 

५ वर्ष पूरै प्रधानमन्त्री !
ओली आफ्नो मिर्गौलामा समस्या रहेको भन्दै छिट्टै फेरेर स्वस्थ भइ बेस्सरी काम गर्ने समेत उद्घोष गरे ।

 सरकार सञ्चालनका विषमया पार्टीमा कुनै विवाद नरहेको भन्दै ओलीले अब पुरै ५ वर्ष आफूले सरकार चलाउने बताए । ५ वर्ष सरकार चलाउने समझदारी अर्का अध्यक्ष प्रचण्डसँग भइसकेको उनको भनाइ थियो । 

ओलीले सम्पादकहरुलाई आग्रह गर्दै भने, ‘म साथीहरुसँग सहयोगको अपेक्षा गर्न चाहन्छु, मेरो कतिपय कुराहरु तपाईँहरुलाई मन पर्दैन भने मलाई चाहिँ गाली गर्दा हुन्छ । तर यस्तो नहोस् कि देशको अहित र अन्योल तथा जनताको मनोबल टुट्ने खालको समाचार नजाओस् । हामीलाई शान्ति र एकता चाहिएको छ । जुन शान्ति र एकताको बलमा हामी विकास गर्न सक्छौँ ।’

उनले मिडियाप्रति सरकार असहिष्णु नभएको दोहार्याउँदै भने, ‘तपाईँहरुले हामीलाई गोदिरहँदा हामीले पनि ठीक छ, ठीक भनिरहनु पनि हुँदैन नि ।  तपाईँहरुले बलिङ गरिसकेपछि अलिअलि ब्याटिङ त गर्नुपर्छ नि ! तपाईँहरु बलिङ दिइकोदेही गर्ने अनि मैले एक ब्याटिङ दिँदा चाहिँ रिहाउनु भएन ।’

ओलीले बलिङ र ब्याटिङको कुरा गर्दै गर्दा कतिपयले भने बालुवाटारमा सम्पादकहरुको आक्रामक बलिङमा प्रधानमन्त्रीले रक्षात्मक व्याटिङ गरेको टिप्पणी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप