आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

९०० मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको लागि वित्तीय स्रोत जुट्यो (भिडियो)

बिहीबार, २३ माघ २०७६, १४ : ५१
बिहीबार, २३ माघ २०७६

काठमाडौँ । संखुवासभा जिल्लामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको लागि वित्तीय स्रोत जुटेको छ । 

७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजीमा निर्माण गर्न लागिएको परियोजनाका लागि वित्तीय स्रोत जुटेको एसजेभिएन अरुण तेस्रो पावर डेभलोपमेन्ट कम्पनी प्रालिले जनाएको छ ।

 बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी जलविद्युत कम्पनीले वित्तीय स्रोत जुटेको जानकारी दिएको हो । परियोजनामा कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । 

लगानी बोर्डले बुधबार वित्तीय व्यवस्थाको स्वीकृति दिएपछि लगानी रकम जुटेको हो । जलविद्युत परियोजनामा भारतको स्टेट बैंक आफ इण्डिया (एसबिआई)को नेतृत्वमा वित्तीय स्रोत व्यवस्थापन भएको हो ।

 जसमा एसबिआईसँगै भारतका पञ्जाब नेशनल बैंक (पिएनबी), एक्जिम बैंक आफ इण्डिया, कानरा बैंक र युनियन बैंकले कुल ८५ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गरेका हुन् ।

  त्यस्तै नेपालको एभरेष्ट बैंकले १० अर्ब २० करोड रुपैयाँ र नबिल बैंकले ५ अर्ब १२ करोड रुपैयाँ लगानी गर्ने भएका हुन् । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जलविद्युत अयोजनाको वित्तीय व्यवस्थापन पुरा नहुँदै निर्माणको काम शुरु भइसकेकाले विश्वास बढेको बताए । 

लगानी बोर्डको संयोजनमा निर्माण भइरहेको यो परियोजना सन २०२३ भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विदेशी लगानीमा निर्माण गर्न लागिएको यो परियोजनामा भारत र नेपालका गरी सात वटा बैंकले गर्ने ऋण लगानीको सम्झौता आज दिउसो ४ बजे काठमाडौंको होटल याक एण्ड यतीमा हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप