आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बीमा क्षेत्रबारे अर्थमन्त्री खतिवडाका ४ घोषणा

शुक्रबार, २४ माघ २०७६, १६ : ०९
शुक्रबार, २४ माघ २०७६

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षदेखि लघुबीमाका लागि दिँदै आएको अनुदान कटौती गर्ने घोषणा गरेका छन् । शुक्रबार राजधानीमा आयोजित नेपाल इन्स्योरेन्स समिट कार्यक्रममा अर्थमन्त्री खतिवडाले अहिलेसम्म सरकारले व्यहोर्दै आएको लघुबीमाको जोखिम अब बैंकहरु आफैंले व्यहोर्नुपर्ने बताएका हुन् ।

‘अहिले बैंकहरुले नै माइक्रोइन्स्योरेन्स गर्ने गरेका छन् जसमा सरकारले प्रिमियम तिर्दै आएको छ । तर अर्को वर्षदेखि त्यसको जोखिम बैंकहरु आफैंले लिन्छन् । सरकारले अनावश्यक रुपमा बैंकहरुलाई माइक्रो इन्स्योरेन्सको प्रिमियम व्यहोरिरहेको छ,’ उनले भने, ‘तर ७५ प्रतिशतसम्म अनुदान दिँदा पनि बैंकहरु लघुकर्जामा उत्साहित भएनन् ।’

अर्थमन्त्री खतिवडाले बीमा क्षेत्रमा कम्पनीहरुको संख्या बढ्दै गए पनि त्यसको प्रभाव बजारमा नदेखिएको बताए । धेरै कम्पनी भए प्रतिस्पर्धा बढ्ने र मूल्य घट्ने सामान्य मान्यता भए पनि त्यसो हुन नसकेको भन्दै उनले बीमा कम्पनीहरु २ तिहाई हिस्सा भएको साना तथा मझौला उद्योगको क्षेत्रमा जान नसकेको समेत बताए ।

‘तपाईँहरुले व्यापारको जोखिमको मात्रै बीमा गर्ने सोचिरहनुभएको छ भने तपाइँहरु गलत हुनुहुन्छ । किन की नेपालको बैदेशिक व्यापार घट्दैछ, आयात स्वदेशी उत्पादनले प्रतिस्थापन गर्दै गएको छ । अब पनि अरु क्षेत्र खोज्नुभएन भने तपाइँहरु स्याचुरेटेड बन्नुहुन्छ ।’ 

उनले बीमा कम्पनीहरुलाई लघुबीमा क्षेत्रमा जान आग्रह गर्दै त्यसो नगर्ने हो भने लघुबीमाको लागि छुट्टै कम्पनी आउनसक्ने चेतावनी समेत दिए ।  ‘तपाइँहरु सहायक कम्पनी मार्फत् जानुस् वा अरु एजेन्सीबाट काम गराउनुहुन्छ भने पनि तपाइँहरुलाई स्वागत छ । तर तपाईँहरु त्यो क्षेत्रमा नजाने हो भने अर्को कम्पनी आउन सक्छ’, उनले भने । 

अर्थमन्त्री खतिवडाले नेपालका एउटा मात्रै पुनर्बीमा कम्पनी भए पुग्छ कि अर्को पनि चाहिन्छ भन्नेबारे पनि बहस हुनुपर्ने समेत बताए । त्यस्तै खतिवडाले अब स्वास्थ्य बीमा क्षेत्रलाई आमूल रुपमा संरचनागत परिवर्तन गर्ने घोषणा समेत गरे ।

‘हामी स्वास्थ्य बीमा बोर्डको ठूलो पुनर्संरचना गर्दैछौं । अहिले आफैं रेगुलेटर, आफैं प्रोमोटर र आफैं सञ्चालक, आफैं एक्चुरी र सबै आफैं बन्दै आएको छ । मलाई लाग्छ त्यस्तो संरचना तपाइँले अरु देख्नुभएको छैन’, उनले भने, ‘यसमा अब परिवर्तन गर्नुपर्छ । यसलाई व्यवसायिक बीमा मोडेलमा रुपान्तरण पनि गर्नुपर्छ । 

उनले बीमा ऐन विधेयक १ वर्षदेखि संसदमा अड्किएको गुनासो गर्दै यो अधिवेशनबाट पारित हुने विश्वास व्यक्त गरे । उनले बीमा क्षेत्र र बैंकिङ क्षेत्र एउटै सिक्काका दुई पाटा भए पनि यी दुई क्षेत्र एउटै हुन नसक्ने भन्दै बैंकलाई बीमाको काम गर्न रोक लगाएको समेत दाबी गरे ।

उनले बैंकहरु बीमा क्षेत्र भन्दा विदेशी विनिमय तथा मुद्रा बजारमै बढी केन्द्रित हुनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप